काठमाडौं। विश्व बजारमा तेल संकटले विकराल रुप लिने संकेत देखिएको छ। पश्चिम एसियामा बढ्दो तनावका कारण ढुवानी मार्ग स्ट्रेट अफ हर्मुज जोखिममा परेपछि विश्वभर आपूर्तिमा दबाब परेको छ।
इरानको आसपासका क्षेत्रका ऊर्जा पूर्वाधारमाथि आक्रमणपछि स्ट्रेट अफ हर्मुज जस्तो साँघुरो र अत्यन्त महत्वपूर्ण समुद्री मार्गमा आवागमन लगभग ठप्प भएको छ।
करिब १०० माइल लामो यो जलमार्गबाट सामान्य अवस्थामा विश्व बजारमा खपत हुने करिब २० प्रतिशत तेल आपूर्ति हुने गरेकामा अहिलेको अवरोधले गम्भीर असर पारेको छ।
संकट थप बढ्न नदिन अमेरिका लगायत देशले रणनीतिक भण्डारबाट करिब ४० करोड ब्यारल तेल बजारमा पठाएका छन् जसले केही राहत दिएको छ। बजारलाई राहत दिन अमेरिकाले रुसी र इरानी तेलमाथिको प्रतिबन्ध अस्थायी रुपमा खुकुलो बनाएको छ।
तर यी दीर्घकालीन समाधान होइनन्। विज्ञहरुका अनुसार केही हप्ताभित्र तनाव कम नभए र प्रमुख आपूर्ति मार्ग सहजरुपमा सञ्चालनमा नआए ठूलो तेल संकट निम्तिनेछ।
सुरुमा सीमित प्रभाव देखिएकामा संकट क्रमशः गहिरिँदै गएको छ, जसले विश्व अर्थतन्त्रमा व्यापक असर पार्ने जोखिम देखिएको छ। तेल आपूर्तिमा अवरोध बढ्दै जाँदा अन्तर्राष्ट्रिय बजारमा मूल्य अस्थिर बन्दै गएको छ। तेल संकटको प्रत्यक्ष असर उत्पादन लागत बढेर महँगी अकासिनुका साथै आयातमा निर्भर अर्थतन्त्रमा थप दबाब पर्नेछ।
पश्चिम एसियाली देशको तनावले नेपालमा पेट्रोलको भाउ प्रति लिटर ३० र डिजलको मूल्य २५ रुपैयाँ बढिसकेको छ। जसले ढुवानी भाडादेखि उत्पादन लागत बढाएको छ।
भारतबाट लिटरमै ८९ रुपैयाँ बढेर आउने प्रक्षेपण
नेपाल आयल निगमले पेट्रोलियम पदार्थ भारतसँग किनेर बेच्ने गरेको छ।
इन्डियन आयल कर्पोरेसन(आइओसी)ले हरेक महिना दुई पटक पेट्रोलियम पदार्थको मूल्य पठाउने गरेकामा मंगलबार लिटरमै ८९ रुपैयाँसम्म बढेर आउने निगमको प्रक्षेपण छ।
निगमले पेट्रोलको भाउ लिटरमा ४५ रुपैयाँ र डिजलको मूल्य प्रति लिटर ८९ रुपैयाँ बढेर आउने प्रक्षेपण गरेको हो।
निगमका अनुसार यसपालि हवाई इन्धन र एलपी ग्यासको पनि मूल्य बढेर आउनेछ। जसले गर्दा भाउ बढाउन निगमलाई दबाब पर्नेछ। ग्यासमा निगमलाई अहिले नै प्रति सिलिण्डर २१६ रुपैयाँ घाटा छ।
आइओसीले हालसम्म निगमलाई माग बमोजिमको परिमाणमा पेट्रोलियम पदार्थ आपूर्ति गर्दै आएको छ।