BIZMANDU
www.bizmandu.com

बालेन सरकारको शासकीय सुधार कार्यसूचीले निजी क्षेत्र उत्साहित, ‘सशक्त सहकार्य आवश्यक छ’

२०८२ चैत्र १५

बालेन सरकारको शासकीय सुधार कार्यसूचीले निजी क्षेत्र उत्साहित, ‘सशक्त सहकार्य आवश्यक छ’
बालेन सरकारको शासकीय सुधार कार्यसूचीले निजी क्षेत्र उत्साहित, ‘सशक्त सहकार्य आवश्यक छ’


काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले सरकारले जारी गरेको शासकीय सुधारसम्बन्धी एक सय कार्यसूचीको स्वागत गरेका छन्।

Vigo
GBIME
Tata

उनले मन्त्रिपरिषद् बैठकद्वारा स्वीकृत शासकीय सुधारसम्बन्धी १०० कार्यसूचीले मुलुकको शासन प्रणालीलाई परिणाममुखी, पारदर्शी र उत्तरदायी बनाउँदै निजी क्षेत्रसँगको सहकार्यमा लगानीमैत्री वातावरण निर्माण, रोजगारी तथा राजस्व वृद्धि गर्दै मुलुकलाई आर्थिक विकास र समृद्धिको बाटोमा अगाडि बढाउन महत्वपूर्ण आधार तयार गरेको महसुस गरेको बताएका छन्।

विशेषगरी सेवा प्रवाहलाई डिजिटल, सहज र समयबद्ध बनाउने, प्रशासनिक सुधार, भ्रष्टाचार नियन्त्रण, लगानीमैत्री वातावरण निर्माण, निजी क्षेत्रको संरक्षण तथा प्रवर्द्धन, तथा उद्यमशीलता विकासजस्ता विषयहरू समेटिनु सकारात्मक छ।

साथै, महासंघले उठाएका धेरै विषयहरू यस कार्यसूचीमा समावेश हुनु थप उत्साहजनक भएको उनले बताएका छन्।

‘हामी यस सुधार एजेण्डालाई स्वागत गर्दछौं। यसको प्रभावकारी कार्यान्वयनबाट आर्थिक पुनरुत्थान, रोजगारी सिर्जना र दिगो विकासमा ठोस योगदान पुग्ने विश्वास लिएका छौं,’ उनले भनेका छन्।

सरकारको ऐतिहासिक पहललाई सफल बनाउन सरकार र निजी क्षेत्रबीच अझ सशक्त सहकार्य अपरिहार्य रहेको र त्यसका लागि आफूहरु पूर्ण रूपमा प्रतिबद्ध रहेको उनले बताएका छन्।