जकार्ता (इन्डोनेसिया) । इन्डोनेसियाले शनिबारदेखि बालबालिकालाई अश्लील सामग्री, साइबर बुलिङ, अनलाइन ठगी तथा लतको जोखिममा पार्ने डिजिटल प्लेटफर्महरूमा पहुँच रोक्ने कडा नियम लगाएको छ।
यो कदमसँगै इन्डोनेसिया दक्षिण-पूर्वी एसियामा युट्युब, टिकटक, फेसबुक, इन्स्टाग्राम, थ्रेड्स, एक्स, बिगो लाइभ र रोब्लक्सजस्ता सामाजिक सञ्जालमा १६ वर्षमुनिका बालबालिकालाई खाता खोल्न प्रतिबन्ध लगाउने पहिलो देश बनेको छ। यसअघि अष्ट्रेलियाले पनि यस्तै कदम चाल्दै सामाजिक सञ्जालमा बालबालिकामाथि प्रतिबन्ध लगाएको थियो, जसको उद्देश्य परिवारलाई टेक कम्पनीहरूबाट नियन्त्रण फिर्ता दिलाउनु र किशोरहरूलाई सुरक्षित राख्नु हो।
सरकारले यो नियम क्रमिक रूपमा लागू गरिने बताएको छ, जबसम्म सबै प्लेटफर्महरू नियमअनुसार पूर्ण रूपमा अनुकूल हुँदैनन्।
इन्डोनेसियाकी सञ्चार तथा डिजिटल मामिला मन्त्री मेउत्या हाफिदले शुक्रबार साँझ भनिन्, ‘सरकारले इन्डोनेसियामा सञ्चालन भइरहेका सबै डिजिटल प्लेटफर्मलाई आफ्नो उत्पादन, सुविधा र सेवाहरू तत्काल लागू कानुनअनुसार बनाउन निर्देशन दिएको छ। अनुपालनमा कुनै सम्झौता हुँदैन, र यहाँ सञ्चालन गर्ने हरेक व्यवसायले इन्डोनेसियाली कानुन पालना गर्नैपर्छ।’
मार्चको सुरुवातमा नियम सार्वजनिक गर्दै उनले करिब २८ करोड जनसंख्या भएको देशमा ७ करोड बालबालिकामा यो नियम लागू हुने बताएकी थिइन्। तर यसलाई कार्यान्वयन गर्नु सजिलो नहुने उनले स्वीकार गरिन्।
उच्च जोखिम भएका डिजिटल प्लेटफर्महरू निर्धारण गर्दा बालबालिका अपरिचित व्यक्तिसँग सजिलै सम्पर्कमा आउने सम्भावना, सम्भावित दुरुपयोग, हानिकारक सामग्रीको जोखिम तथा डेटा सुरक्षासम्बन्धी ठगीजस्ता पक्षहरूलाई आधार मानिएको छ।
तर प्लेटफर्महरूलाई नियम पालना गराउन र १६ वर्षमुनिका खाताहरू निष्क्रिय बनाएको रिपोर्ट गराउन चुनौतीपूर्ण हुने उनले बताइन्। “यो पक्कै पनि कठिन काम हो। तर हाम्रा बालबालिकालाई बचाउन हामीले कदम चाल्नैपर्छ,” उनले भनिन्।
१३ वर्षीया माउरा मुनथे दिनमा करिब चार घण्टा सामाजिक सञ्जाल र रोब्लक्स खेलमा बिताउँछिन्। उनले यस नीतिप्रति विरोध वा समर्थन के गर्ने भन्नेमा प्रष्ट हुन नसकेको बताइन्। उनलाई साथीहरूसँग मनोरञ्जन र रमाइलो छुट्ने चिन्ता भएको छ। ‘मेरो फोनमा अरू पनि खेलहरू छन्, म सायद एक्लै खेल्ने वा साथीहरूसँग भेटघाट गर्नेछु,’ उनले भनिन्।
उनकी आमा लेनी सिनुरायाले भने सरकारको कदमलाई सकारात्मक रूपमा लिएकी छन्। बालबालिकाले आपसी कुराकानी र खाना छाडेर मोबाइल खेलाएको उनलाई ठिक लाग्दैन। ‘आजकाल बच्चाहरू मोबाइलमै झुन्डिएका देखिन्छन्, उनीहरू लतमा फसेका छन्,’ उनले भनिन्, ‘खानाको समय भनेको कुराकानी गर्ने हुनुपर्छ।’
जकार्तास्थित सेमाइ जिवा अमिनी (सेजिवा) संस्थाकी संस्थापक दिने हार्याना अनुसार सामाजिक सञ्जालले बालबालिकाको मानसिक स्वास्थ्यमा असर पार्दै चिन्ता र डिप्रेसन निम्त्याउन सक्छ। तर उनले डिजिटल प्लेटफर्महरूले सिकाइका अवसर पनि दिने बताइन्।
उनले अभिभावक र समुदायले सँगै मिलेर बालबालिकालाई उचित उमेर, समय र मार्गदर्शनमा डिजिटल प्रविधि प्रयोग गर्न सिकाउनुपर्नेमा जोड दिइन्।
‘नियम लागू भएपछि मात्र यसको प्रभाव देखिन्छ। बालबालिकाबाट गुनासो र अभिभावकमा अन्योल आउन सक्छ,’ उनले भनिन्, ‘त्यसैले अभिभावक र विद्यालयले बालबालिकालाई वास्तविक संसारसँग जोड्न प्रेरित गर्नुपर्छ।’
अहिलेसम्म थोरै मात्र प्लेटफर्महरूले प्रतिक्रिया दिएका छन्। एक्सले आफ्नो सुरक्षा पृष्ठमा इन्डोनेसियामा न्यूनतम उमेर १६ वर्ष तोकेको उल्लेख गर्दै ‘यो हाम्रो रोजाइ होइन, कानुनको आवश्यकता हो’ भनेको छ।
गुगलअन्तर्गतको युट्युबले सरकारको प्रयासलाई समर्थन गर्दै अनलाइन जोखिम घटाउने र जानकारी तथा डिजिटल अवसर जोगाउने सन्तुलित नीति आवश्यक रहेको जनाएको छ।
टिकटकले पनि नियामक अपेक्षाअनुसार आवश्यक कदम चाल्ने र सुरक्षाका उपायहरू अझ बलियो बनाउने बताएको छ।
अष्ट्रेलियामा गत डिसेम्बरदेखि यस्तै प्रतिबन्ध लागू भइसकेको छ, जहाँ सामाजिक सञ्जाल कम्पनीहरूले करिब ४७ लाख बालबालिकाका खाताहरू हटाएका थिए।
स्पेन, फ्रान्स र बेलायतजस्ता अन्य देशहरूले पनि अनियन्त्रित सामाजिक सञ्जाल सामग्रीबाट बालबालिकालाई हुने हानिबारे बढ्दो चिन्ताबीच यस्ता कदम चाल्ने वा विचार गर्ने क्रममा छन्। (एपी)