BIZMANDU
www.bizmandu.com

रास्वपा सरकार बन्ने भएपछि भारुसँगको स्थिर विनिमय दर पुनरावलोकनबारे बहस

२०८२ चैत्र १२

रास्वपा सरकार बन्ने भएपछि भारुसँगको स्थिर विनिमय दर पुनरावलोकनबारे बहस
रास्वपा सरकार बन्ने भएपछि भारुसँगको स्थिर विनिमय दर पुनरावलोकनबारे बहस

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले घोषणापत्रमा लेखेको भारतसँगको विनिमय दर पुनरावलोकनबारे पुन: बहस सुरु भएको छ। निर्वाचनमा झन्डै दुई तिहाइ बहुमत ल्याएपछि रास्वपाको घोषणापत्रमा लेखिएको पुनरावलोकनबारे प्राज्ञिक तहमा छलफल सुरु हुन थालेको हो।

Tata
GBIME
Nepal Life

अहिले एक अमेरिकी डलरको मूल्य १५० रुपैयाँ नाघेको छ। अमेरिकी डलरको वृद्धिदर पछिल्लो दुई वर्ष सबैभन्दा उच्च छ। डलरको भाउ निरन्तर उकालो लागे पनि मुलुकको केन्द्रीय बैंक राष्ट्र बैंकले यसमा कुनै हस्तक्षेप गर्न सक्दैन।

भारतीय रुपैयाँसँग नेपाली रुपैयाँको स्थिर बिनिमय दर छ। भारु कमजोर हुँदा नेपाली रुपैयाँ पनि कमजोर हुन्छ। अहिले भारु हरेक दिन कमजोर देखिएको छ भने डलर बलियो भइरहेको छ। त्यसैले नेपाली रुपैयाँ पनि कमजोर भइरहेको छ।

निर्वाचनको घोषणापत्रमा रास्वपाले भारुसँगको विद्यमान १६० रुपैयाँको स्थिर विनिमय दरलाई पुनरावलोकन गर्न अन्तर्राष्ट्रिय प्राज्ञहरुमार्फत अध्ययन गर्ने भनेको छ। उसले प्रचण्ड बहुमतले जित हासिल गरेपछि यसबारेमा बहस सुरु भएको हो। विज्ञहरु शक्तिशाली सरकार निर्माण भएका बेला नै यस्ता महत्वपूर्ण विषयमा छलफल र निर्णय हुनु पर्ने बताउँछन्।

उनीहरुका अनुसार शोधनान्तर बचत उच्च, विदेशी मुद्राको सञ्चिति वृद्धि र स्थिर सरकार भएका बेला भारुसँगको विनिमय दर पुनरावलोकनबारे निर्णय गर्न सकिन्छ।

विनिमय दर पुनरावलोकलनका सन्दर्भमा यसअघि पनि कुरा नउठाइएको होइन। केही निजी र सरकारी संस्थाबाट अध्ययन भएको थियो।  तर आन्तरिक राजनीति कलहमै रमाउँदा यो आर्थिक एजेण्डाले प्राथमिकता पाउन सकेन।

डलरको भाउ उकालो लाग्दा यस्ता खाले अध्ययनका लागि बहस हुने गर्थ्यो। डलर महँगिंदा त्यसको प्रत्यक्ष प्रभाव आयातित वस्तुमा पर्छ। आयात भएका सबै वस्तु महँगिन्छ र त्यसको मार उपभोक्तामा पर्छ। आयातको तुलनामा निर्यातको अंश अत्यन्तै न्यून रहेकोले मुलुकले त्यसको फाइदाभन्दा बढी बेफाइदा भोगिरहेको छ। त्यही भएर पुनरावलोकनको माग हुने गरेको छ।

अमेरिकी डलरको तुलनामा नेपाली रुपैयाँको अवमूल्यन आयात–निर्यातको परिमाणले भन्दा भारतसँगको स्थिर सटही दरका कारण भएको हो। यो परिस्थितिबाट मुक्ति पाउन भारतीय मुद्रासँगको सटही दर परिवर्तन गर्नुपर्ने हुन्छ।

कच्चा पेट्रोलियम पदार्थको मूल्य बढेका कारण भारु कमजोर हुँदै गएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन्। भारतीय केन्द्रीय बैंक रिजर्भ बैंक अफ इण्डियाले अमेरिका र इजरायल मिलेर इरानमा गरेको आक्रमण र इरानले प्रतिकार स्वरुप खाडी राष्ट्रहरुमा गरेको आक्रमणले इन्धन तथा ग्यासको भाउ भढेको छ। यसले मूल्य मात्र बढाएको छैन, लगानी पनि प्रभावित गरेको छ। त्यही कारण अहिले भारतीय अर्थ व्यवस्था कमजोर बन्दै गएको छ। अर्थतन्त्र कमजोर हुँदा भारु पनि कमजोर भएको हो।

पछिल्लो समय भारतमा आयात फराकिलो हुँदै गएको छ। आयातका लागि उसँग भएको विदेशी मुद्राको भण्डारणमा पनि कमी आएको छ। यसले गर्दा डलरको माग बढेर भारु कमजोर भएको विश्लेषण सञ्चार माध्यमहरुले गरेका छन्। यसै सन्दर्भमा कतिपय विदेशी लगानीकर्ताले आफ्नो पैसा झिकेर फिर्ता लैजान थालेको समाचार सार्वजनिक भइरहेका छन्।

विनिमय दर पुनरावलोकन गर्दा नेपालका लागि कतिको लाभदायक छ/छैन? कसैले अध्ययन भने गरेको छैन। 

दशकअघि साउथ एसिया वाच अन ट्रेड इकोनोमिक्स एन्ड इन्भाइरोमेन्ट (सावती)ले गरेको अध्ययनमा औसत विनिमय दर २ प्रतिशतले अधिमूल्यन भएको उल्लेख थियो। आधा दशकअघि राष्ट्रिय योजना आयोगले भारतीय मुद्रासँगको विनिमय दर पुनरावलोकनबारे अध्ययन गर्न सुरु गरे पनि पूरा भएन।