काठमाडौं। उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री अनिल कुमार सिन्हाले आफ्नो रिपोर्ट कार्ड सार्वजनिक गरेका छन्। सिन्हाले आफूले ६ महिना मन्त्रालयको नेतृत्व सम्हाल्दा गरेका १६६ वटा कामको विवरण सार्वजनिक गरेका छन्।
उनले गरेका कामको सूचीमा सार्वजनिक संस्थानका सञ्चालक समितिका पदाधिकारीसँग अन्तरक्रिया गरेकोदेखि सार्वजनिक संस्थानका ऐन, नियम, विनियमावली संग्रह तयारीको कार्य अगाडि बढेको विषय समेटिएका छन्।
मन्त्रालय र मातहतका निकायका कर्मचारीलाई सार्वजनिक खरिद व्यवस्थापन सम्बन्धी तालिम दिएको, मन्त्रालयमा शासकीय सुधार इकाई गठन गरेको, मन्त्रालय र मातहतका निकायको सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण प्रतिवेदन तयार गरी सहमतिका लागि अर्थ मन्त्रालयमा पठाएको जस्ता नियमित कामलाई मन्त्री सिन्हाले आफ्नो कार्यकालमा भएका मुख्य कामको सूचीमा राखेका छन्।
उद्योग विभाग र कम्पनी रजिष्ट्रारको कार्यालयका नियमित कामलाई मन्त्रीको कार्यकालमा भएका कामको सूचीमा राखिएको छ।
‘४७५ वटा विदेशी लगानीका परियोजना स्वीकृत भई ३९.२३ अर्बको विदेशी लगानीको प्रतिवद्धता प्राप्त भएको छ। यसमध्ये अटोमेटिक रुटबाट चालु आर्थिक वर्ष ३२४ वटा विदेशी लगानी प्रस्ताव स्वीकृत भएको छ,’ मन्त्रीको कामको विवरणमा भनिएको छ, ‘१५२० ट्रेडमार्क दर्ता गरिएको छ भने ११३ वटा औद्योगिक वौद्धिक सम्पत्ति सम्बन्धी मुद्दाको फैसला गरिएको छ। कम्पनी रजिष्ट्रारको कार्यालयमा रहेका पुराना फाइल डिजिटाइजेसनको काम भइरहेको तथा डिजिटल सिग्नेचर मार्फत १ लाख ८१ हजार ४१३ वटा पत्र जारी गरिएको छ।’
दसैं तिहारका बेला साल्ट ट्रेडिङ र खाद्य व्यवस्था तथा व्यापार कम्पनीले सुपथ मूल्य पसल सञ्चालन गरेको, सहुलियत दरमा नुन ढुवानी गरेको जस्ता विषय पनि १६६ बुँदे कामको सूचीमा परेका छन्।