काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) का दुई ठूला फ्रेन्चाइजहरूको स्वामित्व कीर्तिमानी मूल्यमा बिक्री भएको छ। साविक च्याम्पियन रोयल च्यालेन्जर्स बेङ्ग्लुरु (आरसीबी) र राजस्थान रोयल्सको स्वामित्व क्रमशः १.७८ बिलियन र १.६३ बिलियन अमेरिकी डलरमा बिक्री भएको हो।
नेपाली रुपैयाँमा हिसाब गर्दा यी दुई टोलीको कुल मूल्य करिब साढे ४ खर्ब हुन आउँछ। यसमध्ये आरसीबी करिब २ खर्ब ३९ अर्ब र राजस्थान करिब २ खर्ब १८ अर्ब नेपाली रुपैयाँमा बिक्री भएका हुन्।
आरसीबीमा बिर्ला र टाइम्स ग्रुपको इन्ट्री
बेङ्ग्लुरुको १०० प्रतिशत स्वामित्व अब आदित्य बिर्ला ग्रुप, द टाइम्स अफ इन्डिया ग्रुप, बोल्ट भेन्चर्स र ब्ल्याकस्टोन सम्मिलित कन्सोर्टियमको हातमा पुगेको छ। यो सम्झौतामा आरसीबीको पुरुष टोली (आईपीएल) र महिला टोली (डब्लुपीएल) दुवै रहने छन्।
यो खरिद रकम सन् २०२१ मा बीसीसीआईले दुई नयाँ टोली (लखनउ र गुजरात) बेच्दा पाएको कुल १.६९ बिलियन डलर भन्दा पनि बढी हो। आरसीबी किन्नका लागि विश्वका ८ ठूला लगानीकर्ताहरू सर्ट लिस्टमा परेका थिए।
राजस्थानको ग्लोबल साम्राज्य: तीन टोली एकै प्याकेजमा
राजस्थान रोयल्सको स्वामित्व भने कल सोभानीको नेतृत्वमा रब वाल्टन र फामिली अफ फोर्डले लिएका छन्। राजस्थानको मूल्य आरसीबीको भन्दा केही कम देखिए पनि यसमा एउटा ‘ट्विस्ट’ छ।
नयाँ मालिकले आईपीएलको टोली मात्र नभई दक्षिण अफ्रिकाको पार्ल रोयल्स र क्यारेबियन लिगको बार्बाडोस रोयल्सको पनि स्वामित्व पाएका छन्।
१८ वर्षमा १६ गुणा नाफा
यी टोलीहरू बेच्दा पुराना मालिकहरूले ठूलो नाफा कमाएका छन्। सन् २००८ मा आईपीएलको सुरुवातमा विजय माल्याले आरसीबी मात्र १११.६ मिलियन डलरमा किनेका थिए। अहिले करिब १८ वर्षपछि यसलाई बेच्दा झन्डै १६ गुणा बढी नाफा भएको छ।
यसअघि आरसीबीको स्वामित्व भएको डियाजियो (यूएसएल) ले सन् २०२५ जुन ४ मा आरसीबीको विजय उत्सवका क्रममा भएको भागदौड (जसमा ११ फ्यानको ज्यान गएको थियो) पछि टोली बेच्ने निर्णय गरेको थियो। कम्पनीले क्रिकेट आफ्नो ‘कोर बिजनेस’ नभएको भन्दै यो मेगा-डिल फाइनल गरेको बताइएको छ।
यसअघि गुजरात टाइटन्स ९०० मिलियन डलरमा बिकेर रेकर्ड बनाएको थियो भने अहिले राजस्थान १ बिलियन डलर माथिको मूल्यांकन पाउने पहिलो आईपीएल फ्रेन्चाइज बनेको छ। त्यस्तै, आरसीसी सबै भन्दा महँगो टोली बनेको छ।