काठमाडौं । वैदेशिक रोजागारीमा लग्ने भन्दै ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। काठमाडौं उपत्यकमा अपराध अनुसन्धान कार्यालयको टोलीले सिन्धुली सुनकोशी गाउँपालिका घर भएका ४० वर्षीय शिवराज कार्कीलाई नियन्त्रणमा लिएको हो।
उनी तेल भिसा नामको फिल्मका निर्माता समेत भएको खुलेको छ। वैदेशिक रोजगारीमा पठाउने भन्दै ठगी गरेको उजुरी परेपछि प्रहरीले सोमबार स्वयम्भूबाट उनलाई नियन्त्रणमा लिएको हो।
उनले २५० जनालाई ठगी गरेको देखिएको छ। तर, अहिलेसम्म १०० जनाले उजुरी दिएको एसपी मनोहर प्रसाद भट्टले जानकारी दिए।
वैदेशिक रोजगार विभागले प्रहरीलाई पत्रचार गरेपछि उनी समातिएका हुन्। विभागले यसअघि विभिन्न मुद्दा दर्ता भएकोमा ६ वटा पक्राउ पुर्जी समेत उनीविरुद्ध जारी भएको देखिएको छ। त्यस्तै गत असार २४ गते लैनचौर वृत्तमा समेत उनीविरुद्ध बैंकिङ कसुर मुद्दा समेत दर्ता भएको देखिएको छ।
कार्कीले काठमडौंको चाबहिलमा १० वर्षदेखि कन्सल्ट्यान्सी संचालन गर्दै आएका थिए। पछिल्लो ३ महिनादेखि भने उनी भारतमा अन्नपूर्ण फाष्टफुड समेत खोलेर बसेको प्रहरीले जानकारी दिएको छ। उनको साथबाट प्रहरीले भारत सरकारको आधार कार्ड र प्यानकार्ड समेत भेटाएको छ।