BIZMANDU
www.bizmandu.com

राखेपलाई फिफाको डर देखाएर निर्वाचन गर्दै एन्फा, १३ गतेको साधारण सभालाई सचिवालय बन्द!

२०८२ चैत्र १०

राखेपलाई फिफाको डर देखाएर निर्वाचन गर्दै एन्फा, १३ गतेको साधारण सभालाई सचिवालय बन्द!
राखेपलाई फिफाको डर देखाएर निर्वाचन गर्दै एन्फा, १३ गतेको साधारण सभालाई सचिवालय बन्द!

काठमाडौं। अखिल नेपाल फुटबल संघ (एन्फा) राष्ट्रिय खेलकुद परिषद् (राखेप)को निर्देशन अटेर गर्दै नेतृत्व चयनको बाटोमा हिंडेको छ।

Tata
GBIME
Nepal Life

नेतृत्व चयनका लागि चैत १३ गते झापामा साधारण सभा राखेको एन्फाले सातदोबाटोस्थित आफ्नो मुख्यालय मंगलबारदेखि बन्द गरेको छ। एन्फाले विज्ञप्ति नै निकालेर साधारण सभामा खटिनुपर्ने भएकाले सचिवालय बन्द गरेको जनाएको छ।

राखेपले पटक-पटक दिएको निर्देशन अटेर गर्दै एन्फाले निर्वाचन गर्न लागेको हो। राखेपले पछिल्लोपटक चैत ५ गते पत्र पठाएर निर्वाचन प्रक्रिया कानुन अनुसार अगाडि बढाउन भनेको थियो। आफूसँग कुनै समन्वय नगरेको भन्दै राखेपले निर्वाचनसँग सम्बन्धित सबै काम स्थगित गरी तीन दिनभित्र जानकारी गराउन भनेको थियो।

जिल्ला, प्रदेश हुँदै केन्द्रको निर्वाचन गर्नुको साटो एन्फाले अहिले जिल्ला र प्रदेश अधिवेशन नगरी पुरानै प्रतिनिधिबाट नेतृत्व चयन गर्न लागेको हो। निर्वाचन प्रक्रिया अगाडि बढाउन आफूले फिफा र एएफसीको स्वीकृति पाएको एन्फाले जनाएको छ।

एन्फाले खेलकुद विकास ऐनले नै खेल संघलाई स्वायत्त हुनेछन् भनेकाले निर्वाचनको मिति, समय र स्थान तोक्ने अधिकार आफूमा निहीत रहेको भन्दै तेस्रो पक्षको हस्तक्षेप भए नेपाली फुटबल फिफाको प्रतिबन्धमा जाने चेतावनीसहितको पत्र राखेपमा पठाएको छ।

एन्फा र राखेपबीच हङकङसँगको मैत्रीपूर्ण खेललाई लिएर पनि टकराव भएको थियो। राखेपले दशरथ रंगशाला उपलब्ध नगराएको भन्दै एन्फाले खेल स्थगित गरेको थियो।

राखेप भने खेल स्थगित हुनुमा एन्फा नै दोषी रहेको बताउँछ। राखेपका सदस्यसचिव रामचरित्र मेहताले एन्फाले आफ्नै कारण खेल स्थगित गरेर राखेपलाई दोष थोपरेको बिजमाण्डूसँग यसअघि नै बताइसकेका छन्।

खेलाडी विकेश कुथुले हङकङसँगको खेल रोकिनुमा एन्फा नै दोषी रहेको बताएका छन्। उनले १३ गते झापाको साधारण सभामा पुग्न १२ गतेको खेलले अप्ठेरो पर्ने बुझाइमा एन्फाले हङकङसँगको खेल स्थगित गरेको आरोप लगाएका छन्।

‘यसरी राखेपसँग दोहोरी देखाउनु पर्थ्यो र? खेल रद्द गर्नुको कारण यस्तो पो रहेछ। बरु यो योजना खुलेआम भनेको भए भइहाल्थ्यो त एन्फा,’ उनले टिप्पणी गरेका छन्, ‘१२ गते हङकङसँग खेल अनि १३ गते उहाँहरुको ठुलो चाड, अनि नमनाइ भयो त अब? खेल त जतिबेला पनि खेलौंला नि। तपाइँहरुको कुर्सी पहिले जोगाउन पर्‍यो नि होइन?’

यता एन्फाको कार्यशैलीलाई लिएर क्लबहरु ९ दिनदेखि अनसनमा छन्।