BIZMANDU
www.bizmandu.com

डलरको भाउ उकालो लाग्दा अटो क्षेत्रमा देखिन थाल्यो असर, नयाँ गाडीको मूल्य कति बढ्ला?

२०८२ चैत्र ९

डलरको भाउ उकालो लाग्दा अटो क्षेत्रमा देखिन थाल्यो असर, नयाँ गाडीको मूल्य कति बढ्ला?
डलरको भाउ उकालो लाग्दा अटो क्षेत्रमा देखिन थाल्यो असर, नयाँ गाडीको मूल्य कति बढ्ला?

काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा अमेरिकी डलरको मूल्य बढ्दै जाँदा यसको प्रत्यक्ष असर नेपालको अटोमोबाइल क्षेत्रमा देखिन थालेको छ।

Tata
GBIME
Nepal Life

खाडी क्षेत्रको तनाव र स्ट्रेट अफ हर्मुज वरपरको अस्थिरताले ऊर्जा बजारसँगै मुद्रा बजारमा दबाब बढ्दा त्यसको असर सवारीसाधन उत्पादनदेखि आयातसम्म परेको हो।

पछिल्लो २४ दिनमा डलरको विनिमय दर १४४ रुपैयाँबाट १५० रुपैयाँ नाघिसकेको छ। यसले गर्दा गाडी उत्पादनको लागतदेखि आयात गर्दा लाग्ने खर्च बढेको छ। आज एक अमेरिकी डलरको विनिमय दर १५०.२४ रुपैयाँ छ।

डलरको भाउ वृद्धिले आयात शुल्क महँगो हुनुका साथै कच्चा पदार्थ खरिद गर्ने क्षमता घट्छ। यसको परिणाम स्वरुप कम्पनीहरुले आफ्नो नाफा घट्ने हुँदा उत्पादक कम्पनीले नै गाडीको मूल्य बढाउन सक्छन्।

डलरको भाउ निरन्तर बढेसँगै विश्वव्यापी अस्थिरताले नेपाली अटो बजारमा चुनौती बढ्ने भय व्यवसायीहरुमा छ। विशेषगरी विद्युतीय सवारीसाधन महँगिने र नयाँ गाडी खरिद गर्ने योजना बनाएका ग्राहकले थप आर्थिक भार व्यहोर्नुपर्ने अवस्था देखिएको अटो व्यवसायीहरु बताउँछन्।

उनीहरुका अनुसार डलरको भाउ निरन्तर बढेका कारण सवारीसाधनको मूल्य १५ देखि २० प्रतिशतसम्म बढ्ने अनुमान गरिएको छ।

अटो व्यवसायी आकाश गोल्छा डलरको भाउ बढेका कारण नेपालमा अब आउने नयाँ गाडीको मूल्य बढ्ने निश्चित भएको बताउँछन्।

‘डलरको मूल्यले सवारीसाधन उत्पादनमा मात्रै हिट गर्दैन, ग्राहकको हातमा पुग्दासम्मका सबै प्रक्रियामा असर पर्छ,’ गोल्छा भन्छन्, ‘गाडी ल्याउँदा लाग्ने ढुवानी खर्च (फ्रेट चार्ज) बढिसकेको छ।’

गोल्छाका अनुसार विद्युतीय सवारीसाधनमा लाग्ने ब्याट्री निर्माणमा प्रयोग हुने कच्चा पदार्थको लागत बढेको छ। ‘ब्याट्रीको मूल्य १५ देखि २० प्रतिशतले बढ्ने देखिएको छ। त्यसैले अब आउने विद्युतीय सवारीसाधनको मूल्य पनि बढ्छ,’ गोल्छाले भने।  

नेपाल अटोमोबाइल्स इम्पोटर्स एण्ड म्यानुफ्याक्चर्स एसोसिएसनका सदस्य रहेका निशान तथा ओमाडा एण्ड जेको गाडीको आधिकारिक बिक्रेता शारडा ग्रुपका निर्देशक गौरव शारडा पनि डलरको भाउले सवारीसाधनको मूल्य बढ्नेमा निश्चित छन्।

‘हामीलाई दुई कुराले हिट गर्छ। जसमा एउटा ट्रान्सपोर्ट वा लजिस्टिक कस्ट र अर्को प्रोडक्ट उत्पादन कस्ट बढ्दा सामानकै मूल्य बढ्छ,’ शारडा भन्छन्, ‘अहिले पश्चिम एसियाको युद्धको असर आयात हुने सबैजसो वस्तुको प्राइस बढिरहेको छ। इन्धनको मूल्य नै भारी बढेका कारण अटो क्षेत्र अछुतो रहन सम्भव हुँदैन।’

चिनियाँ युआनको मूल्य पनि बढ्दो

चिनियाँ मुद्रा आरएमबीको मूल्य ५ महिना अगाडि साढे १९ रुपैयाँ रहेकामा अहिले साढे २१ रुपैयाँ पुगिसकेको छ। चीनमा ब्याट्री उत्पादनको लागत बढेको छ। ब्याट्री उत्पादनसँग सम्बन्धित सामग्रीबाहेक इलेक्ट्रोनिक कम्पोनेन्ट (जस्तै चिप र र्‍याम)को मूल्य पनि बढेको छ। जसले गर्दा चिनीयाँ नयाँ इभीको मूल्य ५/६ प्रतिशतसम्म बढ्न सक्ने व्यवसायीहरुले बताए।

‘अमेरिका-इजारायल र इरान वारले गर्दा ग्लोबलरुपमा नै समस्या पारेको छ। हाम्रो जस्तो आयात गर्ने देशलाई त धेरै असर परेको छ,’ शारडा भन्छन्।

हुन्डाई गाडीको नेपालका लागि आधिकारिक बिक्रेता लक्ष्मी ग्रुपका निर्देशक निराकार श्रेष्ठ पनि अहिलेको युद्धको असरस्वरुप नयाँ गाडीको मूल्य बढ्ने बताउँछन्।

‘खाडी क्षेत्रको तनावले गाडीको प्राइसलाई इम्प्याक्ट गर्छ नै। तर मूल्य कति बढ्छ भनेर यकिन गर्न सकिने अवस्था छैन,’ श्रेष्ठ भन्छन्, ‘लजिस्टिक लागत बढ्नु, सिपमेन्टको अभाव हुनु र विश्वव्यापी सप्लाइ चेनमा समस्या आउनुले आगामी दिन चुनौतीपूर्ण हुने निश्चित छ।’

खाडी क्षेत्रको तनावको असर भारतले पनि खेपिरहेको छ। तैपनि आइस इन्जिन गाडीको मूल्य भने तत्कालै धेरै नबढ्ने व्यवसायीहरुको बुझाइ छ। नेपाल र भारतबीच भारतीय मुद्रामा कारोबार हुने र दुई देशको मुद्राको विनिमयदर स्थिर रहेका कारण भारतमा उत्पादित इन्जिन गाडीको मूल्य धेरै नबढ्ने व्यवसायीहरुको विश्वास छ।

ट्रम्पले इरानको ऊर्जा क्षेत्रमा आक्रमण अस्थायी रुपमा रोक्ने घोषणा गरेका छन्। तर, स्थायी रुपमा आक्रमण अन्त्य हुने सम्भावना छैन। यसको असर अटो व्यवसायमा पर्ने देखिन्छ।