काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठले नेतृत्व चयनका लागि सहमतिको प्रयास अन्तिम समयसम्म जारी राख्ने बताएका छन्।
उनले सवमबार आफ्नो समूहको प्यानल घोषणा कार्यक्रममा सहमतिका लागि पहल गर्न अध्यक्ष चन्द्र ढकालसँग आग्रह गरे।
‘हामीले सहमतिका लागि पहल सुरु गरेका छौं। अध्यक्षज्यूलाई पनि यसमा सहयोग गर्न आग्रह गरेको छु। मतदान हुनुअघिसम्म सहमतिको सम्भावना रहन्छ। सहमति हुन सकेन भने हामी स्वस्थ लोकतान्त्रिक अभ्यासमा जानेछौं,’ उनले भने।
उनले निर्वाचनमा जसले जिते पनि निजी क्षेत्रको नेतृत्व गर्ने गरी सबैलाई एउटै डुङ्गाका यात्री सम्झेर एकताबद्ध रुपमा अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरे।
महासंघको यही चैत मसान्तमा हुने साधारण सभाबाट श्रेष्ठ स्वत: अध्यक्ष बन्दैछन्।
श्रेष्ठले कोभिडपछिको परिस्थिति र सरकारका केही नीतिगत कमजोरीका कारण बजार माग घटेको र उद्योगहरू न्यून क्षमतामा चलिरहेको बताए।
उनले व्यवसायीका समस्या सुन्न र समाधानको पहलका लागि डेस्क स्थापना गर्ने, पूर्वअध्यक्ष र आर्थिक विज्ञ सम्मिलित ‘थिङ्क ट्याङ्क’ बनाउने र डाटामा आधारित नीतिगत बहस गर्ने लगायत योजना सुनाए।