काठमाडौं। प्रधानमन्त्री कप क्रिकेटमा आज सम्पन्न खेलमा सुदूरपश्चिम प्रदेश र लुम्बिनी प्रदेश विजयी भएका छन्। सुदूरपश्चिमले कर्णालीलाई र लुम्बिनीले कोशीलाई हराउने क्रममा नेपाली यू-१९ टोलीका यू दुई पूर्वकप्तानले निर्णायक भुमिका खेले।
वीरगंजस्थित नारायणी स्टेडियममा आज सम्पन्न खेलमा सुदूरपश्चिम प्रदेशले कर्णाली प्रदेशलाई ४ विकेटले हराउन सफल भयो।
खेलमा सुदूरपश्चिमले टस जितेर फिल्डिङ रोजेको थियो। कप्तान शेर मल्लको यो निर्णयलाई सही सावित गर्दै हेमन्त धामीले घातक बलिङ गर्दा कर्णाली ३२ ओभरमा ११९ रनमा अलआउट भएको थियो।
कर्णालीका लागि विपिन रावलले ३३, सुनिल धमलाले २८ र अर्विन्द घर्तीले १३ रन बनाउन बाहेक अन्य ब्याटरले दोहोरो अंकको रन नै बनाउन सकेनन्।

कर्णालीको ब्याटिङ धराशायी बनाउन हेमन्त धामीले ७ ओभर बलिङ गर्दै १६ रन दिएर ६ विकेट लिए। त्यस्तै, शेर मल्ल, नारायण जोशी, अशोक धामी र मिलन बोहराले समान १ विकेट लिए।
जवाफी ब्याटिङमा उत्रिएको सुदूरपश्चिमले ६ विकेट गुमाएर २९.२ ओभरमा लक्ष्य भेट्टायो। सुदूरपश्चिमका लागि किरण ठगुन्नाले सर्वाधिक २६ रन बनाउँदा खडग बोहराले २३ रन बनाए। त्यस्तै, मिलन बोहरा १८ र शेल मल्ल १० रनमा अविजित रहे।
त्यस्तै, आजै सम्पन्न अर्को खेलमा लुम्बिनी प्रदेशले कोशी प्रदेशलाई हरायो। जनकपुरस्थित रामजानकी मैदानमा सम्पन्न खेलमा
टस जितेर कोशी प्रदेशका कप्तान सुजन थपलियाले पहिला फिल्डिङ गर्ने निर्णय लिएका थिए।
सुरुवाती ब्याटिङ गर्दै लुम्बिनीले निर्धारित ५० ओभर सकिन ३ बल बाँकी छँदा अलआउट हुँदै २४९ रन बनायो। लुम्बिनीका लागि कप्तान देव खनालले बलियो सुरुवात दिलाउँदै १०० बलमा ९२ रनको योगदान दिए। त्यस्तै, सन्तोष यादवले ४८, रञ्जित खड्काले ३५ तथा राजेन्द्र बमले अविजित १६ रनको योगदान दिए।
बलिङमा कोशीका सुजन थपलियाले ४ विकेट लिँदा दीपेश कँडेलले २ तथा विपिन महतो र प्रेम कामतले समान १ विकेट लिए।
जवाफी ब्याटिङमा उत्रिएको कोशी ३१.४ ओभरमा १०१ रनमा समेटियो। कोशीका लागि अंकित सुवेदीले सर्वाधिक ३० रन बनाउँदा दीपेश कँडेलले १५ तथा सुजन थपलियाले ११ रनको योगदान दिए।
बलिङमा लुम्बिनीका सन्तोष यादवले ४ विकेट लिँदा राजेन्द्र बमले ३, निर्मल गुरुङले २ तथा सन्देश थापाले १ विकेट लिए।