काठमाडौं। राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव रामचरित्र मेहताले एन्फाको आरोपलाई खारेज गरेका छन्। अखिल नेपाल फुटबल संघ (एन्फा) ले आइतबार विज्ञप्ति निकाल्दै राखेपले दशरथ रंगशाला उपलब्ध नगराएका कारण हङकङसँगको मैत्रीपूर्ण खेल स्थगित गराएको जनाएको थियो।
सदस्य सचिव मेहताले एन्फालाई स्वीकृतिको पत्र पठाएको भन्दै अन्तर्राष्ट्रिय खेल रोक्नुपर्ने कुनै पनि कारण नभएको दाबी गरेका छन्।
‘हामीले शुक्रबार चिठी पठाउन भ्याएनौँ। चिठी अहिले सायद गइसकेको होला,’ सदस्य सचिव मेहताले भने, ‘उनीहरूले आफ्नो अरू कारणले आयोजना गर्न सकेका छैनन्। हामीलाई दोष थुपारेको मात्रै हो।’
नेपाल र हङकङबीचको मैत्रीपूर्ण खेल आगामी बिहीबार चैत १२ गते त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने तालिका थियो।
दशरथ रंगशालालाई लिएर एन्फा र राखेपबीचको टकराव नयाँ होइन। तर, पछिल्ला दिनमा यी दुईबीच एन्फाको अर्ली इलेक्सनलाई लिएर सम्बन्ध अत्यन्त खराब स्थितिमा छ। एन्फा पेलेरै अर्ली इलेक्सनको पक्षमा छ भने राखेपले प्रक्रिया पूरा गरेर जिल्ला र प्रदेश हुँदै केन्द्रको चुनाव गर्न दबाब दिइरहेको छ।
सम्बन्धित समाचार: राखेपले रंगशाला उपलब्ध नगराएको भन्दै एन्फाद्वारा हङकङसँगको पूर्वनिर्धारित खेल नै स्थगित
‘चुनावको पाटो भयो फरक भयो। त्यहाँ हामी त इनिसियल छौं। त्यो रिस चाहिँ अन्तर्राष्ट्रिय खेलमा त पोखिँदैन नि त,’ सदस्यसचिवले भने, ‘ कुरो हाम्रो त निर्णय भएर शुक्रबार थियो नि त, अस्ति। १२ गते पठाउने भन्ने कुरा भएको थियो। आज पठाइदिने कुरो भएको थियो। महासचिवसँग पनि अस्ति मेरो कुरो भा’थियो। हुन्छ, त्यो केही छैन, हामीले दिन्छौं भन्याँ थिएँ।’
उनले महासचिव किरण राईलाई मौखिकरूपमै यो चुनावभन्दा फरक पाटो भएकाले केही समस्या नभएको भनेको दाबी गरे।
‘उनीहरु व्यवस्थापनमा सकेनन् होला। अनि यहाँ दोष थुपारेको देखियो। हाम्रो गएको छ पत्र। अस्तिको मितिको निर्णयसहित जाँदैछ,’ उनले भने।
आजै एन्फाले हङकङसँगको खेल स्थगित भएको जनाएको छ। राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले रंगशाला उपलब्ध नगराएको भन्दै एन्फाले हङकङसँगको खेल स्थगित भएको जनाएको हो।
दशरथ रंगशाला राखेपको स्वामित्वमा रहेको मैदान हो। यो मैदानलाई लिएर पटक-पटक एन्फा र राखेपबीच टकराव हुँदै आएको छ। पछिल्लो समय एन्फाले खेलकुद ऐन भन्दा बाहिर गएर प्रदेश र जिल्लाको निर्वाचन नगरी गर्ने तयारी गरेपछि नेपाली खेलकुदको नियामक राखेपले पटक-पटक पत्र पठाउँदै निर्वचन रोक्न निर्देशन दिएको छ।
एन्फा भने निर्वाचन गराएरै छाड्ने हठमा छ। यसैबीच हङकङसँगको खेलका लागि राखेपले मैदान उपलब्ध नगराएको आरोप एन्फाले लगाएको हो।