BIZMANDU
www.bizmandu.com

बुलिस बाटोमा रहेको सेयर बजारमा हाफ सेन्चुरी, ८ महिनायताकै उच्च कारोबार

२०८२ चैत्र ८

बुलिस बाटोमा रहेको सेयर बजारमा हाफ सेन्चुरी, ८ महिनायताकै उच्च कारोबार
बुलिस बाटोमा रहेको सेयर बजारमा हाफ सेन्चुरी, ८ महिनायताकै उच्च कारोबार

काठमाडौं। प्रतिनिधि सभा निर्वाचनमा करिब दुई तिहाई बहुमत प्राप्त गरेको राष्ट्रिय स्वतन्त्र पार्टीले सरकार गठनका लागि गृहकार्य गरिरहँदा सेयर बजार बुलिस बनेको छ।

Tata
GBIME
Nepal Life

नेप्से परिसूचकसँगै सेयर कारोबार रकम पनि निरन्तर बढिरहेको छ। निर्वाचनमा रास्वपाले बहुमत पाएसँगै अब राजनीतिक स्थिरता हुने विश्वासमा लगानीकर्तामा कन्फिडेन्स बढ्दा नेप्से सूचक र कारोबार रकम दुवै उकालो लागेको हो।

नेप्से परिसूचक आइतबार ५४.५१ अंक बढेर २९३१.५५ विन्दुमा पुगेको छ। नेप्से परिसूचक पछिल्लो ८ महिनायताकै उच्च विन्दुमा पुगेको हो। नेप्से सूचक साउन १४ गते २९५४ विन्दुमा थियो।

बजारमा २३ अर्ब ५९ करोड ७७ लाख रुपैयाँको सेयर कारोबार भएको छ। यो कारोबार रकम पनि ८ महिनायताकै उच्च हो। यसअघि साउन ११ गते २६ अर्ब ५७ करोड रुपैयाँको सेयर किनबेच भएको थियो।

‘बजारका लागि चाहिने सबै सूचकहरु ठिकठाक थिए। तर, राजनीतिक अस्थिरताका कारण लामो समयदेखि त्यसको सकारात्मक प्रभाव देखिएको थिएन। अहिले स्थिर सरकार बन्ने देखिएपछि बजारमा सकारात्मक प्रभाव परेको हो,’ स्टक ब्रोकर्स एसोसिएसन अफ नेपालका पूर्वअध्यक्ष धर्मराज सापकोटाले भने, ‘रास्वपाले करिब दुई तिहाई बहुमत ल्याएकाले यो पटक लामो अवधिसम्म नै पोजेटिभ प्रभाव पर्ने देखिन्छ। रास्वपाले वाचापत्रमा भने अनुसार काम गर्‍यो भने लगानीकर्तामा अझै कन्फिडेन्स बढ्छ।’

नेप्से यसअघि राजनीतिक अनिश्चितताका कारण बढ्न सकेको थिएन। गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि राजनीतिक अनिश्चयका कारण तरंगित बनेको सेयर बजार निर्वाचनबाट बहुमतको नयाँ सरकार बन्ने सुनिश्चित भएपछि उत्साहित बनेको हो।

निर्वाचन आयोगले मत परिणाम सार्वजनिक गरेर राष्ट्रपतिलाई प्रतिवेदन बुझाएपछि रास्वपा सरकार गठनको गृहकार्यमा लागिसकेको छ। रास्वपाका नेताहरु अहिले मन्त्री बनाउने नामलाई लिएर छलफलमा छन्।

यस पटक ५ वर्ष एउटै पार्टीले सरकार चलाउने म्यान्डेट पाएकाले लगानीको वातावरण बन्नेमा लगानीकर्ता आशावादी छन्। त्यसैको सकारात्मक प्रभाव बजारमा देखिएको हो।

राजनीतिक उथलपुथलको प्रभाव सेयर बजारमा देखिने गरेको छ। यसअघि २०८१ असार तेस्रो साता नेपाली कांग्रेस र नेकपा एमालले सत्ता साझेदारीको सहमति गरेपछि सेयर बजार परिसूचक डेढ महिनामै ४६ प्रतिशतले बढेको थियो। नेप्से २०८१ साउन मसान्तमा ३००० विन्दुमा पुग्दा २९ अर्ब ९५ करोड रुपैयाँको कीर्तिमानी कारोबार बनेको थियो।

तर, तत्कालीन गठबन्धन सरकारमा असमझदारी बढेपछि नेप्से परिसूचक २४०० विन्दुसम्म आएको थियो।

बजारका लागि चाहिने सूचक बैंकको ब्याजदर र तरलता अहिले सहज छन्। बैंकहरुले ६ प्रतिशत ब्याजदरमै ग्राहकलाई ऋण दिइरहेका छन्। उच्च तरलताका कारण निक्षेपको ब्याजदर अहिले २.७५ प्रतिशतमा आएको छ।

बैंकहरुले साढे दुई वर्षदेखि निरन्तर ब्याजदर घटाइरहेका छन्। त्यस्तै, बजारका लागि नीतिगत व्यवस्था पनि सहज छन्। नेपाल राष्ट्र बैंकले यसअघि मौद्रिक नीतिमार्फत गरेको कडाइमा लचकता अपनाइसकेको छ।

‘बजारले अहिले दुई तिहाइको सरकारलाई सकारात्मक रुपमा लिएको देखिन्छ। सेयर बजारको फेबरमा नयाँ सरकारले नीति लिन्छ भन्ने लगानीकर्तामा परेको छ,’ स्टक ब्रोकर्स एसोसिएसन अफ नेपालका अध्यक्ष सागर ढकालले भने, ‘रास्वपाले आफ्नो घोषणापत्रमार्फत पनि बजारका लागि सकारात्मक कदम चाल्ने बताएको छ। अब आउने बजेट र मौद्रिक नीतिले बजारका लागि सकारात्मक नीति लिन्छ भन्ने विश्वासका कारण लगानीकर्तामा उत्साह ल्याएको छ।’