काठमाडौं: भुवन नगरकोटीले सूर्य नेपाल गल्फ टुर २०२५-२६ अन्तर्गतको पाँचौं प्रतियोगिता सूर्य नेपाल वेस्टर्न ओपनको उपाधि जितेका छन्। आज अन्तिम दिन इभन-पार ६९ खेल्दै समग्रमा ३-अन्डर २ सय ४ को स्कोरमा च्याम्पियन बने।
यसक्रममा उनले सञ्जय लामालाई एक स्ट्रोकले हराउँदै उपाधिमा ह्याट्रिक गर्न सफल रहे।
उपाधिसँगै उनले नगद १ लाख ७० हजार प्राप्त गरे। उनको यो करियर १४औं उपाधि हो। यसअघि यो सिजनमा उनले सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिप र सूर्य नेपाल काठमाडौं ओपनको उपाधि जितेका थिए।
आज ४-अन्डर ६५ खेल्दै समग्रमा २-अन्डर २ सय ५ को स्कोरमा सञ्जय दोस्रो भए। उनले नगद १ लाख २५ हजार हात पारे। एमेच्योर राहुल विश्वकर्माले ४-अन्डर ६५ को स्कोरकार्ड बनाए। समग्रमा १-अन्डर २ सय ६ सहित तेस्रो भए।
धरानका गल्फर शुक्र बहादुर राईले ४-ओभर ७३ मा अन्तिम दिनको खेल सकाउँदा समग्रमा २-ओभर २ सय ९ सहित चौथो भए। प्रोतर्फ तेस्रो भएका उनले नगद १ लाख आफ्नो नाममा लेखाए। जयराम श्रेष्ठले आज ६-ओभर ७५ मा अन्तिम दिनको खेल सकाउँदा समग्रमा ७-ओभर २ सय १४ सहित पाँचौं स्थानमा चित्त बुझाए। उनले ८२ हजार प्राप्त गरे।
नेपाल प्रोफेसनल गल्फर्स एसोसिएसन (एनपिजीए) द्वारा आयोजित प्रतियोगितामा २६ प्रोफेसनल तथा १६ एमेच्योर खेलाडीको सहभागिता रहेको थियो। सूर्य नेपाल प्रालिद्वारा प्रायोजित प्रतियोगितामा यो पटक कुल पुरस्कार राशि वृद्धि गरिएको थियो। कुल १० लाख ५० हजार नगद पुरस्कार रहेको यो प्रतियोगितामा शीर्ष १८ स्थान सम्मका प्रोफेसनल खेलाडीहरूले नगद पुरस्कार प्राप्त गरे।