BIZMANDU
www.bizmandu.com

मुद्दती निक्षेपमा बैंकहरुको अरुचिपछि ऋणपत्र र अग्राधिकार सेयरमा लगानी बढाउँदै बीमा कम्पनी

२०८२ चैत्र ६

मुद्दती निक्षेपमा बैंकहरुको अरुचिपछि ऋणपत्र र अग्राधिकार सेयरमा लगानी बढाउँदै बीमा कम्पनी
मुद्दती निक्षेपमा बैंकहरुको अरुचिपछि ऋणपत्र र अग्राधिकार सेयरमा लगानी बढाउँदै बीमा कम्पनी

काठमाडौं। बैंक तथा वित्तीय संस्थाहरुले मुद्दती निक्षेपमा पैसा राख्न रुचि नदेखाएपछि बीमा कम्पनीले अन्य क्षेत्रमा लगानी बढाउन थालेका छन्। बीमा कम्पनीले ऋणपत्र र अग्राधिकार सेयरमा लगानी बढाउन थालेका हुन्।

Tata
GBIME
Nepal Life

चालु आर्थिक वर्ष पुससम्म आइपुग्दा जीवन बीमा कम्पनीहरुले बैंक तथा वित्तीय संस्थाहरुको अग्राधिकार सेयर, बण्ड, डिबेञ्चर र ऋणपत्रमा ७४ अर्ब ३५ करोड रुपैयाँ लगानी गरेका छन्।

पोहोर पुससम्म जीवन बीमा कम्पनीहरुले बैंक तथा वित्तीय संस्थाहरुको अग्राधिकार सेयर, बण्ड, डिबेञ्चर र ऋणपत्रमा ५३ अर्ब ९६ करोड रुपैयाँ लगानी गरेका थिए।

अन्य क्षेत्रमा लगानी बढाउनु बीमा कम्पनीहरुको बाध्यता बनेको छ। ब्याजदर घट्दै आए पनि अधिक तरलताका कारण बैंक तथा वित्तीय संस्थाले मुद्दती निक्षेप लिन नचाहेपछि बाध्य भएर ऋणपत्र र अग्राधिकार सेयरमा लगानी बढाउन थालेको बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीइओ) हरु बताउँछन्।

अधिक तरलता कारण बैंक तथा वित्तीय संस्थाहरुले मुद्दती निक्षेप लिन आनाकानी गरेकाले फण्ड स्थिर बस्ने भएपछि अन्य क्षेत्रमा लगानी गर्न थालेको एक बीमा कम्पनीका सीइओले बताए।

‘बैंकिङ प्रणालीमा अधिक तरलता छ। बैंकहरुले लगानी गर्न सकिरहेका छैनन्। जसकारण उनीहरुले हाम्रो पैसा लिन चाहिरहेका छैनन्,’ ती सीइओले बिजमाण्डूसँग भने, ‘हामीले २/३ अर्ब रकम मुद्दतीमा राख्नका लागि आह्वान गर्दा ५०/६० करोडभन्दा बढीका लागि बिड परेको अवस्था छैन।’

बैंक तथा वित्तीय संस्थाको ऋणपत्र र अग्राधिकार सेयरमा आर्थिक वर्ष २०८०/८१ सम्म ५२ अर्ब ७० करोड रुपैयाँ लगानी गरेका बीमा कम्पनीको लगानी आर्थिक वर्ष २०८१/८२ मा आइपुग्दा ५९ अर्ब ३८ करोड रुपैयाँ पुगेको थियो।

एकातिर न्यून ब्याजदर र अर्कातिर मुद्दतीमा राख्नका लागि आह्वान गरेको पूरै रकमका लागि बिडिङ नहुने अवस्थाले चुनौती बढेको ती सीइओले बताए।

‘हामीसँग दायित्व धेरै हुने हुँदा फण्ड सुरक्षित क्षेत्रमा लगानी गर्नुपर्ने हुन्छ,’ उनले भने, ‘हाम्रा लागि लगानीको सबैभन्दा सुरक्षित क्षेत्र मुद्दती निक्षेप नै हो। मुद्दतीमा लगानी गर्न नपाएपछि पैसा आइडल भएर बसेको छ। त्यसकारण सुरक्षित क्षेत्रमा थोरै थोरै लगानी बढाउन थालेको छौं।’

अहिले बैंकिङ प्रणालीमा झण्डै साढे ११ खर्ब रुपैयाँ लगानीयोग्य रकम (तरलता) छ। चालु आर्थिक वर्ष साढे ७ महिनामा बैंकहरुले जम्मा २ खर्ब ९० रुपैयाँ लगानी बढाएका छन्। न्यून कर्जा लगानी र अधिक तरलताका कारण बैंकहरुले मुद्दती निक्षेपमा चासो नदेखाएका हुन्।

न्यून विन्दुमा आएको ब्याजदरमा पनि बैंक तथा वित्तीय संस्थाले पैसा लिन आनाकानी गरेपछि बीमा कम्पनीले बढी ब्याज पाइने सरकारी सुरक्षणमा लगानीको हिस्सा बढाउने व्यवस्था गर्न लबिइङ गर्दै आइरहेका छन्।

जीवन बीमक संघका अध्यक्ष तथा नेपाल लाइफ इन्स्योरेन्सका सीइओ प्रविण रमण पराजुली मुद्दती निक्षेपमा लगानी गर्न नपाएर फण्ड स्थिर भएकाले लगानीका लागि सुरक्षित क्षेत्र खोजिरहेको बताउँछन्।

‘छोटो अवधिको मुद्दतीको ब्याजदर २.७५ प्रतिशत छ। लामो अवधिको ब्याजदर ३/४ प्रतिशत छ। न्यून ब्याजदरमा पनि बै्कहरुले पैसा राख्न मानिरहेका छैनन्,’ उनले भने, ‘सरकारी सुरक्षणपछि कम रिक्स भएको क्षेत्र मुद्दती हो। धेरै क्षेत्रमा लगानीको क्याप छ। हामी सुरक्षित क्षेत्र हेरिरहेका छौं।’

चालु आर्थिक वर्ष ६ महिनामा बीमा कम्पनीले मुद्दती निक्षेपमा १२ अर्ब ९५ करोड रुपैयाँ लगानी गरेका छन्। पोहोर सोही अवधिमा बीमा कम्पनीले २६ अर्ब ७५ करोड रुपैयाँ मुद्दतीमा लगानी गरेका थिए। मुद्दती निक्षेपमा बीमा कम्पनीहरुको कुल लगानी हालसम्म ६ खर्ब ७६ अर्ब रुपैयाँ पुगेको छ। यो मुद्दती निक्षेपमा रहेको कूल रकमको ८.७६ प्रतिशत हो।