काठमाडौं । नेपाल पुलिस क्लब जय ट्रफी एलिट कपको च्याम्पियन बनेको छ। मुलपानी क्रिकेट मैदानमा आज सम्पन्न फाइनल खेलको तेस्रो दिन आर्मीले दिएको लक्ष्य पछ्याउँदै पुलिस च्याम्पियन बनेको हो।
अघिल्लो संस्करणको उपाधि पनि पुलिसले नै जितेको थियो। यसपाला भने पुलिसले ४ विकेटको जित निकाल्न सफल भयो।
फाइनलको पहिलो दिन आर्मीले सुरुवाती ब्याटिङ गर्दै २२१ रन बनाएको थियो। जवाफी ब्याटिङमा उत्रिएको पुलिस ४१-३ को अवस्थामा रहँदा पहिलो दिनको खेल सकियो।
दोस्रो दिन सकिँदा नेपाल पुलिस त्रिभुवन आर्मी क्लबविरुद्ध बलियो स्थितिमा थियो। पहिलो इनिङ्समा २२१ रन बनाएको आर्मी आफ्नो दोस्रो इनिङ्समा दोस्रो दिन सकिँदा ९ विकेट गुमाउँदै १७८ रनमा थियो। अन्तिम विकेटका लागि सोमपाल कामी र आकाश चन्दले बलियो साझेदारी गर्दा आज आर्मी २२७ रनमा पुग्न सफल भयो।
पुलिसले पहिलो इनिङ्समा ६१.४ ओभरमा २२१ बनाएको थियो। दोस्रो इनिङ्समा उसले २२७ रन बनाउनु पर्ने थियो। जवाफी ब्याटिङमा उत्रिएको पुलिसले आज यो लक्ष्य ५६.४ ओभरमा ६ विकेट गुमाएर भेट्टायो।
पुलिसका लागि आज राशिद खानले सर्वाधिक ८१ रन बनाउँदा कुशल भुर्तेलले ५१, दिल्साद अलीले अविजित ३१ तथा दीनेश खरेलले २५ रन बनाए। बलिङमा आर्मीका शहाब आलम र पवन कार्कीले आज समान २ विकेट लिँदा भीम सार्की र आकाश चन्दले समान १ विकेट लिए।