काठमाडौं। भुजुङ हाइड्रोपावरको आइपीओ नेप्सेमा सूचीकृत भएको छ। बिहीबार कम्पनी र नेप्सेबीच सूचीकरण सम्झौता भएको हो।
भुजुङ हाइड्रोपावरको १ करोड कित्ता सेयर नेप्सेमा थपिएको छ। कुल सेयरमध्ये २० लाख कित्ता सेयर आइपीओ र बाँकी ८० प्रतिशत कम्पनीको संस्थापक सेयर हो।
हाइड्रोपावरलाई नेप्सेले दोस्रो बजारमा पहिलो कारोबार मूल्य प्रति कित्ता ९०.०४ देखि २७०.१२ रुपैयाँ दिएको छ। कम्पनीको सेयर आइतबार यही मूल्यभित्र कारोबारका लागि खुला हुनेछ।
कम्पनीले आइपीओ बिक्रीका लागि गराएको रेटिङमा इक्रा नेपालले इक्राएनपी इस्यूअर रेटिङ सिंगल बी प्लस दिएको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको जनाउँछ।
गत असारसम्म कम्पनीको प्रति सेयर नेटवर्थ ९०.०४ रुपैयाँ छ। यस्तै प्रति सेयर आम्दानी १०.८१ रुपैयाँ ऋणात्मक छ। कम्पनी ५ करोड ७ लाख रुपैयाँ सञ्चित नोक्सानीमा छ।
कम्पनीले बनाइरहेको ७.५ मेगावाटको माथिल्लो मिदिम जलविद्युत् आयोजनाको कुल लागत १ अर्ब ८० करोड ५८ लाख ४९ हजार रुपैयाँ छ।