काठमाडौं। नेपाल टेलिकमले उपलब्ध गराइरहेको प्रिपेड रोमिङ सेवा अब ६२ देशमा प्रयोग गर्न मिल्ने भएको छ। यसका लागि टेलिकमले ती देशका ८९ सेवा प्रदायकसँग सम्झौता गरेको छ।
चालु आर्थिक वर्षको साउनपछि लाटभिया, स्लोभेनिया, टर्किए, ताइवान – आरओसी, घाना, रोमानिया र लाओसका विभिन्न सेवा प्रदायकसँग र पाकिस्तान, बेलारुस र श्रीलंकाका थप सेवा प्रदायकसँग टेलिकमले सम्झौता गरेको हो। नेपाल टेलिकमले पहिलेदेखि नै अन्य विभिन्न देशहरूमा यो सुविधा उपलब्ध गराइरहेको छ।
टेलिकमको रोमिङ सेवा एसियाका देशहरू बहराइन, बंगलादेश, चीन, साइप्रस, हङकङ, भारत, इन्डोनेसिया, इजरायल, जापान, कजाकस्तान, कुवेत, मकाउ, मलेसिया, म्यानमार, ओमान, पाकिस्तान, फिलिपिन्स, कतार, साउदी अरेबिया, सिंगापुर, दक्षिण कोरिया, श्रीलंका, ताइवान (आरओसी), थाइल्यान्ड, टर्किए, यूएई, उज्वेकिस्तान, भियतनाम र लाओस उपलब्ध छ।
त्यस्तै, युरोपका अष्ट्रिया, बेल्जियम, बेलारुस, बुल्गेरिया, क्रोएसिया, डेनमार्क, जर्मनी, ग्रीस, हंगेरी, आइसल्यान्ड, आयरल्यान्ड, इटाली, लाटभिया, लिच्टेन्सटाइन, लक्जम्बर्ग, माल्टा, नेदरल्यान्ड, नर्वे, पोर्चुगल, रोमानिया, रसिया, स्लोभेनिया, स्विडेन, स्विजरल्यान्ड र बेलायतमा टेलिकमको रोमिङ सेवा प्रयोग गर्न सकिन्छ।
यसैगरी, अफ्रिकामा इजिप्ट, घाना र मौरिसस, उत्तरी अमेरिकामा क्यानडा, मेक्सिको, संयुक्त राज्य अमेरिका र ओसिनियामा न्युजिल्यान्ड तथा अष्ट्रेलियामा पनि यो सेवा उपलब्ध रहेको टेलिकमले जनाएको छ।
रोमिङ सेवाअन्तर्गत भ्वाइस, डेटा र एसएमएस सेवा प्रयोग गर्न सकिन्छ। आगामी दिनमा क्रमशः अन्य देशहरूमा पनि यो सेवा उपलब्ध हुने टेलिकमले जानकारी दिएको छ।
प्रिपेड मोबाइल प्रयोगकर्ताका लागि नेपाल टेलिकमले भारत बाहेक विभिन्न देशमा रोमिङ सेवा स्वतः एक्टिभेट हुने सुविधा उपलब्ध गराएको छ। भारतका लागि भने आफ्नो मोबाइलबाट *१४१५*७# डायल गरी मेनुमा गएर ‘रोमिङ’ विकल्प छान्नुपर्ने हुन्छ।
पोस्टपेड मोबाइल प्रयोगकर्ताको हकमा सेवा एक्टिभ गर्न मोबाइलमा कम्तीमा पाँच हजार रुपैंया ब्यालेन्स रहेको हुनुपर्छ। प्रयोगकर्ता नेपालमा भएको अवस्थामा आफ्नो मोबाइलबाट *१४१५*७# डायल गरी सेवा सुरु गर्न सकिन्छ।
नेपालमा भएको समयमा रोमिङ सेवा एक्टिभ नगरी विदेश गएमा त्यहीबाट पनि यो सेवा एक्टिभ गर्नका लागि इमेल मार्फत अनुरोध गर्न सकिन्छ। यसका लागि सबैभन्दा पहिले नेपाल टेलिकमको वेबसाइटमा रहेको डाउनलोड लिंकअन्तर्गत इन्टरनेसनल रोमिङमा क्लिक गरी प्रिपेड रोमिङ रजिस्टार फम डाउनलोड गरी रीतपूर्वक फारम भरिसके पछि आफ्नो नागरिकता वा पासपोर्टको प्रतिलिपि र भरिएको फारमलाई इमेल गर्नुपर्छ।