BIZMANDU
www.bizmandu.com

मार्जिन ट्रेडिङ कार्यविधि जारी गर्ने तयारीमा नेप्से, कारोबारीलाई ऋण दिन थप ब्रोकर आतुर

२०८२ चैत्र ५

मार्जिन ट्रेडिङ कार्यविधि जारी गर्ने तयारीमा नेप्से, कारोबारीलाई ऋण दिन थप ब्रोकर आतुर
मार्जिन ट्रेडिङ कार्यविधि जारी गर्ने तयारीमा नेप्से, कारोबारीलाई ऋण दिन थप ब्रोकर आतुर


काठमाडौं। ब्रोकरबाटै ऋण लिएर सेयर किनबेचको व्यवस्था कार्यान्वयन गर्न नेपाल स्टक एक्सचेन्जले कार्यविधि जारी गर्न लागेको छ। नेप्से व्यवस्थापनले मार्जिन कारोबार सुविधाका लागि कार्यविधिको मस्यौदा तयार गरेर सञ्चालक समितिमा पेस गरेको छ।

Tata
GBIME

नेप्से सञ्चालक समितिले कार्यविधिको मस्यौदा स्वीकृत गरेपछि ब्रोकरबाटै ऋण लिएर सेयर कारोबार गर्न सकिने सुविधा कार्यान्वयनमा आउनेछ।

‘मार्जिन कारोबार सम्बन्धी निर्देशिका कार्यान्वयनमा ल्याउन नेप्से व्यवस्थापनले कार्यविधिको मस्यौदा तयार पारेर सञ्चालक समितिमा पेस गरिसकेको छ,’ नेप्सेका एक अधिकृतले भने, ‘मस्यौदा सञ्चालक समितिबाट स्वीकृत भएपछि कार्यान्यनमा लगिनेछ। त्यसको लागि पूर्वाधार निर्माणको काम समेत भइरहेको छ। केही दिनमै सञ्चालक समितिले कार्यविधि स्वीकृत गर्ने तयारी छ।’

नेपाल धितोपत्र बोर्ड(सेबोन)ले लगानीकर्ताले ब्रोकरबाटै ऋण लिएर सेयर किनबेच गर्न सकिने सुविधाका लागि मार्जिन कारोबार सम्बन्धी निर्देशिका जारी गरेपछि नेप्सेले कार्यान्वयनमा ल्याउन लागेको हो।

मार्जिन कारोबार निर्देशिकापछि केही ब्रोकर कम्पनीले मार्जिन कारोबारको व्यवस्था गर्न थालेका छन्। केही ब्रोकर कम्पनी नेप्सेको कार्यविधिको पर्खाइमा छन्।

‘मार्जिन कारोबारका लागि ग्राहकको मार्जिन खाता छुट्टै चाहिन्छ। अहिले लगानीकर्ताले एउटा मात्रै खाता खोल्न पाउँछन्। यस प्रकारको आधारभूत पूर्वाधार पहिले तयार हुनुपर्छ,’ स्टक ब्रोकर्स एसोसिएसन अफ नेपालका पूर्वअध्यक्ष भरत रानाभाटले भने, ‘कार्यविधिले ग्राहक र ब्रोकर तथा नेप्सेको कारोबार प्रणालीसँग सम्बन्धित विषयहरुलाई सम्बोधन गरेपछि धेरै ब्रोकरले मार्जिन कारोबार सुरु गर्नेछन्।’

नेप्सेको पुरानै कार्यविधि अनुसार केही ब्रोकर कम्पनीले मार्जिन कारोबार सुविधा सुरु गरेका छन्। सेबोनबाट नयाँ निर्देशिका आएपछि अरु ब्रोकर पनि मार्जिन ट्रेडिङको तयारीमा लागेका हुन।

‘नेप्सेकै टीएमएसमा पनि केही विषय अपग्रेड गर्नुपर्छ। ब्रोकरका सबै कुरा नेप्सेले गाइड गर्छ। कार्यविधिबाहेक प्रणाली अपग्रेड मुख्य कुरा हो,’ स्टक ब्रोकर्स एसोसिएसन अफ नेपालमा महासचिव नितेशकुमार अग्रवालले भने, ‘टीएमएसमा एकै लगानीकर्ताको दुई खाता खोल्न पाउने, मार्जिन ल्यान्डिङ ट्रेकिङको व्यवस्था, मार्जिन ट्रेडिङयोग्य कम्पनीको मात्रै सिस्टममा अर्डर हाल्न पाउने प्रणालीगत कुराको व्यवस्था भएपछि यो कार्यान्वयनमा आउँछ। त्यसबाहेक मार्जिन कल गर्ने र सिस्टमले नै बेच्दिने लगायत कुरा छन्।’

सेबोनले जारी गरेको मार्जिन कारोबार सम्बन्धी निर्देशिकाले नै मार्जिन कारोबार खाता हुनुपर्ने व्यवस्था गरेको छ। मार्जिन कारोबारका लागि निर्देशिकाले सर्तहरु तोकेको छ।

मार्जिन कारोबारयोग्य हुन कम्तिमा २५ लाख कित्ता सर्वसाधारण सेयर (लकइन भएका सेयर बाहेक) सूचीकरण भएको, नेटवर्थ चुक्ता पुँजी बराबर वा सो भन्दा बढी भएको, पछिल्लो तीन वर्षमा दुई वर्ष खुद नाफा गरेको, आइपीओ सूचीकरण भएको कम्तीमा दुई वर्ष पूरा भएको हुनुपर्ने लगायत सर्त छन्।

मार्जिन कारोबार सुविधाका लागि ब्रोकर कम्पनीको पनि योग्यता तोकिएको छ। चुक्ता पुँजी न्यूनतम २० करोड रुपैयाँ भएका, राफसाफ सदस्यता प्राप्त गरेका, निक्षेप सदस्य वा निक्षेप सदस्य कम्पनीको सेयरधनी रहेका वा सहायक कम्पनीको रुपमा रहेका धितोपत्र दलाल व्यवसायीको मुख्य कम्पनीले निक्षेप सदस्यता प्राप्त गरेका ब्रोकरले मात्रै मार्जिन कारोबार गर्न पाउनेछन्।

मार्जिन कारोबार सुविधाको अवधि बढीमा एक वर्षको हुनेछ। तर एक वर्षपछि नवीकरण गर्न मिल्नेछ। निर्देशिकाले नयाँ मार्जिन कारोबारका लागि ब्रोकरले बैंकहरुबाट ऋण लिन सक्ने व्यवस्था गरेको छ।

ग्राहकलाई ऋण दिने ब्रोकरसँग स्रोत नहुँदा यसअघि प्रभावकारी बन्न सकेको थिएन। तर, यसपटक बैंकिङ प्रणालीमा थुप्रिएको तरलता र नयाँ निर्देशिकाले मार्जिन कारोबार प्रभावकारी हुने ब्रोकरहरु बताउँछन्।

‘फण्डका लागि ब्रोकरको पुँजीले मात्रै पुग्दैन। तर, यसपटक ऋणका लागि सहज देखिन्छ। बैंकमा तरलता राम्रै छ। बैंकले ऋण दिन चासो देखाइरहेका छन्। हामीले सम्झौता नै अघि बढाउने तयारी गरिहरेका छौं,’ रानाभाटले भने, ‘त्यसैले लगानीकर्तालाई हामी ऋण दिन आतुर छौं। नेप्सेको कार्यविधि आएपछि सुरु गरिहाल्छौं।’