काठमाडौं: सूर्य नेपाल गल्फ टुर २०२५-२६ अन्तर्गत पाँचौं प्रतियोगिता सूर्य नेपाल वेस्टर्न ओपनको पहिलो दिननै चर्को प्रतिस्पर्धा सुरु भएको छ। आज पोखरामा पाँच गल्फर संयुक्तरुपमा शीर्षस्थानमा रहे। प्रोफेसनल गल्फर शुक्र बहादुर राई, भुवन नगरकोटी, भु बहादुर गुरुङ र जयराम श्रेष्ठ तथा एमेच्योर राहुल विश्वकर्माले इभन-पार ६९ को स्कोरमा शीर्षस्थान बाँडे।
१-ओभर ७० को स्कोरमा सञ्जय लामा छैटौं, २-ओभर ७१ को स्कोरमा रमेश अधिकारी सातौं र र ३-ओभर ७२ सहित भुवन कुमार रोक्का आठौं स्थानमा रहेका छन्। ४-ओभर ७३ स्कोर निकालेका रवि खड्का र प्रदीप कुमार लामाले संयुक्तरुपमा नवौं स्थान बाँडे।
हिमालयन गल्फ कोर्समा शुक्रले फ्रन्ट नाइन २-ओभर ३६ मा सकाए। पहिलो, तेस्रो, छैटौं र सातौं होलमा बोगी खेपेका उनले पाँचौं र नवौं होलमा एक-एक सट बचाए। ब्याक नाइनमा सम्हालिंदै २-अन्डर ३३ खेले। १५औं होलमा एक सट खेर फाल्दा १०औं, १४औं र १७औं होलमा बर्डी प्रहार गरे।
नेपाल प्रोफेसनल गल्फर्स एसोसिएसन (एनपिजीए) द्वारा आयोजित प्रतियोगितामा २६ प्रोफेसनल तथा १६ एमेच्योर खेलाडीको सहभागिता रहेको छ। तीन दिने प्रतियोगिता ५४ होलको हुनेछ। दोस्रो दिनको समाप्तीपछि कट लागु हुनेछ। १८ शीर्ष प्रोफेसनल र एमेच्योर खेलाडीहरूले अन्तिम १८ होलको लागि कट बनाउनेछन्।
कुल १० लाख ५० हजार नगद पुरस्कार रहेको यो प्रतियोगिताको विजेताले १ लाख ७० हजार नगद पुरस्कार प्राप्त गर्नेछ। यस्तै दोस्रो र तेस्रो हुने खेलाडीहरूले क्रमश १ लाख २५ हजार र १ लाख रुपैयाँ प्राप्त गर्नेछन्। साथै शीर्ष १८ स्थानमा रहने अन्य प्रोफेसनल खेलाडीहरूले पनि नगद पुरस्कार प्राप्त गर्नेछन्।