BIZMANDU
www.bizmandu.com

जय ट्रफी फाइनल: बलर चम्किँदा उपाधिका लागि पुलिस आर्मीविरुद्ध बलियो स्थितिमा

२०८२ चैत्र ४

जय ट्रफी फाइनल: बलर चम्किँदा उपाधिका लागि पुलिस आर्मीविरुद्ध बलियो स्थितिमा
जय ट्रफी फाइनल: बलर चम्किँदा उपाधिका लागि पुलिस आर्मीविरुद्ध बलियो स्थितिमा

काठमाडौं। जय ट्रफी एलिट कपको फाइनलको दोस्रो दिन सकिँदा नेपाल पुलिस त्रिभुवन आर्मी क्लबविरुद्ध बलियो स्थितिमा छ। पहिलो इनिङ्समा २२१ रन बनाएको आर्मी आफ्नो दोस्रो इनिङ्समा आज ९ विकेट गुमाउँदै १७८ रनमा छ।

Tata
GBIME
Nepal Life

अर्कोतर्फ पुलिसले पनि पहिलो इनिङ्समा २२१ रननै बनाएको थियो। आर्मीले १७८ रनको लिड बनाएर खेलिरहेको भए पनि ९ विकेट गुमाइसकेकाले पुलिसलाई तेस्रो दिन उपाधिका लागि धेरै संघर्ष गर्नुपर्ने देखिँदैन।

फाइनलको पहिलो दिन आर्मीले सुरुवाती ब्याटिङ गर्दै २२१ रन बनाएको थियो। जवाफी ब्याटिङमा उत्रिएको पुलिस ४१-३ को अवस्थामा रहँदा पहिलो दिनको खेल सकियो। दोस्रो दिन आज पुलिसले २२१ रन बनाउने क्रममा करण केसीले सर्वाधिक अविजित ७२ रन बनाउँदा आरिफ शेखले ४४, ललित राजवंशीले २० तथा कुशल भुर्तेलले १८ रनको योगदान दिए।

बलिङमा आर्मीका सोमपाल कामीले ५ विकेट लिँदा आकाश चन्दले २ तथा शाहब आलम, पवन कार्की र नरेन साउदले समान १ विकेट लिए।

दोस्रो इनिङ्समा आर्मीको ब्याटिङलाई पुलिसका तीन बलरले धराशायी बनाए। करण केसी, सागर ढकाल र ललित राजवंशीले समान ३ विकेट लिँदा दोस्रो दिन सकिँदा आर्मी १७८-९ मा संघर्ष गरिरहेको छ। आर्मीका लागि कुशल मल्लले सर्वाधिक ३६ रन बनाउँदा भीम सार्कीले ३२ तथा तृतराज दासले २० रन बनाए। आकाश चन्द २० र सोमपाल कामी शुन्य रनमा क्रिजमा रहँदा दोस्रो दिनको खेल टुंगिएको छ।

तेस्रो दिन च्याम्पियनको टुंगो लाग्नेछ।