BIZMANDU
www.bizmandu.com

लैनचौरमा एनसेलले छोडेको बिल्डिङमा बन्दैछ पाँच तारे होटल, एक वर्षभित्र संचालनमा आउने

२०८२ चैत्र ३

लैनचौरमा एनसेलले छोडेको बिल्डिङमा बन्दैछ पाँच तारे होटल, एक वर्षभित्र संचालनमा आउने
लैनचौरमा एनसेलले छोडेको बिल्डिङमा बन्दैछ पाँच तारे होटल, एक वर्षभित्र संचालनमा आउने


काठमाडौं। पाँच वर्षअघि निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेल लैनचौरमा रहेको भव्य भवनमा सर्‍यो। एनसेलले डेटा सेन्टर ललितपुरको नख्खुमा राखेर कर्पोरेट कार्यालय भने लैनचौर सारेको थियो।

Tata
GBIME
Nepal Life

यती समूहले बनाएको १० तल्लाको बिल्डिङ भदौ २३ र २४ गतेको जेनजी आन्दोलनको निशानामा पर्‍यो। त्यो निशानाबाट करोडौंका सवारीसाधन जले। जेनजी आन्दोलनमा आक्रमणमा परेपछि एनसेलले सूचना जारी गर्दै आफ्नो कर्पोरेट कार्यालय नख्खु सार्ने जानकारी गरायो। एनसेल नख्खुमा सरेपछि यती समूहले त्यो भव्य भवनमा पाँच तारे होटल बनाउन सुरु गरेको छ।

यती वर्ल्डका अध्यक्ष सोनाम शेर्पाले भवनको संरचना होटलका लागि भएको बताउँदै एक वर्षभित्र पाँच तारे होटल संचालनमा ल्याउने जानकारी दिए।

‘हामीले होटल बनाउने गरी भवनको संरचना बनाएका थियौं। त्यही बेलामा कोभिड र केही समयपछि ब्याजदर दोहोरो अंकमा पुगेपछि एनसेललाई भाडामा दिएका थियौं,’ उनले बिजमाण्डूसँग भने, ‘जेनजी आन्दोलनपछि यहाँ आक्रमण भएर एनसेल सरेपछि होटलको इन्टेरियरको काम सुरु गरिसकेका छौं। एक वर्षभित्र संचालनमा आउँछ।’

उनका अनुसार होटलका लागि प्रारम्भिक वातारणीय मूल्यांकन लगायत सबै प्रक्रिया पहिला नै पूरा गरिसकिएको छ। ‘होटल बनाउनका लागि सरकारी प्रक्रिया पहिला नै पूरा गरिसकेका छौं। इन्टेरियरको काम मात्रै गर्नका लागि धेरै समय लाग्दैन,’ शेर्पाले भने, ‘त्यसका लागि बैंक ऋण लगायत प्रक्रिया पनि सुरु भइसकेको छ। होटलको लागत दुई अर्ब रुपैयाँ बराबरको हो।’

४ रोपनी ३ आना क्षेत्रफलको होटलमा ११२ वटा कोठा हुनेछन्। शेर्पाका अनुसार होटलको नाम ली शेर्पा हुनेछ। होटल व्यवस्थापनको जिम्मा विदेशीलाई दिने शेर्पाले बताए।

‘होटल बनाइसकेपछि विदेशी व्यवस्थापनलाई नै जिम्मा दिने हो। हाम्रो एक्सपर्टिजले होटल संचालन गर्न कठिन हुन्छ,’ शेर्पाले भने, ‘विदेशीको नेटवर्कभित्र बसेपछि व्यापार गर्न पनि सजिलो हुन्छ।’

होटलको टप फ्लोरमा इन्फिनिटी स्वीमिङ पुल हुनेछ। होटलमा साउना, क्लब, ज्याकुजी लगायत सुविधा हुनेछन्। कन्फ्रेन्स हल र विभिन्न मल्टीकुजिन रेष्टुरेन्ट समेत रहने शेर्पाले जानकारी दिए।

यो समूहले हस्पिटालिटी क्षेत्रमा एग्रेसिभरुपमा लगानी गरिरहेको छ। समूह अन्तर्गत काठमाडौंमा गोकर्ण फरेष्ट रिसोर्ट, चितवनको मेघौलीमा कसरा चितवन, सोलुखुम्बुमा यती माउन्टेन होम, मुस्ताङमा शिन्तामणि लक्जरी रिसोर्ट र लुम्बिनी होक्के होटल संचालनमा छन्।

थामर्सेकु ट्रेक्स एण्ड एक्सपिडिसनबाट उदाएको यो समूहको यती एयरलाइन्स, तारा एयर, हिमालय एयरलाइन्स र एयर डाइनेष्टी हेलिकोप्टरमा लगानी छ। यसबाहेक यती इन्सेन्टिभ ट्राभल्स, यती होलिडेज, यती एडभेन्चर र कोरा टुर्स समेतमा यो समूहको लगानी छ।