काठमाडौं । गृह मन्त्रालयले नेपाल-चीन सम्बन्धलाई असर पुर्याउने किसिमको घटनाका सम्बन्धमा छानबिन गरि दोषी उपर आवश्यक कारबाही गर्न नेपाल प्रहरीलाई निर्देशन दिएको छ।
मोरङको मनमोहन टेक्निकल इन्स्टिच्युटमा चिनियाँ राष्ट्रपति सी जिनफिङको ‘द गभर्नेन्स अफ चाइना’ किताब जलाएको भिडियो गत सातादेखि फेसबुकमा भाइरल बनेको थियो। त्यस विषयमा चीनले परराष्ट्र मन्त्रालयमार्फत नेपाल सरकार समक्ष असन्तुष्टि पोखेको छ।
चीनले दूतावासमार्फत प्रश्न गरेपछि परराष्ट्रले घटनाको छानबिन गर्न र दोषी माथि कारवाही गर्न चीनको कूटनीतिक पत्रसहित परराष्ट्र मन्त्रालयले गृह मन्त्रालयलाई पत्राचार गरेको थियो।
परराष्ट्र मन्त्रालयको पत्र पछि गृह मन्त्रालय घटना घटेको तीन दिनपछि मात्र ‘एक्सन’मा देखिएको हो। जबकी यस विषयमा सरकार मौन रहेको भन्दै सामाजिक संजालमा आइतबारयता प्रश्न उठिरहेको थियो।
सो घटनाका सम्बन्धमा अनुसन्धान गर्न र दोषीलाई कानुनी दायरामा ल्याउन मोरङको जिल्ला प्रशासन र प्रहरीलाई गृहमन्त्रालयले निर्देशन दिएको छ।