BIZMANDU
www.bizmandu.com

मलेसियामाथि एएफसीको कार्बाही, मैदानमा २-० ले हारेको नेपाल कागजमा ३-० ले विजयी

२०८२ चैत्र ३

मलेसियामाथि एएफसीको कार्बाही, मैदानमा २-० ले हारेको नेपाल कागजमा ३-० ले विजयी
मलेसियामाथि एएफसीको कार्बाही, मैदानमा २-० ले हारेको नेपाल कागजमा ३-० ले विजयी

काठमाडौं। एएफसी एसियन कप २०२७ छनोटअन्तर्गत समूह ‘एफ’ मा नेपालको तालिकामा ३ अंक आएको छ। एसियन फुटबल कन्फिडरेसन (एएफसी) ले अयोग्य खेलाडी उतारेको आरोपमा मलेसियामाथि कारबाही गरेपछि नेपालविरुद्धको खेलको नतिजा उल्टिएको हो।

Tata
GBIME
Nepal Life

यो समूहमा नेपालसहित मलेसिया, भियतनाम र लाओस थिए। जसमा पाँच खेल खेल्दा मलेसियाले शतप्रतिशत जित निकाल्दै १५ अंक जोडेको थियो। दोस्रो भएको भियतनामले १२ र तेस्रो भएको लाओसले ३ अंक बनाउँदा नेपाल पाँचवटै खेलमा पराजित भएको थियो।

यसअघि मलेसियासँग पहिलो लेगमा २–० ले पराजित भएको नेपालले अब सो खेल ३–० ले जितेको मान्यता पाएको छ। दोस्रो लेगमा नेपाल १-० ले पराजित भएको थियो। त्यस्तै, भियतनामविरुद्ध मलेसियाले हासिल गरेको ४–० को जित पनि उल्ट्याउँदै ३–० को नतिजा भियतनामको पक्षमा गएको छ।

यो निर्णय कोर्ट अफ आर्बिटेसन फर स्पोर्ट्सको अन्तिम फैसलापछि आएको हो। फैसलाअनुसार मलेसिया फुटबल संघले सात खेलाडीलाई नक्कली कागजातका आधारमा नागरिकता दिलाएर टोलीमा समावेश गरेको पुष्टि भएको छ। यसले मलेसियाको भियतनाम र नेपालविरुद्धको खेलको नतिजा उल्टिएको छ।

कारबाहीअन्तर्गत ती खेलाडीलाई १२ महिनाको खेल प्रतिबन्ध लगाइएको छ भने फुटबल मलेसियालाई ५० हजार अमेरिकी डलर जरिवाना गरिएको छ। यद्यपि खेलाडीहरूले क्लबस्तरमा प्रशिक्षण भने जारी राख्न पाउनेछन्।

यस निर्णयपछि समूह ‘एफ’ को अंकतालिकामा पनि ठूलो फेरबदल आएको छ। पाँचै खेल जितेर शीर्ष स्थानमा रहेको मलेसिया अब दोस्रो स्थानमा झरेको छ भने भियतनाम शीर्ष स्थानमा उक्लिएर एसियन कपका लागि छनोट भइसकेको छ। एक खेल मात्र बाँकी रहँदा मलेसियाका लागि अब शीर्ष स्थान हासिल गर्ने सम्भावना समाप्त भएको छ।

नेपालका लागि भने यो निर्णयले हारिसकेको खेलमा कागजी जित दिएको छ। यद्यपि समग्र अंकस्थितिमा नेपाल अझै तेस्रो स्थानमै छ। नेपालले छैटौं खेलमा लाओससँग खेल्न बाँकी छ।

मलेसियाले भने निर्णयप्रति असन्तुष्टि जनाउँदै थप प्रक्रिया बुझेर आगामी कदम चाल्ने जनाएको छ।