काठमाडौं। सम्झौताका सर्तअनुसार काम नगरेपछि मेलम्ची खानेपानी विकास समितिले श्रेष्ठ-रमन-लुम्बिनी जेभीसँग ठेक्का तोड्ने प्रक्रिया अगाडि बढाएको छ।
समितिले सोमबार एक सूचना निकाल्दै मेलम्ची खानेपानी वितरण आयोजनाको फेज दुईमा पर्ने एक्सेस सडक र ३ वटा पुल निर्माण गर्न जिम्मा लिएको श्रेष्ठ-रमन-लुम्बिनी जेभीसँग ठेक्का सम्झौता अन्त्य किन नगर्ने विषयमा स्पष्टीकरण मागेको छ।
समितिले निर्माण व्यवसायीलाई तोकिएको समय सिमा भित्रै कार्य सम्पन्न गर्न पटक-पटक मौखिक तथा लिखित रुपमा ताकेता गरेको थियो। तर लामो समयदेखि निर्माण कार्य सम्पन्न गर्ने/गराउने तर्फ तदारुकता नदेखाएको र पेस भएको संशोधित कार्यतालिका अनुसार काम नगरेको हुँदा ठेक्का सम्झौता अन्त्य गर्ने प्रक्रिया खगाडि बढाइएको हो।
समितिले यस सम्बन्धमा उचित कारण तथा प्रमाण भए सो सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र आधिकारिक प्रतिनिधि स्वयं अनिवार्य रुपमा योजना शाखामा उपस्थित भई लिखित जवाफ पेस भनेको छ।
आयोजनाको फेज दुईमा पर्ने एक्सेस सडक र ३ वटा पुल निर्माण गर्न जिम्मा श्रेष्ठ-रमन-लुम्बिनी जेभीले लिएको छ। मेलम्ची पुल बजारदेखि दोस्रो चरणको लार्के हुँदै याङ्ग्रीसम्म पुग्ने २५ किलोमिटर पहुँच मार्गको निर्माण कार्य भइरहेको हो।