BIZMANDU
www.bizmandu.com

आइपीओले चलाउँदै दोस्रो बजार, कारोबार सुरु भएपछि उचालिन्छ सेयर मूल्य

२०८२ चैत्र २

आइपीओले चलाउँदै दोस्रो बजार, कारोबार सुरु भएपछि उचालिन्छ सेयर मूल्य
आइपीओले चलाउँदै दोस्रो बजार, कारोबार सुरु भएपछि उचालिन्छ सेयर मूल्य

काठमाडौं। आइपीओ बिक्री गरेर फागुन ४ गतेदेखि दोस्रो बजारमा कारोबार सुरु भएको सालपा विकास बैंकको सेयर मूल्यमा आइतबार पोजेटिभ सर्किट लागेर भाउ प्रति कित्ता १०४३ रुपैयाँ पुग्यो।

Tata
GBIME
Nepal Life

दोस्रो बजारमा कारोबार सुरु भएदेखि कम्पनीको सेयर मूल्य निरन्तर पोजेटिभ सर्किट लागिरहेको छ।

३०० रुपैयाँमा कारोबार खुलेको सालपाको सेयर मूल्य १४ करोबार दिनमा १३ दिन पोजेटिभ सर्किट लागेको हो। सालपा विकास बैंक मात्र होइन आइपीओ निष्कासन गरेर दोस्रो कारोबार सुरु गरेका अरु कम्पनीको मूल्य पनि निरन्तर बढ्ने गरेको छ।

बजारमा आइतबारदेखि नै सेयर कारोबार सुरु भएको सोलु हाइड्रोपावरको मूल्य १० प्रतिशत पोजेटिभ सर्किटमा किनबेच भएको छ।

३०० रुपैयाँमा ओपनिङ भएको कम्पनीको सेयर मूल्य पहिलो दिनमै ३० रुपैयाँले बढेको हो। गत बिहीबारदेखि दोस्रो बजारमा सेयर किनबेच सुरु भएको होटल फरेस्ट इनको भाउ १२२ रुपैयाँ पुगेको छ। १०० रुपैयाँ अंकित मूल्यमा कारोबार सुरु भएको कम्पनीको सेयर मूल्य दोस्रो बजारमा दोस्रो दिन पोजेटिभ सर्किट नजिक किनबेच भएको हो।

नेप्से परिसूचक आइतबार ४.४५ अंकले बढ्दा सेयर मूल्य सबैभन्दा धेरै बढ्ने तीनवटै कम्पनी आइपीओ बिक्रीपछि भर्खर दोस्रो बजारमा कारोबार सुरु गरेका हुन।

सेयर बजार उच्च अंकले बढ्दा होस कि घट्दा नयाँ कम्पनीमा आकर्षण देखिने गरेको छ। आइपीओ बिक्रीपछि दोस्रो बजारमा सूचीकृत कम्पनीले नै मूल्यका हिसाबले बजार चलाइरहेका हुन्।

बुक बिल्डिङ विधिमार्फत सेयर बिक्री गरेर नेप्सेमा फागुन ४ गतेदेखि कारोबार सुरु भएको रिलायन्स स्पिनिङ मिल्सको मूल्य ९३९ रुपैयाँ पुगेको छ।

८२० रुपैयाँमा सर्वसाधारणलाई सेयर बिक्री गरेर ३०० रुपैयाँमा पहिलो कारोबार खुलेको रिलायन्सको सेयर मूल्य उकालो लागिरहेको छ।

आइपीओ निष्कासनपछि २०८२ मा दोस्रो बजारमा सूचीकृत भएका कम्पनीको सेयर मूल्य

कम्पनी‌ओपनिङ मूल्यउच्च मूल्यआइतबार सेयर मूल्य
विकास हाइड्रोपावर२९२६९९५८७
हिमस्टार ऊर्जा कम्पनी२५२१२६४९६६
दरमखोला इनर्जी४०२९१८७२९
माबिलुङ इनर्जी३१७९२७७६८
स्वस्तिक लघुवित्त३९१३४००२८५०
बुंगल हाइड्रो३०२८२२६५५
बन्दीपुर केबलकार२८५१२३३९३९
झापा इनर्जी२९३१७४९१५०८
सागर डिष्टिलरी३१९.५२४३९१९२५
श्रीनगर एग्रिटेक३०११६९०१३३६
एसवाई प्यानल३१९२२५५१८३३
सोलु हाइड्रोपावर३००३३०३३०
सालपा विकास३००१०४३१०४३
होटेल फरेस्ट इन१०११२२१२२
रिलायन्स स्पिनिङ मिल्स३००९३९९३९
स्रोत: नेपाल स्टक एक्सचेन्ज

बजारमा सूचक बढ्दा होस् कि उच्च अंकले घट्दा आइपीओ निष्कासन गरेका कम्पनीको भाउ आकाशिने गरेको हो। आइपीओमै लगानीकर्तामाझ १०/१० कित्ता होल्ड हुने गरेकाले माग उच्च हुँदा भएकाले मूल्य बढिरहेको लगानीकर्ता बताउँछन्।

‘आइपीओमा १०/१० कित्ता सेयर होल्ड हुँदा थोरै-थोरै किनबेच हुन्छ। त्यसपछि बजारमा सप्लाइ न्यून र माग बढी हुँदा मूल्य बढ्ने गरेको हो,’ क्यापिटल म्याक्स सेक्युरिटिजका अध्यक्ष अतितलाल श्रेष्ठले भने।

कम्पनीको आइपीओमै २७ लाखभन्दा बढीको आवेदन पर्ने गरेको छ। आइपीओको लगानीभन्दा दोस्रो बजारमा कारोबारपछि सेयर मूल्य दुई तीन गुणा भएकाले आवेदन दिनेको संख्या निरन्तर बढ्दै गएको हो।

‘कम्पनीको कुनै वित्तीय आधार नभइ आइपीओ बिक्रीपछि निरन्तर बढ्ने गरेको छ। जबकी कम्पनीको विवरणले त्यसलाई जस्टिफाइ गर्न सक्दैन,’ मर्चेन्ट बैंकर सौगात पन्तले भने, ‘आइपीओपछि कम्पनीको मूल्य बढ्दा कम्पनीको समग्र भ्यालुएसनमै असर पार्ने गरेको छ। जसले मार्केट नै ड्राइभ हुने अवस्था देखिएको छ। बजारमा कम्पनीको पुँजीकरण गणना नै वैज्ञानिक छैन। त्यसलाई हेरफेर गर्नु जरुरी छ।’

कम्पनीले स्थानीय, सामूहिक लगानी कोष र कर्मचारीलाई समेत सेयर वितरण गर्नुपर्छ। सामूहिक लगानी कोषका लागि वितरण गरेको सेयरमा ६ महिना लकइन अवधि लागू हुन्छ।

त्यसपछि कम्पनीको आइपीओ सामूहिक लगानी कोषले बिक्री गर्न पाउँछन्। ‘बजारमा डिमाण्ड धेरै तर सप्लाइ साइट नै कमजोर हुँदा आइपीओले ड्राइभ गरिरहेको हो। अझै बजारमा यही अवस्था रहने देखिन्छ,’ एक विश्लेषकले भने।

बजरमा आइपीओ निष्कासन गरेको केही समय कम्पनीको सेयर मूल्य उचालिने र नाफा बुक गरेपछि ओरालो लाग्ने गरेको छ। कम्पनीको कारोबारमा आउने साधारण सेयरले नै समग्र इन्डेक्सलाई समेत लतमाथि देखाउने गरेको छ।