काठमाडौं। कान्तिपुर सेभिङ एण्ड क्रेडिट सहकारीका पूर्वअध्यक्ष चन्द्रबहादुर तामाङ (सिबी लामा) ले एक अर्ब रुपैयाँ सम्पत्ति शुद्धीकरण गरेको खुलेको छ।
जिल्ला अदालत काठमाडौंमा लामाविरुद्ध ९९ करोड ८० लाख ४८ हजार रुपैयाँ बराबरको रकम सम्पत्ति शुद्धीकरण गरेको भन्दै मुद्दा दायर भएको छ। प्रहरीले बैंकिङ कसुर अभियोगमा २०८१ जेठमा उनलाई पक्राउ गरेको थियो।
सहकारी मुद्दामा पक्राउ परेका उनीविरुद्ध बैंकिङ कसुरमा पनि अनुसन्धान गरिएको थियो। आफ्नो बचत फिर्ता नपाएपछि कान्तिपुर सहकारीका ८५२ जना बचतकर्ताले प्रहरीमा उजुरी दिएका थिए। अनुसन्धानपछि एक अर्ब ५१ करोड ५२ लाख रुपैयाँ अपचलन गरेको भन्दै सहकारीका अध्यक्ष हिमालयन विक्रम मल्ल ठकुरी र लामासहित ११ जनालाई प्रतिवादी बनाइएको थियो। जिल्ला अदालत काठमाडौंले लामालाई पुर्पक्षको लागि थुनामा राखेको छ।
ठगीमा आफू तथा परिवारका सदस्य संलग्न गराई अस्पताल, कलेज तथा विभिन्न कम्पनीमा लगानी गरेको अनुसन्धानमा खुलेको थियो।
सम्पत्ति शुद्धीकरण निवारण ऐनको व्यवस्था अनुसार ठगी गरेको रकम लगानी गरेका कम्पनीबाट बिगो भराउन समेत मुद्दामा माग गरिएको छ। अर्का अध्यक्ष ठकुरीविरुद्ध पनि ३४ करोड बिगोसहित सम्पत्ति शुद्धीकरणमा मुद्दा दायर भएको छ।