BIZMANDU
www.bizmandu.com

अकुत सम्पत्ति छानबिनमा सहसचिव झलकरामको फेला पर्‍यो घुसको कसुर, ‘यो त बोनसको मुद्दा’

२०८२ चैत्र १

अकुत सम्पत्ति छानबिनमा सहसचिव झलकरामको फेला पर्‍यो घुसको कसुर, ‘यो त बोनसको मुद्दा’
अकुत सम्पत्ति छानबिनमा सहसचिव झलकरामको फेला पर्‍यो घुसको कसुर, ‘यो त बोनसको मुद्दा’


काठमाडौ। बागमती प्रदेश सरकार आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव रहेका झलकराम अधिकारीविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको छ।

Tata
GBIME

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ७० लाख रुपैयाँ बराबरको भ्रष्टाचार मुद्दा आइतबार दायर गरेको हो। राजस्व अनुसन्धान विभागमा महानिर्देशक हुँदा राजस्वको रकम मिलाइदिने भन्दै उनले घुस रकम बुझेको अनुसन्धानमा देखिएको छ।

अधिकारीले एचके इन्टरप्राइजेजलाई राजस्व चुहावटसम्बन्धी कसुरबाट जोगाउन त्यसका सञ्चालक श्रीकृष्ण श्रेष्ठबाट घुस लिएका थिए।

अधिकारीले विकास चापागाईँ, देवेन्द्र केसी र रवीन्द्र लामिछानेसँगको मिलेमतोमा उनीहरूको बैंक खातामा घुस रकम जम्मा गराउन लगाइ भक्तपुरको थिमी नगरपालिका स्थित दिव्यश्वरी आयोजनाभित्र ५ आना जग्गा किनेको पाइएको अख्तियारले जनाएको छ। रविन्द्रको नाममा जग्गा किनेका थिए। अधिकारी २०७९ असार १ देखि कात्तिक १६ गतेसम्म विभागको महानिर्देशक थिए।

अख्तियारले अधिकारीबारे गैरकानुनी सम्पत्ति आर्जन गरेको कसुरमा अनुसन्धान गरेको थियो। त्यही क्रममा घुस लिएको देखिएको हो।

‘मूल केस अर्कै छ। यो अनुसन्धान गर्दा फ्याट्ट देखियो। त्यसैले यसलाई मुद्दा दर्ता गरेको हो। अर्को केसमा अनुसन्धान जारी छ,’ अख्तियार स्रोतले भन्यो।

अधिकारी अवैध सुन प्रकरणमा समेत जोडिएका छन्। अध्यागमन विभागको महानिर्देशक रहँदा २०८० साउनमा भएको ६० किलो सुन तस्करी प्रकरणमा पनि अधिकारी जोडिएका थिए। सुन तस्करीका नाइके भनिएका दावा छिरिङसँग अधिकारीको सम्पर्क देखिएको थियो। त्यसै क्रममा केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी) ले उनीसँग कागज गरेको थियो।

सुन प्रकरणमा नाम मुछिएपछि गृह मन्त्रालयले महानिर्देशक अधिकारीलाई भदौ ७ गते जिम्मेवारीबाट हटाएको थियो।अधिकारी २०७९ फागुन १७ गतेदेखि विभागको महानिर्देशक थिए।

अख्तियारले करिब १ वर्षदेखि अधिकारीमाथि अनुसन्धान थालेको थियो। ‘अरूको नाममा सम्पत्ति राखेको देखिन्छ। त्यसैको आधारमा अनुसन्धान भइरहेको छ,’ स्रोतले भन्यो।