BIZMANDU
www.bizmandu.com

आयल निगमलाई इरान युद्धले १५ दिनमै ४ अर्ब नोक्सानी, डिजल/पेट्रोलमा लिटरमै ५० रुपैयाँसम्म घाटा

२०८२ चैत्र १

आयल निगमलाई इरान युद्धले १५ दिनमै ४ अर्ब नोक्सानी, डिजल/पेट्रोलमा लिटरमै ५० रुपैयाँसम्म घाटा
आयल निगमलाई इरान युद्धले १५ दिनमै ४ अर्ब नोक्सानी, डिजल/पेट्रोलमा लिटरमै ५० रुपैयाँसम्म घाटा

काठमाडौं। इरान-इजरायल युद्धसँगै अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य अकासिँदा नेपाल आयल निगमलाई १५ दिनमै करिब चार अर्ब रुपैयाँ नोक्सानी हुने भएको छ।

Tata
GBIME
Nepal Life

इन्डियन आयल कर्पोरेसन (आइओसी)ले आइतबार पठाएको नयाँ मूल्य अनुसार निगमलाई डिजलमा लिटरमै ५० रुपैयाँ र पेट्रोलमा लिटरमा ३५ रुपैयाँ नोक्सानी हुने भएको हो।

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री अनिल सिन्हाले भारतबाट आएको नयाँ मूल्यका कारण इन्धनको मूल्य बढाउन छलफल भइरहेको जानकारी दिए।

‘अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेको छ। निगम त्यसबाट टाढा रहन सक्दैन,’ उनले बिजमाण्डूसँग भने, ‘निगमको व्यवस्थापन टिमले विश्लेषण गरिरहेको छ। निगमको कोषबाट कति लिने र भाउ कति बढाउने भन्ने निर्क्योल हुँदैछ।’

निगमका एक कर्मचारीका अनुसार भारतबाट आएको नयाँ मूल्य डरलाग्दो छ।

‘इरान युद्धसँगै अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य एक ब्यारलको सय डलर भन्दा बढी पुगिसकेको छ। त्यो अनुसार आइओसीले पठाएको नयाँ मूल्य डरलाग्दो छ,’ निगमका एक कर्मचारीले बिजमाण्डूसँग भने, ‘नयाँ मूल्यसँगै कसरी अगाडि बढ्ने भन्नेबारेमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा छलफल चलिरहेको छ।’

उनका अनुसार नयाँ मूल्य अनुसार समायोजन गर्न सकिने अवस्था अत्यन्तै कम छ। तत्कालका लागि निगमसँग रहेको मूल्य स्थिरीकरण कोषको रकम प्रयोग गरेर जनतालाई मूल्यको धेरै भार कम गर्ने विकल्पमाथि छलफल भइरहेको उनले बताए।

‘प्रतिनिधि सभाको निर्वाचन सकिएर नयाँ सरकार गठनको प्रक्रिया अगाडि बढिरहेको छ। यस्तो बेलामा पेट्रोलियम मूल्यले हामीजस्तो अल्पविकसित मुलुकको मुटु हल्लाउने अवस्था आएको छ,’ ती कर्मचारीले भने, ‘मूल्य स्थिरीकरण कोषमा करिब १९ अर्ब रुपैयाँ छ। तर, १५ दिनपछि पनि अहिलेको जस्तै मूल्य आएमा त्यो पैसा दुई महिनामै सकिन्छ। त्यही भएर हामीले केही मूल्य बढाएर भए पनि पैसा जोगाउनुपर्नेछ।’

पेट्रोलियम पदार्थ विदेशबाट आयात गरिने भएकाले मूल्य घटबढमा आफ्नो कुनै भूमिका नहुने निगमको भनाइ छ। ‘पेट्रोलियम पदार्थ सबै विदेशबाट आयात गर्नुपर्ने भएकाले अन्तर्राष्ट्रिय बजारमा हुने घटबढले हामीलाई असर गर्छ,’ निगमका ती कर्मचारीले भने, ‘आमजनता सचेत भइसकेकोले पनि पेट्रोलियम पदार्थको मूल्यमा राजनीति हुँदैन भन्ने हाम्रो विश्वास छ।’

ती कर्मचारीका अनुसार अहिले मूल्यमा राजनीति होइन विद्युतीय ऊर्जामार्फत देश र आफूलाई जोगाउने बेला आएको छ। ‘पेट्रोलियम पदार्थको मूल्यमा राजनीति हुन छाडेको केही वर्ष भयो। यो विश्वकै कठिन बेला हो,’ उनले भने, ‘हामीले पनि खाना पकाउनका लागि इन्डक्सन र पेट्रोलको विकल्पका सवारी साधनतिर ध्यान दिनुपर्छ भने खपत घटाउन सक्ने अरु आधार पनि छन्। त्यसलाई अवलम्बन गर्नुपर्छ।’

भारतले पठाएको बढेको मूल्य अनुसार निगमले चुनावका कारण फागुनमा भाउ समायोजन गरेको थिएन। फागुनमा भारतबाट आएको मूल्य समायोजन नगर्दा निगमलाई १५ दिनमा ५२ करोड घाटा भएको थियो। फागुन १६ गते आइओसीबाट पेट्रोलको भाउ प्रति लिटर २.०९ र डिजलको मूल्य प्रति लिटर २.४७ रुपैयाँ बढेर आएको थियो।

यस्तै एलपी ग्यासको मूल्य प्रति सिलिन्डर १८.५८ रुपैयाँ र हवाई इन्धनको मूल्य प्रति लिटर ५.९८ रुपैयाँ बढेर आएको थियो। तर, निगमले चुनावको समय भनेर मूल्य यथावत राखेको थियो।

केही वर्ष अगाडि सुरु भएको रुस र युक्रेन युद्धमा पनि निगम आर्थिक रुपमा ठूलो घाटामा गएको छ। निगमले त्यतिबेला आइओसीको बक्यौता तिर्न सरकारसँग ऋण लिनुपरेको थियो। टेकुमा भएको आफ्नो जग्गा समेत बैंकमा राखेर ऋण लिएको निगम केही वर्षदेखि कम्फर्टेबल अवस्थामा थियो।