काठमाडौं। सरकारले राष्ट्रिय सभा सदस्यमा गृहमन्त्री ओमप्रकाश अर्यालको नाम सिफारिस गरेको छ।
प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बसेको मन्त्रिपरिषद् बैठकले गृहमन्त्री अर्यालको नाम सिफारिस गरेको हो। मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले राष्ट्रिय सभामा तीन सदस्य मनोनीत गर्ने व्यवस्था रहेकामा अहिले एक पद रिक्त छ।
नेपाली कम्युनिष्ट पार्टीका वामदेव गौतमको कार्यकाल फागुन तेस्रो साता सकिएका कारण रिक्त रहेको पदमा मन्त्रिपरिषद्ले अर्यालको नाम सिफारिस गरेको हो।
राष्ट्रपति रामचन्द्र पौडेलले आफ्नी छोरी संज्ञा पोखरेललाई मनोनीत गर्न चाहेका थिए। यस्तै कानुनमन्त्री अनिलकुमार सिन्हाले पनि प्रधानमन्त्री सुशीला कार्कीलाई राष्ट्रिय सभा सदस्य हुने इच्छा जाहेर गरेका थिए।
राष्ट्रिय मानवअधिकार आयोगको सदस्यबाट गत भदौ अन्तिम साता राजीनामा दिएका डा. सूर्य ढुंगेलदेखि अख्तियारका पूर्वआयुक्त किशोर सिलवालले पनि राष्ट्रिय सभामा जान जोडबल गरेका थिए।

तर प्रधानमन्त्री कार्कीले फागुन २१ गते निर्वाचन गराउन मुख्य भूमिका निर्वाह गरेको भन्दै अर्याललाई मनोनीत गर्न सिफारिस गर्ने निर्णय गरेकी हुन्। आफूलाई मनोनीत गर्न सिफारिस गर्ने बैठकमा अर्याल पनि सहभागी थिए।