BIZMANDU
www.bizmandu.com

नयाँ सरकारलाई अप्ठेरोमा पार्दै हितेन्द्रदेव, उच्च माग हुने समयका लागि छैन ट्रान्सफर्मर

२०८२ चैत्र १

नयाँ सरकारलाई अप्ठेरोमा पार्दै हितेन्द्रदेव, उच्च माग हुने समयका लागि छैन ट्रान्सफर्मर
नयाँ सरकारलाई अप्ठेरोमा पार्दै हितेन्द्रदेव, उच्च माग हुने समयका लागि छैन ट्रान्सफर्मर


काठमाडौं। नेपाल विद्युत प्राधिकरणले समयमा ट्रान्सफर्मर किन्न नसक्दा बिजुली आपूर्तिमा गडबडी हुने जोखिम बढेको छ। उच्च माग हुने समय नजिकिंदा प्राधिकरण ट्रान्सफर्मरविहीन अवस्थामा पुगेको छ।

GBIME
Tata

प्राधिकरणले ट्रान्सफर्मर किन्न गरेको ढिलासुस्तीका कारण अब बन्ने नयाँ सरकार नै अप्ठेरोमा पर्ने स्थिति देखिएको छ। चैत लागेपछि ट्रान्सफर्मरको खपत बढ्छ। गर्मीयाममा खासगरी तराई क्षेत्रमा एसी र फ्यानको प्रयोग उल्लेख्य बढ्ने हुँदा बिजुलीको माग धान्न नसकेर ट्रान्सफर्मर बिग्रिने समस्या आउँछ।

‘चैत लागेपछि तराईमा एसी र फ्यान चलाउन बिजुलीको माग बढ्छ। जसले गर्दा ट्रान्सफर्मर सर्ट हुने समस्या बढ्छ। कहिलेकाहिं दिनमै १५/२० वटा नै सर्ट भएको उदाहरण छ। त्यसैले ट्रान्सफर्मर स्टक हुनैपर्छ। नभए बिजुली दिन सकिंदैन,’ प्राधिकरणका एक कर्मचारीले भने।

प्राधिकरणका अर्का कर्मचारीका अनुसार मासिक औसतमा डेढ सयको संख्यामा ट्रान्सफर्मर आवश्यक पर्नेमा चैत लागेपछि त्यो संख्याले पुग्दैन।

‘गर्मीको समयलाई ख्याल गरी पहिले नै ट्रान्सफर्मरको जोहो गर्नुपर्ने हो। तर, अहिले प्राधिकरणको हेटौंडास्थित मुख्य भण्डारण स्थलमै ट्रान्सफर्मर स्टक छैन,’ ती कर्मचारीले भने, ‘समयमा ट्रान्सफर्मर नकिन्दाको भारी नयाँ सरकारले बोक्नुपर्ने देखिन्छ। किनभने गर्मीमा बिजुलीको माग बढेर ट्रान्सफर्मर पड्किने समस्या बढ्छ। स्टक नरहेका कारण हामीले बिग्रिएका ट्रान्सफर्मरलाई कसरी प्रतिस्थापन गर्ने?’

प्राधिकरणको केन्द्रीय स्टोरमा अहिले २५, ५० र १०० केभीका ट्रान्सफर्मर एउटै छैनन्। २०० केभी क्षमताको ट्रान्सफर्मर एकदमै कम संख्यामा छ।

‘केन्द्रीय स्टोर कार्यालयमा २५, ५० र १०० केभीका ट्रान्सफर्मरको स्टक छैन। प्रादेशिक कार्यालयमा भए/नभएको हामीलाई थाहा भएन,’ एक कर्मचारीले भने, ‘खरिद गरेको ट्रान्सफर्मर कहिले आउँछ भन्ने पनि निश्चित छैन।’

प्राधिकरणले ट्रान्सफर्मर खरिदका लागि गत साउन २७ गते टेण्डर आह्वान गरेको थियो। तर, अहिलेसम्म खरिद गरिएको छैन। ट्रान्सफर्मर अभावका कारण विद्युतीकरणको काम प्रभावित भएको छ भने चार्जिङ स्टेसन विस्तारको काम रोकिएको छ।

प्राधिकरणका कर्मचारीहरू कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले ट्रान्सफर्मर अभावका कारण निम्तिने जोखिमलाई गम्भीर रुपमा नलिएको बताउँछन्।

प्राधिकरणको वितरण तथा ग्राहक सेवा निर्देशनालयका उपकार्यकारी दीर्घायुकुमार श्रेष्ठले भने ट्रान्सफर्मर खरिदका लागि यसअघि नै सम्झौता भइसकेकाले अब केही दिनमै आपूर्ति हुने र अप्ठेरो नपर्ने बताए।

‘हामीले २५ र ५० केभीका ट्रान्सफर्मर खरिदका लागि यसअघि नै सम्झौता गरेकाले अब केही समयभित्र नै आइहाल्छ,’ श्रेष्ठले भने, ‘१०० र २०० केभीका ट्रान्सफर्मर पनि खरिदको चरणमा छ। त्यसका लागि कम्पनीलाई एलओई दिइसकेका छौं।’

प्राधिकरणका खरिद विभागका प्रमुख दामोदर पराजुलीका अनुसार २५ र ५० केभी क्षमताका २५०/२५० वटा ट्रान्सफर्मर खरिदका लागि नेपाली कम्पनी निकसँग सम्झौता गरिएको छ।

‘हामीसँग २५ र ५० केभी क्षमताका ट्रान्सफर्मरको स्टक सकिएकाले जतिसक्दो छिटो किन्ने गरी काम भइरहेको छ,’ पराजुलीले भने, ‘निकले अब चाँडै उपलब्ध गराउँछु भनेको छ।’

उनका अनुसार प्राधिकरणले १०० र २०० केभीका ट्रान्सफर्मर खरिदका लागि जाङ्छी हङ इलेक्ट्रिक पावर इक्विपमेन्ट कम्पनीलाई एलओई दिएकामा अब ठेक्का सम्झौता गर्ने तयारी छ।

प्राधिकरणले साउनमा गरिएको टेण्डरअनुसार ट्रान्सफर्मर आपूर्ति नहुँदै थप ट्रान्सफर्मर खरिदको प्रक्रिया अगाडि बढाएको छ।

प्राधिकरणले २५ केभीका १०० वटा, ५० केभीका २०० वटा, १०० केभीका ३०० वटा, २०० केभीका २०० वटा र ३०० केभीका १०० वटा ट्रान्सफर्मर खरिदको प्रक्रिया अगाडि बढाएको हो।