BIZMANDU
www.bizmandu.com

नेपाल-भारत उद्योग वाणिज्य संघको स्टार्टअप राउण्ड टेबल : इकोसिस्टम कसरी हुने उद्यममैत्री?

२०८२ फागुन ३०

नेपाल-भारत उद्योग वाणिज्य संघको स्टार्टअप राउण्ड टेबल : इकोसिस्टम कसरी हुने उद्यममैत्री?
नेपाल-भारत उद्योग वाणिज्य संघको स्टार्टअप राउण्ड टेबल : इकोसिस्टम कसरी हुने उद्यममैत्री?

काठमाडौं। नेपाल–भारत उद्योग वाणिज्य संघले काठमाडौंमा ‘स्टार्टअप संवाद राउन्ड-टेबल’ आयोजना गर्दै नेपालका स्टार्टअप क्षेत्रले भोगिरहेका चुनौती र सम्भावनाबारे छलफल गरेको छ।

Tata
GBIME
Nepal Life

काठमाडौंमा शुक्रबार आयोजित कार्यक्रममा उदीयमान उद्यमी, शैक्षिक क्षेत्रका प्रतिनिधि तथा उद्योग क्षेत्रका विज्ञहरूले नेपालमा स्टार्टअपको वास्तविक अवस्था र आवश्यक नीतिगत सुधारबारे बहस गरे। संघको स्टार्टअप तथा प्राइभेट इक्विटी समितिका संयोजक तथा उपाध्यक्ष कुणाल कायलको अध्यक्षतामा भएको उक्त कार्यक्रम युवाहरूको विदेश पलायन घटाउँदै देशमै उद्यमशीलता वातावरण सुदृढ बनाउने उद्देश्यले आयोजना गरिएको बताइएको छ।

छलफलका क्रममा उद्यमीहरूले स्टार्टअपको विकासमा संरचनागत अवरोधहरू अझै कायम रहेको बताएका थिए। विशेषगरी परीक्षण प्रयोगशाला, अनुसन्धान पार्क तथा आवश्यक पूर्वाधारको अभावले नवप्रवर्तनमा आधारित उद्यमहरूलाई अघि बढ्न कठिन भएको उनीहरूको भनाइ थियो।

एग्रो रेंज नेपालका सुवास पाण्डे र दियो एआईका विजय भट्टराईले सरकारी खरिद प्रक्रियामा स्वदेशी उत्पादनभन्दा आयातित सामग्रीलाई प्राथमिकता दिने प्रवृत्ति रहेको उल्लेख गर्दै स्थानीय नवप्रवर्तनलाई प्राथमिकता दिने नीतिगत व्यवस्था आवश्यक रहेको बताए।

यसैगरी उद्यमीहरूले अन्तर्राष्ट्रिय भुक्तानी प्रणाली प्रयोग गर्न कठिनाइ हुने, वैदेशिक लगानी भित्र्याउने प्रक्रिया जटिल रहेको तथा बौद्धिक सम्पत्ति अधिकार र पेटेन्ट संरक्षणलाई अझ सुदृढ बनाउनुपर्ने आवश्यकता औंल्याए। अन्तरिक्ष प्रविधिसम्बन्धी परियोजनाका लागि आवश्यक विशेष सामग्री आयात गर्न कठिन हुनेदेखि सूचना प्रविधि सेवाहरूलाई अझै ‘लक्जरी’ सेवा जस्तो बुझिने मानसिकता परिवर्तन गर्नुपर्ने धारणा पनि कार्यक्रममा राखिएको थियो।

कार्यक्रममा संघका उपाध्यक्ष गौरव तयालले नेपालमा प्रतिभाशाली नवप्रवर्तनकर्ताहरूको ठूलो सम्भावना रहेको उल्लेख गर्दै उनीहरूलाई संरचित मार्गदर्शन, लगानीको पहुँच र सरल ‘एक्जिट’ व्यवस्था आवश्यक रहेको बताए।

काठमाण्डु विश्वविद्यालय स्कूल अफ म्यानेजमेन्टकी रोशी लमिछाने, नेपाल उद्योग वाणिज्य महासंघका स्टार्टअप समितिका संयोजक जुना माथेमा र नेपाल उद्योग परिसंघका स्टार्टअप समितिका संयोजक अनुराग गोयल लगायतले स्टार्टअप इकोसिस्टमबारे टिप्पणी गरेका थिए। उनीहरूका अनुसार विभिन्न संस्थामा इनक्युबेसन कार्यक्रम भए पनि ती एकीकृत नहुँदा समग्र प्रणाली प्रभावकारी बन्न सकेको छैन।

स्टार्टअप समितिका सदस्य सन्दीप कामतले सिंगापुर र बेंगलुरुका सफल स्टार्टअप इकोसिस्टमको उदाहरण दिँदै नेपालले विदेशमा रहेका नेपाली विशेषज्ञहरूको अनुभव उपयोग गर्दै शैक्षिक संस्था र उद्योग क्षेत्रबीच बलियो सहकार्य निर्माण गर्नुपर्ने बताए।

आध्यन्ताका निश्चल सिंह भण्डारीले स्टार्टअपहरूमा ‘इन्भेस्टमेन्ट रेडिनेस’ को अभाव रहेको उल्लेख गर्दै धेरै उद्यमले लगानी आकर्षित गर्नुअघि आफ्नो वित्तीय संरचना र व्यवसायिक तयारी सुधार गर्नुपर्ने आवश्यकता औंल्याए।

कार्यक्रमको समापनमा संयोजक कुनाल कायलले छलफलबाट आएका सुझावलाई नीतिगत तहसम्म पुर्‍याउने प्रतिबद्धता व्यक्त गरे। उनले नेपाल–भारत व्यापारिक सहकार्यलाई थप सुदृढ बनाउँदै नेपाली स्टार्टअपलाई विस्तार गर्न संघले सहजीकरण जारी राख्ने बताए।

कार्यक्रममा सहभागी स्टार्टअपहरूले हालै भारत सरकारद्वारा भारतको आइआइटी मद्राससमा आयोजित विशेष तालिम तथा मेन्टरशिप कार्यक्रममा सहभागिता जनाएका थिए।