BIZMANDU
www.bizmandu.com

सेयर बजारमा लगानीका नयाँ उपकरणको खोजी, कानुन संशोधन गर्न अध्ययन गर्दै सेबोन

२०८२ फागुन २८

सेयर बजारमा लगानीका नयाँ उपकरणको खोजी, कानुन संशोधन गर्न अध्ययन गर्दै सेबोन
सेयर बजारमा लगानीका नयाँ उपकरणको खोजी, कानुन संशोधन गर्न अध्ययन गर्दै सेबोन


काठमाडौं। नेपाल धितोपत्र बोर्ड(सेबोन)ले सेयर बजारमा लगानीका लागि नयाँ उपकरण ल्याउनका लागि कानुनी व्यवस्था गर्न लागेको छ।

Tata
GBIME

सेबोनले लगानी विविधिकरण गर्न बजारमा नयाँ उपकरणका रुपमा इन्ट्रा डे, सर्ट सेलिङ, इक्विटी डेरिभेटिभ्स र सेक्युरिटी ल्यान्डिङ एण्ड बरोइङ सञ्चालन ल्याउने गरी कानुन संशोधन गर्न लागेको हो। यसका लागि सेबोनले समिति बनाएको छ।

सेबोनका कार्यकारी निर्देशक रुपेश केसीको संयोजकत्वमा बनाइएको समितिले संशोधन गर्नपर्ने विषयबारे अध्ययन गरिरहेको छ।

‘बजारमा लगानीकर्तालाई नयाँ विकल्प दिने गरी थप उपकरण भित्र्याउने तयारीस्वरुप समितिले अध्ययन गरिरहेको छ,’ सेबोन स्रोतले भन्यो, ‘समितिले नयाँ उपकरण सञ्चालनमा ल्याउनका लागि विद्यमान कानुनमा गर्नुपर्ने संशोधनबारे अध्ययन गरेर प्रतिवेदन बुझाउनेछ। प्रतिवेदन पेस भएपछि कानुन संशोधनको प्रक्रिया अगाडि बढ्नेछ।’

अर्थमन्त्री रामेश्वर खनालले गत असोज पहिलो साता सेयर बजार सुधारका लागि बनाएको कार्यदलले लगानीको नयाँ उपकरण भित्र्याउन सुझाव दिएको थियो। कार्यदलको संयोजक केसी नै थिए। अर्थ मन्त्रालय र नेपाल राष्ट्र बैंकका प्रतिनिधि पनि कार्यदलमा थिए।

कार्यदलले पेस गरेको प्रतिवेदन कार्यान्वयनका लागि अर्थ मन्त्रालयले यसअघि नै सेबोनमा पठाएको थियो। सेबोनले तत्काल गर्ने कामको कार्ययोजना बनाए पनि अरु कार्यान्वयनमा ल्याएको छैन। सेबोनले अहिले केसीकै संयोजकत्वमा समिति बनाएर प्रतिवेदनपछि कानुन संशोधन अघि बढाउन लागेको हो।

सेयर बजारमा अहिले लगानीकर्तालाई लगानीका वैकल्पिक उपकरण छैनन्। बजारमा अहिले लगानीकर्ताले एकैदिन किनेको सेयर उही दिन बेच्न पाउँदैनन्।

इन्ट्रा डे सञ्चालनमा ल्याउँदा बजारमा लगानीकर्ताले एकैदिन सेयर खरिद बिक्री गर्न सक्छन्। यसले बजारमा सेयर कारोबार बढ्ने, सक्रिय कारोबारले तरलता बढाउने तथा सेयर मूल्य निर्धारण थप प्रभावकारी हुने विश्लेषकहरुले बताउँदै आएका छन्। इन्ट्रा डे कारोबारले सेयर मूल्यमा हुने उतारचढाव समेत कम हुने लगानीकर्ताको विश्वास छ।

मर्चेन्ट बैंकर्स एसोसियसन अफ नेपालका अध्यक्ष रामेन्द्र रायमाझी इन्ट्रा डे लगायत उपकरणले लगानीकर्तालाई लगानीको थप अवसर दिने बताए।

‘इन्ट्रा डे कारोबारले बजारमा लगानी लिक्विड हुन्छ। यसले बजारका लागि लिक्विडिटी दिन्छ। हाम्रोजस्तो देशमा कसैले इन्भेष्टमेन्ट गरेर छोटो अवधिमा प्रोफिट गर्न चाहन्छ भने त्यसका लागि इन्ट्रा डेले लगानीको अवसर दिन्छ। इन्ट्रा डे इन्भेष्टमेन्ट उच्च जोखिम भएको विषय पनि हो,’ रायमाझीले भने, ‘यसका लागि नीतिगत व्यवस्था नै चाहिन्छ। राफसाफको पूर्वाधारदेखि इन्भेष्टरको मापदण्ड समेत चाहिन्छ। किनभने इन्ट्रा डेमा उच्च जोखिम हुन्छ। यो जोखिमरहित उपकरण होइन।’

सर्ट सेलिङले लगानीकर्तालाई आफूसँग नभएको सेयर पहिले बिक्री गर्ने र पछि किन्ने उपकरण दिन्छ। त्यस्तै, इक्विटी डेरिभेटीभ्समा लगानीकर्ताले सेयरको मूल्यमा आधारित कन्ट्र्याक्ट गरेर कारोबार गर्न पाउँछन्।

सेक्युरिटी ल्यान्डिङ एण्ड बरोइङको व्यवस्था गर्दा लगानीकर्ताले आफूसँग भएको सेयर ऋण दिएर थप आम्दानी गर्ने अवसर पाउन सक्छन्। अर्कातिर सर्ट सेलिङ तथा कारोबारको राफसाफ गर्नुपर्ने लगानीकर्ताले सेक्युरिटी ऋण लिन सक्छन्।

सेबोनका पूर्वकार्यकारी निर्देशक निरज गिरी लगानीकर्तालाई बजारमा लगानीका छनोट उपलब्ध गराउन अहिलेका कानुन संशोधन गरेर त्यस्ता उपकर परिभाषित गर्नुपर्ने आवश्यकता रहेको बताउँछन्।

‘जति पनि नयाँ उपकरण छन्, तिनलाई सञ्चालनमा ल्याउन सेबोनले कानुन संशोधन गरेर डिफाइन गरिदिनुपर्छ। कारोबार नियमावली र विनियमावली लगायत कानुनमा संशोधन गरे कार्यान्वयनमा ल्याउने बाटो खुल्छ,’ उनले भने, ‘सेयर बजारभित्रै कारोबारका लागि लगानीकर्तालाई लगानीको छनोट उपलब्ध हुन्छ। कोही लगानीकर्ता रिस्क लिन चाहन्छन्। उनीहरुले कारोबारको अप्सन पाउँछन्। अर्कातिर बजारमा कारोबारको आकार र तरलता बढ्छ।’

सेबोनले कानुन संशोधन गरेपछि नेप्से र सीडीएससीलाई इन्ट्रा डे,सर्ट सेलिङ, इक्विटी डेरिभेटीभ्स र सेक्युरिटी लेन्डिङ बरोइङ उपकरण सञ्चालनमा ल्याउन बाटो खुल्छ।