काठमाडौं। अटो व्यवसायीहरुको संगठन नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपालको नवनिर्वाचित कार्यसमितिले बिहीबार सपथग्रहण गरेको छ। बुधबार पाटन उच्च अदालतले नाडाको निर्वाचन प्रक्रिया बदर सम्बन्धी रिट खारेज गरेपछि नयाँ कार्यसमितिले सपथ लिएको हो।
अदालतमा रिट दायर भएपछि निर्वाचन प्रक्रिया सकिए पनि सपथ रोकिएको थियो। पुस १७ गते नाडाको कार्यसमिति निर्विरोध चयन भएको थियो। पुस २५ गते सपथको कार्यक्रम तय भए पनि अदालतमा रिट दायर भएपछि रोकिएको थियो। रिट खारेजसँगै नयाँ निर्वाचित कार्यसमितिलाई सपथ र कार्यभार सम्हाल्ने कानुनी बाटो खुलेको हो।
अदालतको आदेशपछि बिहीबार सपथको कार्यक्रम सम्पन्न भएको नाडाका अध्यक्ष सुरेन्द्र उप्रेतीले बताए। नाडाको केन्द्रीय कार्यसमितिको पहिलो बैठकमा नाडाका निवर्तमान अध्यक्ष करण चौधरीले नवनिर्वाचित अध्यक्ष उप्रेतीलाई आफ्नो पदभार हस्तान्तरण गरेका हुन्।
उप्रेतीले नाडाको उद्देश्य, विधान तथा मूल्य मान्यताहरु अनुरुप संस्थालाई अझ सशक्त, सक्रिय तथा प्रभावकारी बनाउने बताए। सम्पूर्ण सदस्य व्यवसायीहरुको हित संरक्षण, अटोमोबाइल क्षेत्रको विकास तथा सम्बन्धित सरोकारवाला निकायहरुसँग सहकार्य गर्दै अघि बढ्ने पनि उनले बताएका छन्।
कार्यसमिति सदस्यहरुमा व्यक्तिगत तर्फबाट विक्रम सिंहानिया, दीपेन्द्रकुमार मिश्रा, मेघराज पौडेल, नारायणप्रसाद पौडेल, अनुपकुमार बराल, अभिक ज्योति, पंकज अग्रवाल, निलमणि पाठक, नवीनकुमार परख, विमल साह, दिवाकर मिश्रा, दीपकराज गिरी, नवराज भुषाल, तोयानाथ खनाल, मिलनबाबु मल्ल, प्रकाश कपुरी र विकास जोशीले सपथ लिएका छन्।
अध्यक्ष उप्रेतीले नाडा विधान २०७८ को दफा २०.१ को ‘ङ’ बमोजिम महेश पाल, दीपककुमार अग्रवाल तथा राजेश गिरीलाई नाडाको केन्द्रीय कार्यसमितिको सदस्य पदमा मनोनयन गरेका छन्।
त्यसैगरी, संस्थागततर्फ सातै प्रदेशका डिल्लीराज आचार्य (मोरङ), केदारकुमार अग्रवाल (जानकी), दामोदर प्रसाद अटल (हेटौंडा), दीपेन्द्र कोइराला (पश्चिमाञ्चल), गणेशप्रसाद भट्टराई (लुम्बिनी), भद्र भण्डारी (कर्णाली) र पुस्करराज ओझा (सुदूरपश्चिम) ले सपथ लिएका छन्।