काठमाडौं। बैंक तथा वित्तीय संस्थाले निक्षेपमा दिने औसत ब्याजदरभन्दा मुद्रास्फीति (मूल्य वृद्धि) दर बढी भएपछि वास्तविक ब्याजदर ऋणात्मक भएको छ।
मुद्रास्फीति दर निक्षेपको ब्याजदरभन्दा ०.३२ प्रतिशत विन्दु बढी हुँदा वास्तविक ब्याजदर ऋणात्मक बनेको हो। यसलाई जानकारहरुले आर्थिक मन्दीको संकेत भनेका छन्।
नेपाल राष्ट्र बैंकले तथ्यांकअनुसार चालु आर्थिक वर्षको सात महिनामा बैंक तथा वित्तीय संस्थाले निक्षेपमा दिने औसत ब्याजदर २.९३ प्रतिशत रहेकामा मुद्रास्फीति दर ३.२५ प्रतिशत पुगेको छ।
मुद्रास्फीति दरभन्दा निक्षेपको ब्याजदर तल झर्नुलाई सकारात्मक मानिंदैन। वास्तविक ब्याजदर नेगेटिभ हुनु भनेको बचतकर्ताले बैंकमा पैसा राखेर पाउने ब्याजले मूल्यवृद्धि धान्न नसक्नु हो।
राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक एवं अर्थशास्त्री नरबहादुर थापा मूल्यवृद्धि भन्दा ब्याजदर कम हुनुले राम्रो संकेत नगर्ने बताउँछन्। ‘निक्षेपको ब्याजदर घट्दै आइरहेको छ। यता, खाद्यान्न, तरकारी लगायतको भाउ बढेको छ,’ उनले भने, ‘मूल्यवृद्धि बढ्ने र ब्याजदर निरन्तर घट्दा यसले वास्तविक ब्याजदर नकारात्मक देखिन गएको छ, यो राम्रो कुरा होइन।’
अर्थशास्त्री थापा वास्तविक ब्याजदर नकारात्मक हुनुले आर्थिक मन्दीको संकेत गरेको बताए। ‘निक्षेपको ब्याजदर भन्दा मुद्रास्फीति दर धेरै भएर वास्तविक ब्याजदर नकारात्मक देखिनु भनेको अर्थतन्त्रले राम्रो गर्न नसकेको ठहरिनु हो। यसले देश आर्थिक मन्दीतर्फ उन्मुख भएको संकेत गर्छ,’ उनले भने।
यस्तै, अन्तर्राष्ट्रिय परिस्थितिले पनि आगामी दिनमा मुद्रास्फीतिमा थप दबाब पर्ने सक्ने संकेत देखिएको छ। पश्चिम एसियामा बढ्दो तनावका कारण विश्व बजारमा कच्चा तेलको मूल्य उकालो लागिरहेको छ। यसले नेपालजस्तो आयातमा निर्भर मुलुकमा प्रत्यक्ष असर पर्छ। तेलको मूल्य वृद्धिले ढुवानी लागत बढ्ने भएकाले वस्तु तथा सेवा महँगिन्छ।
चालु आर्थिक वर्ष सरकारले मुद्रास्फीति दर साढे ५ प्रतिशतमा राख्ने लक्ष्य लिएको छ। पहिलो पाँच महिनामा २ प्रतिशत भन्दा तल रहेको मुद्रास्फीति अहिले ३ प्रतिशत माथि पुगेको छ।
निक्षेको ब्याजदर भने माथि जाने अवस्था छैन। बैंक तथा वित्तीय संस्थाले कर्जाको माग सुस्त हुँदा लागत कम गर्न निक्षेपको ब्याजदर निरन्तर घटाउँदै आएका छन्। निक्षेपको ब्याजदरभन्दा मूल्य वृद्धि बढी हुनुले मानिसको क्रय शक्ति घटेको संकेत त गरेको छ नै, अनौपचारिक अर्थतन्त्र मौलाउने जोखिम पनि बढेको छ।
राष्ट्र बैंककै अधिकारीहरु बैंकमा राखेको पैसाबाट आउने प्रतिफल भन्दा महँगी बढी भएपछि निक्षेप प्रभावित हुने भयमा छन्। ‘क्रयशक्ति घट्दा जीवनस्तर तल झर्छ,’ राष्ट्र बैंकका एक अधिकारीले भने, ‘मानिसहरुले अब सुरक्षाका लागि मात्रै बैंकमा पैसा राख्ने भए, प्रतिफलका लागि राख्ने भएनन्। प्रतिफल नआएपछि निक्षेप निरुत्साहित भइ अनौपचारिक क्षेत्र मौलाउने हुन्छ।’
नेपालमा अहिले अनौपचारिक अर्थतन्त्रको हिस्सा ४० प्रतिशतभन्दा धेरै छ। अहिले मुद्दती निक्षेपको औसत ब्याजदर ५ प्रतिशत भए पनि बैंकहरुले साधारण बचतको ब्याजदर २.७४ र छोटो अवधिको मुद्दती निक्षेपको ब्याजदर ३ देखि ४ प्रतिशतमा झारेका छन्। नीतिगत व्यवस्थाका कारण ब्याजदर २.७५ प्रतिशत कमभन्दा तल झार्न पाइँदैन।