BIZMANDU
www.bizmandu.com

टक्सार पिखुवा खोला हाइड्रोको आइपीओ निष्कासन, वैदेशिक रोजगारलाई आवेदन खुला

२०८२ फागुन २७

टक्सार पिखुवा खोला हाइड्रोको आइपीओ निष्कासन, वैदेशिक रोजगारलाई आवेदन खुला
टक्सार पिखुवा खोला हाइड्रोको आइपीओ निष्कासन, वैदेशिक रोजगारलाई आवेदन खुला

काठमाडौं। टक्सार पिखुवा खोला हाइड्रोपावरले आइपीओ निष्कासन गरेको छ। कम्पनीले पहिलो चरणमा स्थानीय र वैदेशिक रोजगारीमा गएकाहरुका लागि बुधबारदेखि आइपीओ‌मा आवेदन खुलाएको हो।

Tata
GBIME
Nepal Life

कम्पनीले कुल निष्कासनको १० प्रतिशतले हुन आउने १२ करोड रुपैयाँ बराबरको १२ लाख कित्ता आयोजना प्रभावित क्षेत्रका स्थानीयलाई छुट्याएको छ। आयोजना प्रभावितका लागि छुट्याइएको सेयरमा भोजपुरका स्थानीयले आवेदन दिन पाउनेछन्।

स्थानीयलाई चैत ११ गतेसम्म आवेदन अवधि खुला रहनेछ। त्यस अवधिमा आवेदन नपरे ढिलोमा चैत २६ गतेसम्म आवेदन खुला रहने बिक्री प्रबन्धकले जनाएको छ।

यस्तै, ३ करोड ३० लाख ६ हजार ७०० रुपैयाँको ३ लाख ३ हजार ६७ कित्ता सेयर वैदेशिक रोजगारलाई छुट्याइएको छ। वैदेशिक रोजगारीमा गएकाले चैत १ गतेसम्म आवेदन दिन पाउनेछन्।

सामूहिक लगानी कोष र कर्मचारीलाई वितरण गरेपछि कम्पनीले दोस्रो चरणमा सर्वसाधारणलाई सेयर बिक्री गर्नेछ। टक्सार पिखुवा खोला हाइड्रोपावरले नेपाल धितोपत्र बोर्डबाट जारी पुँजी १ अर्ब २० करोड रुपैयाँको ३५.२६ प्रतिशतले हुन आउने ४२ करोड ३० लाख ६६ हजार रुपैयाँ बराबरको सेयर निष्कासन अनुमति पाएको छ।

कम्पनीले दोस्रो चरणमा सर्वसाधारणलाई २५ लाख १५ हजार ४५५ कित्ता सेयर निष्कासन गर्नेछ। टक्सार पिखुवा खोला हाइड्रोपावरको सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल छ।

८ मेगावाट विद्युत उत्पादन क्षमता भएको हाइड्रोपावरको लागत अनुमान १ अर्ब ८८ करोड रहेको कम्पनीको दाबी छ। कम्पनीले आइपीओ निष्कासन गर्नका लागि गराएको रेटिङमा केयर रेटिङ नेपालले केयरएनपी डबल बी प्लस इस्यूअर रेटिङ दिएको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको जनाउँछ।

आर्थिक वर्ष २०८१/८२ असारसम्म कम्पनीको प्रति सेयर आम्दानी ०.७२ रुपैयाँ ऋणात्मक छ। यस्तै, प्रति सेयर नेटवर्थ १००.७६ रुपैयाँ छ। कम्पनीले सञ्चित मुनाफा ५९ लाख २५ हजार रहेको जनाएको छ।