काठमाडौं। कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाघ गणना सुरु गरिएको छ।
शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज सँगै लालझाडी–मोहना संरक्षित क्षेत्र र डडेलधुराको जोगबुडामा स्वचालित क्यामेरा जडान गरी मंगलबार बाघ गणना सुरु गरिएको हो।
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका उपमहानिर्देशक वेदकुमार ढकाल, जिल्ला समन्वय समिति कञ्चनपुरका प्रमुख लगायतले स्वचालित क्यामेरा अन गरेर बाघ गणना सुरु गरे।
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका अनुसार बाघ गणनाका लागि शुक्लाफाँटा–लालझाडी–जोगबुडालाई दुई गुणा दुई किलोमिटरका २६० ग्रिडमा विभाजन गरिएको छ।

बाघ गणनाका लागि ५८० स्वचालित क्यामेरा जडान गरिनुका साथै ७७ जनाको प्राविधिक टोली खटिएको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जले जनाएको छ।
३०५ वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको शुक्लाफाँटा मुलुकमै थोरै क्षेत्रफलमा धेरै बाघ भएको निकुञ्ज हो। शुक्लाफाँटामा यसअघि ४३ वटा पाटेबाघ गणना गरिएको थियो।