BIZMANDU
www.bizmandu.com

व्यापार बढ्दै गएपछि बंगलादेश, श्रीलंका र माल्दिभ्सको मुद्रा सटही गर्ने तयारी, के हुन्छ फाइदा?

२०८२ फागुन २६

व्यापार बढ्दै गएपछि बंगलादेश, श्रीलंका र माल्दिभ्सको मुद्रा सटही गर्ने तयारी, के हुन्छ फाइदा?
Interview with Governor of Nepal Rastra Bank_ Mahaprasad Adhikari

काठमाडौं। व्यापार र पर्यटन बढ्दै गएपछि नेपाल राष्ट्र बैंकले श्रीलंका, बंगलादेश र मालदिभ्सका मुद्रालाई परिवर्त्य मुद्राको सूचीमा राख्ने अन्तिम तयारी गरेको छ।

Tata
GBIME
Nepal Life

राष्ट्र बैंकले श्रीलंकाली रुपी, बंगलादेशी टाका र माल्दिभियन रुफियालाई परिवर्त्य विदेशी मुद्राको सूचीमा सूचीकृत गर्न लागेको हो।

राष्ट्र बैंकले चालु वर्षको मौद्रिक नीतिको ११६ नम्बर बुँदामा बंगलादेश र श्रीलंका लगायत विदेशी मुद्राको कारोबार बढ्दै गएका मुलुकका मुद्रालाई परिवर्त्य विदेशी मुद्राको सूचीमा थप गर्दै लगिने छ भनेर उल्लेख गरेको थियो। त्यही अनुरुप माल्दिभ्स पनि थपेर राष्ट्र बैंकले सूची बढाउन लागेको हो।

राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले व्यापार र पर्यटन बढ्दै गएकाले सूचीकरण औपचारिक अर्थतन्त्रका लागि लाभदायक हुने बताएका छन्।

‘डलर नै सटही गरेर भुक्तानी हुनु पर्ने जुन व्यवस्था छ, त्यो वाध्यात्मक हुँदैन,’ उनले भने, ‘भारतमा अहिले हामीले भारुमै मालसामान किनिरहेका हुन्छौं। त्यस्तै गरी यी देशमा पनि गर्न सकिन्छ भन्ने लागेको छ।’

राष्ट्र बैंकको विदेशी विनिमय विभागले यी तीन मुद्राको आवश्यक अध्ययन सम्पन्न गरिसकेको छ। यसअघिका डेपुटी गभर्नरहरु घुमघाममा लागेकाले आवश्यक निर्णय हुन सकेको थिएन। अब नयाँ डेपुटी गभर्नर नियुक्त भएपछि औपचारिक निर्णय गर्ने योजनामा राष्ट्र बैंक छ।

राष्ट्र बैंकले यी मुद्राको खरिद दर र बिक्री दर निर्धारण गर्न भने बाँकी छ। डेपुटी गभर्नरहसितको समितिले आवश्यक छलफल गरेर निर्णय गरेपछि आधिकारिक सूचना जारी हुनेछ। त्यसपछि नेपालका बैंक तथा मनि चेञ्जरहरुले रुपी, टाका र रुफियाको सटही गर्नेछन्। अहिले यी देशका मुद्रा नेपालमा साटिँदैनन्।

डलर वा अन्य परिवर्त्य विदेशी मुद्राका रुपमा ल्याउनु पर्छ। राष्ट्र बैंकले यसरी बंगलादेश, श्रीलङ्का र माल्दिभ्सको मुद्रा सटही गरेर जम्मा भएको मुद्रा व्यवस्थापन गर्नु पर्ने हुन्छ।

ती मुद्रा सम्बन्धित देशले फिर्ता लिइदिने वा ती मुद्रामार्फत ती देशको व्यापारलगायतमा भुक्तानीमा प्रयोग गर्नु पर्छ। यसबाहेक ती मुद्रा अन्तर्राष्ट्रिय बजारमा लगानी गर्नु पर्ने हुन्छ। यी सबै तारतम्य राष्ट्र बैंकले लगभग मिलाइसकेको उच्च स्रोतले जानकारी दियो।

नेपालको विदेशी विनिमय (नियमन) ऐन २०१९ अनुसार, नेपाल राष्ट्र बैंकले सार्वजनिक सूचना प्रकाशन तथा प्रसारण गरी परिवर्त्य विदेशी मुद्राको रूपमा तोकेका जुनसुकै विदेशी मुद्रा परिवर्त्य विदेशी मुद्रा हुन्।

परिवर्त्यमा सूचीकृत भइसकेपछि ती मुद्रा नेपाली रुपैयाँमा साट्न सकिन्छ। यसबाहेक अन्तर्राष्ट्रिय व्यापार, लगानी, रेमिटेन्स, पर्यटन र वित्तीय कारोबारमा स्वीकार्य हुन्छ। उपलब्धताका आधारमा नेपाली बैंक तथा मनिचेञ्जरहरुले आफ्ना ग्राहकलाई ती मुद्रा नगदमै उपलब्ध गराउन पनि सक्छन्।

अहिले परिवर्त्य विदेशी मुद्राको सूचीमा अमेरिकी डलर, युरो, बेलायती पाउन्ड, जापानी येनलगायत २१ देशका मुद्रा सूचीकृत छन्। गत वर्ष मात्र राष्ट्र बैंकले ओमानी रियाललाई परिवर्त्य विदेशी मुद्राको सूचीमा राखेको थियो। त्यहाँ नेपालीहरु रोजगारीमा जाने तर पैसा भने हुन्डीमार्फत आउने भएपछि राष्ट्र बैंकले सूचीकरण गरेको थियो।

त्यसबेला खरिद र बिक्री मूल्यमा प्रस्ट नहुँदा केही समस्या आएको थियो। त्यही भएर यसपाली राष्ट्र बैंक सबै प्रकृया पूरा गरेर बंगलादेश, श्रीलंका र माल्दिभ्सको मुद्रालाई परिवर्त्यमा सूचीकरण गर्ने तयारीमा छ।