काठमाडौं। राष्ट्रिय सभाका १८ नयाँ सांसदहरुले सोमबार पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन्। निर्वाचन गत माघ ११ गते सम्पन्न भएको थियो।
त्यसमा निर्वाचित सांसदहरूलाई सिंहदरबारस्थित कानुन न्याय तथा मानव अधिकार समितिको हलमा राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले पद तथा गोपनीयताको सपथ गराएका हुन्।
राष्ट्रिय सभामा पछिल्लोपटक निर्वाचित हुनेमा कोशी प्रदेशबाट सुनिलबहादुर थापा, रोशनी मेचे र सोम पोर्तेल छन्। मधेश प्रदेशबाट महन्थ ठाकुर, धमेन्द्र पासवान, रञ्जित कर्ण र रेखा झा छन्।

यस्तै वाग्मतीबाट गीता देवकोटा र प्रेम दंगाल छन् भने गण्डकीबाट जगत तिमिल्सिना र सम्झना देवकोटा छन्। लुम्बिनीबाट रामकुमारी झाँक्री, वासुदेव जंगली र चन्द्रबहादुर केसी छन्। कर्णाली प्रदेशबाट ललितजंग शाही, मिना रखाल र सुदूरपश्चिम प्रदेशबाट खम्मबहादुर खाती र लीला भण्डारी निर्वाचित भएका छन्।

सपथ समारोहमा ढिला आइपुगेकी एमालेकी रामकुमारी झाँक्रीले एक्लै सपथ लिनु परेको थियो। अरुको सपथ सकिएपछि समारोहमा आइपुगेकाले उनले एक्लै लिनु परेको हो।

प्रदेश र स्थानीय तहका जनप्रतिनिधि मतदाता हुने भएकाले राष्ट्रिय सभामा रास्वापाका सांसद छैनन्। ५९ सदस्यीय राष्ट्रिय सभामा एक तिहाइ सदस्यका लागि दुई–दुई वर्षमा निर्वाचन हुन्छ।

२० फागुनमा १९ जना सांसदको कार्यकाल सकिने भएपछि गत माघमा निर्वाचन भएको थियो । रिक्त एक सिट भने सरकारको सिफारिसमा राष्ट्रपतिले मनोनीत हुने प्रावधान छ।





