काठमाडौं। राजनीतिक अस्थिरताले तरंगित बनेको सेयर बजारका लगानीकर्तालाई प्रतिनिधि सभा सदस्य निर्वाचनको मत परिणामले सकारात्मक बनाएको छ।
निर्वाचनमा एउटै दलको बहुमत आएका कारण लगानीकर्ताहरु राजनीतिक स्थिरता हुने भन्दै सकारात्मक भएका हुन्। एउटै दलको बहुमत भएकाले सरकार फेरबदल नहुँदा नीतिगत स्थिरता हुने उनीहरुको बुझाइ छ।
अर्थतन्त्रका सूचक ठिकठाक हुँदा पनि राजनीतिक अनिश्चितताका कारण लगानीकर्ताले मनोबल गुमाउँदा सेयर बजार माथि जान सकिरहेको छैन।
नेपाल राष्ट्र बैंकको नीतिगत व्यवस्था, ब्याजदर न्यून र तरलता निकै सहज हुँदा पनि राजनीतिक अनिश्चयका कारण लगानीकर्कताले मनोबल गुमाउँदा सेयर बजार पछिल्लो एक वर्षदेखि एकै विन्दु वरिपरि छ।
तर प्रतिनिधि सभाको निर्वाचनपछि अब राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सरकार बन्ने पक्का भएकाले लगानीकर्ता स्थिरता हुने भन्दै सकारात्मक देखिएका छन्। रास्वपाले दुई तिहाई बहुमत ल्याउने देखिएको छ।
स्टक ब्रोकर्स एसोसियसन अफ नेपालका महासचिव नितेश कुमार अग्रवाल राजनीतिक अस्थिरता लामो समयदेखि कायम रहेको अवस्थामा अब एउटै दलको सरकार बन्ने भएकाले बजारमा सकारात्मक प्रभाव पर्ने बताउँछन्।
‘निकै लामो समयदेखि राजनीतिक अस्थिरता कायम रह्यो। यसअघि हाम्रो राजनीतिक माहोल हेर्दा कुनै पनि दलको एकल बहुमत आउने अवस्था नै थिएन,’ अग्रवालले भने, ‘अब राष्ट्रिय स्वतन्त्र पार्टी एक्लैले सरकार बनाउने भएको छ। एउटै दलको बहुमतले राजनीतिक स्थिरता कायम हुन्छ। त्यसले पक्कै पनि बजारमा सकारात्मक प्रभाव पर्छ।’
भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि सेयर बजार निरन्तर ओरालो लागेकामा निर्वाचनको सुनिश्चिततापछि केही बढ्न थालेको थियो।
नेप्से परिसूचक अहिले २७१२ विन्दुमा छ।
रास्वपाको बहुमत आएकाले यसअघिको अस्थिरताको निरन्तरता टुंगिएर ५ वर्ष एउटै दलको सरकार बन्दा बजारलाई सकारात्मक दिशामा लैजाने विश्लेषकहरु बताउँछन्।

‘बजारमा दुई वटा हिसाबले राम्रो हुन सक्छ। पहिलो, हामीले स्थिर सरकार पाउँछौं। अहिलेसम्म कुनै सरकारले ५ वर्ष काम गर्न पाएका छैनन्। अहिलेको परिणामले त्यसलाई सम्भव बनाएको छ। त्यसैले राजनीतिक स्थिरताका हिहाबले यो निकै सकारात्मक हो,’ स्टक ब्रोकर्स एसोसियसन अफ नेपालका पूर्वअध्यक्ष भरत रानाभाटले भने, ‘अर्को कुरा रास्वपाले घोषणामार्फत जे गर्छु भनेको छ, त्यसले समग्र देश र अर्थतन्त्र विकास हुन्छ। यसले बजारलाई नयाँ उचाइमा पुर्याउँछ।’
२०७८ भदौ २ गते ३२०० विन्दुमा पुगेको नेप्से त्यसपछि निरन्तर ओरालो लागेकामा २०८१ असारमा नेपाली कांग्रेस र एमालेले सत्ता साझेदारी गरेपछि पोहोर साउनमा ४ वर्षयताकै उच्च अंक ३००२ विन्दुमा पुगेको थियो।
गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि राजनीतिक अस्थिरता मात्र बढेन, निजी सम्पत्तिमा तोडफोड र आगजनीले लगानीकर्ताको मनोबल कमजोर बन्न पुग्यो।
राजनीतिक गतिविधिले बजारलाई मनोवैज्ञानिक रुपमा प्रभाव पार्ने गरेको छ। जसको असर यस पटक पनि बजारमा देखिने विश्लेषकहरु बताउँछन्।
यसअघिको चुनावपछि बजारमा सकारात्मक उत्साह देखाएको थियो। २०७९ मंसिर ४ को निर्वाचन अघि नेप्से परिसूचक १९३६ अंकमा रहेकामा त्यसपछिको एक महिनामा निरन्तर उकालो लागेर पुस २५ गते २२११ विन्दुमा पुगेको थियो।
त्यसअघि २०७४ को निर्वाचनपछि पनि बजार बढेको थियो। २०७४ मंसिर ५ गते प्रतिनिधि सभा निर्वाचन अघि १४७२ विन्दुमा रहेको सेयर बजार मंसिर २० गते १५३६ अंकमा पुगेको थियो।
रास्वपाको बहुमतको अलावा पनि लगानीकर्ताको मनोबल बढाउन अहिले सबै सूचक अनुकूल छन्। बैंकको ब्याजदर पछिल्लो ३ वर्षदेखि निरन्तर ओरालो लागिरहेको छ।
ऋणको माग नहुँदा बैंकिङ प्रणालीमै ठूलो रकम थुप्रिएको छ। बैंकहरुले ऋण लिने ग्राहक नपाएर कर्पोरेट क्लाइन्टलाई बोलाएरै दिइरहेका छन्। कोभिडपछि बाह्य क्षेत्रको स्थायित्वका लागि राष्ट्र बैंकले गरेको नीतिगत कडाइ सबै हटाइसकेको छ।