BIZMANDU
www.bizmandu.com

एप्पलको ध्यान किफायती मूल्यको ग्याजेट बजारमा, ल्यायो आइफोन-१७ई र म्याकबुक निओ

२०८२ फागुन २१

एप्पलको ध्यान किफायती मूल्यको ग्याजेट बजारमा, ल्यायो आइफोन-१७ई र म्याकबुक निओ
एप्पलको ध्यान किफायती मूल्यको ग्याजेट बजारमा, ल्यायो आइफोन-१७ई र म्याकबुक निओ

न्युयोर्क। एप्पलले ‘बिग वीक’ भन्दै नयाँ उत्पादनहरूको शृंखला सार्वजनिक गरेको छ। न्यूयोर्क, लन्डन र सांघाईमा बुधबार सञ्चारमाध्यमका लागि आयोजित कार्यक्रममा कम्पनीले बजेट प्रयोगकर्तालक्षित दुई प्रमुख डिभाइससहित नयाँ फोन, ल्यापटप, ट्याबलेट र मोनिटर सार्वजनिक गरेको हो।

Tata
GBIME
Nepal Life

कम्पनीका प्रमुख टिम कूकले यो हप्ता महत्त्वपूर्ण घोषणा हुने बताएका थिए। सो क्रममा किफायती मूल्यको नयाँ आईफोन संस्करण, इन्ट्री लेभलको म्याकबुक, अपडेटेड आइप्याड एयर, नयाँ चिपसेट र मोनिटरहरू सार्वजनिक गरिएका हुन्।

हालै कम्पनीले आइफोन-१७ मोडेलको राम्रो बिक्रीका कारण त्रैमासिक आम्दानीमा नयाँ रेकर्ड कायम गरेको थियो। तर कम्पनीले २०२४ मा घोषणा गरेको एआई क्षमतायुक्त ‘सिरि’ सहायकलाई अझै पूर्ण रूपमा सार्वजनिक गर्न सकेको छैन।

घोषित सबै उत्पादन बुधबारदेखि प्रि-अर्डरका लागि उपलब्ध हुने कम्पनीले जनाएको छ। एप्पलले किफायती मूल्यमा ग्याजेट खोज्ने ग्राहकलाई लक्ष्य गरेको हो।

आइफोन-१७ई

आइफोन-१७ई किफयाती मूल्यका ग्याजेट प्रयोगकर्तालाई लक्षित नयाँ स्मार्टफोन हो। यसमा आधारभूत आइफोन-१७ मा प्रयोग भएको ए१९ चिप समावेश गरिएको छ।

यसमा अघिल्लो आइफोन-१६ई को १२८ जीबी स्टोरेजभन्दा दोब्बर अर्थात् २५६ जीबी स्टोरेज उपलब्ध छ। क्यामरा ४८ मेगापिक्सेलमा सुधार गरिएको छ र ‘सी वान एक्स’ मोडेमका कारण मोबाइल डेटा गति पनि छिटो हुने बताइएको छ।

यसको स्क्रिन आधारभूत आईफोन १७ भन्दा केही सानो, रिफ्रेस रेट अलि कम र चमक केही कम भए पनि सुपर रेटिना डिस्प्ले प्रयोग गरिएको छ। साथै एप्पलको सेरामिक शिल्ड-टु सुरक्षासहित म्यागसेफ र क्युआइ टु वायरलेस चार्जिङ पनि समावेश छ।

यो फोनको प्रारम्भिक मूल्य ५९९ डलर राखिएको छ, जुन आधारभूत आईफोन १७ भन्दा २०० डलर सस्तो हो। फोन कालो, सेतो र हल्का गुलाबी रंगमा उपलब्ध हुनेछ।

आइप्याड एयर एम-४

आइप्याड एयरको नयाँ संस्करणमा एम-४ चिप प्रयोग गरिएको छ। जबकि उच्चस्तरको आइप्याड प्रोमा एम-५ चिप प्रयोग हुन्छ।

यो ट्याबलेट स्ट्रिमिङ, वेब ब्राउजिङ, इमेल र भिडियो सम्पादनजस्ता कामका लागि पर्याप्त शक्तिशाली मानिएको छ। कम्पनीले यसको र्‍याम ८ जीबीबाट बढाएर १२ जीबी बनाएको छ तर मूल्य भने बढाएको छैन।

११ इन्चको आइप्याड एयरको मूल्य ५९९ डलरबाट सुरु हुन्छ भने १३ इन्च संस्करण ७९९ डलरबाट सुरु हुन्छ। दुवैमा १२८ जीबी स्टोरेज उपलब्ध छ।

म्याकबुक र चिप अपडेट

म्याकबुक प्रोको उच्चस्तरीय मोडेलमा नयाँ एम-५ प्रो र एम-५ म्याक्स चिपसेट प्रयोग गरिएको छ, जसले उच्च कार्यक्षमता र राम्रो ब्याट्री दक्षता दिने बताइएको छ।

१४ इन्च म्याकबुक प्रो (एम-५ प्रो चिप) मा २४ जीबी र्‍याम र १ टीबी स्टोरेज छ र यसको मूल्य २,१९९ डलर राखिएको छ। १६ इन्च संस्करण २,६९९ डलरबाट सुरु हुन्छ। दुवै मोडेलमा वाइफाइ -७ र ब्लुटुथ-६ को सुविधा थपिएको छ।

यसैबीच कम्पनीले प्रवेशस्तरको नयाँ ल्यापटप म्याकबुक निओ पनि सार्वजनिक गरेको छ। १३ इन्चको यो ल्यापटपमा ए१८ प्रो चिप, २५६ जीबी स्टोरेज, दुईवटा यूएसबी-सी पोर्ट र ८ जीबी र्याम  छ।

यसको २५६ जीबी संस्करणको मूल्य ५९९ डलर र ५१२ जीबी संस्करणको मूल्य ६९९ डलर राखिएको छ। विद्यार्थी तथा शिक्षकहरूले १०० डलर छुटसहित प्रि-अर्डर गर्न सक्नेछन्।

साथै अद्यावधिक म्याकबुक एयर पनि सार्वजनिक गरिएको छ, जसमा आधारभूत एम-५ चिप, १६ जीबी र्‍याम र ५१२ जीबी छ। १३ इन्च संस्करणको मूल्य १,०९९ डलर र १५ इन्च संस्करण १,२९९ डलरबाट सुरु हुन्छ।

नयाँ मोनिटर

कम्पनीले दुई नयाँ ५के मोनिटर पनि सार्वजनिक गरेको छ, जुन हुन् स्टुडियो डिस्प्ले र स्टुडियो डिस्प्ले एक्सडीआर।

२७ इन्चका यी मोनिटरमा ५,१२० × २,८८० रेजोल्युसन, १२ एमपी सेन्टर स्टेज क्यामेरा, ६ स्पिकर अडियो सिस्टम, दुई थन्डरबोल्ट-५ पोर्ट र दुई यूएसबी-सी पोर्ट छन्।

एक्सडीआर संस्करणमा मिनी एलइडी ब्याकलाइट, राम्रो कन्ट्रास्ट र १२० हर्ज रिफ्रेस रेट उपलब्ध छ, जबकि सामान्य संस्करण ६० हर्जमा सीमित छ।

स्टुडियो डिस्प्लेको मूल्य १,५९९ डलर र एक्सडीआर संस्करणको मूल्य ३,२९९ डलर राखिएको छ।(एपी)