होली, लगत्तै चुनाव। यो साता लामो बिदा छ। सोमबार पहाडको होली, मंगलबार तराईको होली। बुधबारदेखि शुक्रबारसम्म संसदीय निर्वाचनका लागि सार्वजनिक बिदा। लामो बिदाले आउजाउका लागि ढुक्का भएका मतदाता घर गइरहेका छन्। मंगलबार बिहान पनि काठमाडौं छाड्नेको लर्को रह्यो।
प्रतिनिधि सभा निर्वाचनका लागि बिहीबार हुने मतदानमा यसपटक मतदाताको उल्लेख्य सहभागिताको संकेत छ। मतदाताहरु लामो बिदा सदुपयोग गर्दै आफ्नो निर्वाचन क्षेत्र पुगिरहेका छन्। मतदानका लागि उत्साहित हुने युवा पुस्ताको संख्या अधिक छ।
उपत्यकाबाट गाउँ जानेको लर्को मंगलबार पनि थामिएको छैन। गोंगबुको नयाँ बसपार्कमा बिहानैदेखि भीड रह्यो। लामो तथा छोटो दुरीका सवारीमा यात्रु खचाखच गन्तव्यतर्फ गएका छन्।

उपत्यका ट्राफिक ट्राफिक प्रहरी कार्यालयका अनुसार सोमबारसम्म एक सातामा काठमाडौं उपत्यकाबाट करिब साढे ३ लाख यात्रु बाहिरिएका छन्। सोमबार मात्रै ५८ हजार हाराहारीले काठमाडौं छाडेका छन्।














