काठमाडौं । फागुन २१ गतेको लागि तय प्रतिनिधिसभा निर्वाचन संघारमा पुगेको छ। सँगै आइपुगेको छ होली पर्व र खाडी संकट। यी तिनै विषय एकसाथ देखिँदा राजधानीका पेट्रोल पम्पहरुमा ग्राहकहरुको लाइन ठुलो संख्यामा देखिन थालेको छ।
आइतबार उपत्यकामा रहेका अधिकांश पेट्रोल पम्पहरुमा ग्राहकहरुको लस्कर नै लागेको छ।

चुनावका लागि उपत्यका बाहिर निस्किने मानिसको संख्या करिब ८ लाख भन्दा बढी हुने अपेक्षा छ। जसकारण उपत्यका बाहिर जाने यात्रुहरु इन्धन भर्न सवारीसाधन लिएर पेट्रोल पम्पमा लाइन लागेका हुन्।
त्यस्तै, सोमबारदेखि फागुन २४ गतेसम्म सार्वजनिक विदा भएकाले पनि इन्धन भर्नेको भिड बढेको हो। विदाका बेलामा कम संख्यामा मात्रै पेट्रोल पम्पहरु खुल्ने गर्छन्।

यी सँगै शनिबारबाट खाडी क्षेत्रमा देखिएको संकटका कारण पनि इन्धन फूल गर्ने यात्रुहरुको संख्या थपिएको हो। अमेरिका र इजरायलले इरानमाथि आक्रमण गरेपछि इरानले पनि जवाफी कारबाही गरेको छ। यसले कच्चा तेलको ठूलो निर्यातकर्ता खाडी क्षेत्रबाट तेलको आपूर्ति श्रृंखला बिग्रन सक्ने अनुमान छ।
विश्वभर तेलको भाउ बढ्ने अनुमान हुँदा त्यसको असर नेपालमा पनि पर्ने देखिन्छ। त्यसको असरका कारण पनि तेल भर्नेको भिड बढेको हो।

नेपाल आयल निगमले यो चुनावमा १० देखि १५ प्रतिशत पेट्रोलियम पदार्थको खपत बढ्ने प्रक्षेपण गरेको छ।






