काठमाडौं। सिटिजन्स बैंक इन्टरनेसनलले भारतस्थित मेदान्त द मेडिसिटि अस्पतालसँगको सम्झौता विस्तार गरेको छ। बैंकले थप ६ अस्पतालमा कार्डवाहक ग्राहकलाई १५ प्रतिशतसम्म छुट दिने समझदारी भएको जनाएको छ।
उक्त समझदारीपत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत गणेश राज पोखरेलले हस्ताक्षर गरेका छन्।
बैंकका अनुसार यसअघि केवल मेदान्ता, गुडगावँमा मात्र छुट सुविधा लागू हुँदै आएको थियो। नयाँ सम्झौतापछि उक्त छुट सुविधा मेदान्ताको थप ६ अस्पतालहरू मेदान्ता नोएडा, मेदान्ता सुपर स्पेशलिटी अस्पताल, लखनउ, जय प्रभा मेदान्ता सुपर स्पेशलिटी अस्पताल, पटना, मेदान्ता सुपर स्पेशलिटी अस्पताल, इन्दौर, मेदान्ता अब्दुर रज्जाक अन्सारी मेमोरियल वीभर्स अस्पताल, राँची र मेदान्ता अस्पताल, राँचीमा तथा ५ मेडिक्लिनिकमा समेत उपलब्ध हुने भएको हो।
‘हाल बैंकका ग्राहकले यस सहकार्यबाट भारतमा स्वास्थ्य उपचार गराउन जाने क्रममा सरल र सुलभ तरिकाले लाभ लिइसकेका छन् र आगामी दिनहरूमा पनि हाम्रा ग्राहकलाई थप लाभान्वित गर्न बैंकले सहकार्यलाई पुनः निरन्तरता दिन सफल भएको छ,’ बैंकको विक्षप्तिमा भनिएको छ।
यस सहकार्यको निरन्तरताले सिटिजन्स बैंक र मेदान्त द मेडिसिटि हस्पिटलबीचको सम्बन्ध अझ सशक्त भएको तथा भारतमा स्वास्थ्य उपचार गराउन जाने बैंकका ग्राहकलाई उपचारका क्रममा थप सहज सेवा प्राप्त हुने विश्वास बैंकले लिएको छ।