काठमाडौं । नेपालमा बिक्री हुने अधिकांश मोबाइल सेटको मूल्य एकाएक बढेको छ। विभिन्न मोबाइल कम्पनीका अधिकृत बिक्रेताले एउटै सेटमा १० हजारसम्म मूल्य बढाएका छन्।
अग्रेंजी नयाँ वर्ष सुरु भएपछि नेपालमा मोबाइल सेटको मूल्य बढ्न थालेको थियो। फेब्रुअरीमा यो ट्रेन्ड बढेको छ। अधिकृत बिक्रेताहरुले ब्राण्ड अनुसार १५ देखि २० प्रतिशत मूल्य बढाएका छन्।
अधिकृत बिक्रेताहरुका अनुसार मोबाइल फोन लगायत इलेक्ट्रोनिक सामाग्रीमा प्रयोग हुने चीपको मूल्य अन्तर्राष्ट्रियस्तरमै बढ्दा उत्पादक कम्पनीले नै भाउ बढाएर मोबाइल सेट पठाइरहेका छन्।
मोबाइल फोन इम्पोर्टर्स एशोसिएसनका पूर्व अध्यक्ष दीपक मल्होत्राले चीपको मूल्य बढ्दा उत्पादकलेनै मोबाइल सेटको मूल्य बढाएर पठाएको जानकारी दिए।
‘उत्पादकले बढाएर पठाएका कारण हामीले यहाँ मूल्य बढाउनुपर्ने बाध्यात्मक अवस्था आएको हो,’ उनले बिजमाण्डूसँग भने, ‘केही कम्पनीले अझ आफ्नो मुनाफा कम गरेर भएपनि मूल्य धेरै बढ्न दिएका छैनन्।’
उनका अनुसार सामसङले मोबाइल सेटहरुमा २५ प्रतिशतभन्दा बढी मूल्य बढाउनुपर्नेमा कम मात्रै समायोजन गरेको छ।
‘चीपका कारण सामसङको मोबाइल सेटको पनि मूल्य बढेको छ। तर, उत्पादक कम्पनीले कम मात्रै समायोजन गरेर पठाएको छ,’ सामसङ मोबाइलको आधिकारिक बिक्रेता आइएमएस ग्रुपका समेत अध्यक्ष रहेका मल्होत्राले भने, ‘त्यही अनुसार हामीले यहाँ मूल्य निर्धारण गरेका छौं।’
नयाँ मूल्य अनुसार २६६ जीबीको सामसङ ग्यालेक्सी ए१७ को मूल्य १० हजार रुपैयाँले बढेको छ। उक्त फोनको मूल्य ४४ हजार ९९९ रुपैयाँ पुगेको छ। त्यस्तै, २५६ जीबीको ग्यालेक्सी एम ३६ को मूल्य ३६ हजार ९९९ रुपैयाँबाट बढेर ४१ हजार ९९९ रुपैयाँ पुगेको छ। ७० हजार ९९९ रुपैयाँ पर्ने ग्यालेक्सी ए ५६ ५जीबी (१२+२५६) जीबीको मूल्य अब ७७ हजार ९९९ रुपैयाँ छ।
सामसङका अन्य मोडलको मूल्य पनि ४ हजार देखि ७ हजार रुपैयाँसम्म बढेको छ।
त्यस्तै, एप्प्लको आइफोनको मूल्यमा पनि बढोत्तरी भएको छ। ५१२ जीबीको आईफोन १७ को मूल्य २ हजार ९०० रुपैयाँले बढेर २ लाख ८९९ रुपैयाँ पुगेको छ। २५६ जीबीको आइफोन १७ बजार मूल्य ४ हजार ३०० रुपैयाँले बढेर १ लाख ६१ हजार ५९९ रुपैयाँ पुगेको छ। अन्य मोडलका आइफोनको मूल्य पनि बढेको छ।
साथै, रेडमी १५ सि १२८ जीबीको मूल्य २ हजार रुपैयाँले बढेको छ। उक्त फोनको बिक्री मूल्य १६ हजार ९९९ पुगेको छ। रेडमी १५ सि ८+२५६ जिबीको मूल्य ३ हजार रुपैयाँले बढेर २१ हजार ९९९ पुगेको छ।
त्यस्तै, इन्फिनिक्स, रियल्मी, मोटोरोलो, जेटिई, एआई प्लस जस्ता फोनहरुको मूल्य अधिकांश रुपमा बढेको छ।
मोबाइल फोनमात्रै होइन मेरोरी कार्ड लगायतका डिभाइसहरुको मूल्य पनि ह्वात्तै बढेको छ। यसअघि १० हजार रुपैयाँमा पाइने क्यामराको मेमोरी कार्डको मूल्य ब्रान्ड हरेर ७ देखि १० हजार रुपैयाँ सम्म बढेको छ।
अझै बढ्ला मूल्य ?
पछिल्लो समय विश्वभर चीपको माग बढ्दो छ। जसले विश्व बजारमा चीपको भाउ बढाएको हो। यसले मोबाइलसँगै चीप प्रयोग हुने इलेक्ट्रोनिक सामानहरुको मूल्य ह्वात्तै बढाएको छ।
स्मार्टफोनहरुमा विशेग गरेर एआई फिचरहरु बढिरहेका छन्। ठुलो कम्पनीहरु जसले एआईको प्रयोग धेरै गर्छन उनीहरुले धेरै मूल्यमा चीपहरु किनेकाले विश्व भर स्मार्ट फोनको मूल्य बढेको हो।
आजका नयाँ स्मार्टफोनहरुमा एआईसँगै तिब्र क्षमताको प्रोसेसर र उच्च गुणस्तरको क्यामेरा जस्ता महँगा पार्टहरू थपिएका छन्। यी कम्पोनेन्टहरुको उत्पादनमा बढी खर्च लाग्छ। यसले पनि फोनको मूल्य बढाउएको हो।
त्यससँगै प्रविधिको बढ्दो विकाससँगै डिस्प्ले प्यानल, ब्याट्री, प्रोसेसर जस्ता कच्चा मालका मूल्यहरु पनि बढेका छन्। सामसङले हालै सार्वजनिक गरेको आफ्नो फ्ल्यागसिप मोडल एस २६ मा ‘प्राइभेसी डिस्प्ले’ राखेको छ। यस्ता फिचरहरु थपिँदै जाँदा मूल्य पनि बढ्दै गएको हो।
एआईको बढ्दो प्रयोगसँगै अहिले धेरै मोबाइल कम्पनीहरु फ्ल्याग्सिप मोडलसँगै सस्ता फोनमा पनि एआई फिचर राख्ने होडबाजीमा छन्। जसकारण आउने दिनमा स्मार्टफोनको मूल्य अझै बढ्न सक्ने देखिन्छ।
विश्लेषकहरुका अनुसार सन् २०२९ सम्मको अवधिमा स्मार्टफोनको औसत बिक्री मूल्य थप बढ्ने सम्भावना छ। सन् २०२५ मा ३७० डलर रहेको स्मार्टफोनको औसत बिक्री मूल्य सन् २०२९ सम्ममा ४१२ डलर पुग्न सक्ने भनिएको छ। सन् २०२२ मा स्मार्टफोनको औसत बिक्री मूल्य ३४५ डलर थियो।
कुन ब्रान्डको व्यापार कस्तो होला ?
स्मार्टफोनको विश्व बजार आउने वर्षहरुमा थप विस्तार हुने पक्का छ। सन् २०२५ देखि २०२९ सम्म प्रमुख ब्रान्डहरुको बिक्रीमा क्रमिक वृद्धि हुने प्रक्षेपण एक अध्ययनले देखाएको थियो।
रिपोर्ट अनुसार सामसङले वार्षिक औसत ६ प्रतिशत (कम्पाउन्ड एन्युअल ग्रोथ रेट – सीएजीआर) वृद्धि दर हासिल गर्ने अनुमान छ। सायोमी र भिभोले ४ प्रतिशत वार्षिक वृद्धि गर्ने सम्भावना छ भने हुवावेको वृद्धि दर ३ प्रतिशत रहने आँकलन गरिएको छ।
त्यस्तै, एप्पल र भिभोले २ प्रतिशतको स्थिर वार्षिक वृद्धि कायम राख्ने प्रक्षेपण छ।
विश्लेषकहरुका अनुसार फाइभजी प्रविधि विस्तार, एआई र प्रिमियम स्मार्टफोनको बढ्दो मागले बजारलाई दोहोर्याउनेछ यद्यपि, विश्व अर्थतन्त्र, आपूर्ति श्रृंखला र प्रतिस्पर्धात्मक मूल्य नीतिले आगामी वर्षहरुमा स्मार्टफोन बजारलाई निर्देशित गर्नेछ।