नेकपा (एमाले) बाट झापा-२ मा प्रतिनिधि सभा सदस्य निर्वाचनको उम्मेदवार छन् पूर्व सभामुख देवराज घिमिरे। २०७९ को जितलाई निरन्तरता दिन घिमिरे घरदैलोमा छन्। घिमिरेकै क्षेत्रमा छिन् २०७९ मा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाबाट समानुपातिक सांसद निर्वाचित भई उपसभामुखको जिम्मेवारी सम्हालेकी इन्दिरा रानामगर। दुवै जना चुनावी घरदैलोमा व्यस्त छन्। घिमिरेले चुनावी जित निकाल्न विकास निर्माणका अधुरा काम पूरा गर्नेदेखि नीति निर्माणमा आफ्नो महत्वपूर्ण भूमिका रहने बताइरहेका छन्। घिमिरेले २०७९ को निर्वाचनमा झापा-२ बाटै २८ हजार ७१६ मत ल्याएर स्वतन्त्र उम्मेदवार स्वागत नेपाललाई झिनो मतान्तरले पराजित गरेका थिए। त्यतिबेला रास्वपाका रुद्रप्रसाद गिरीले ८ हजार ७८१ मत ल्याएर चौथो बनेका थिए। मतदाता रिझाउन चुनावी घरदैलोमा रहेका घिमिरेलाई बिजमाण्डूका प्रकाश भण्डारी र सबिन ढकालले सोधेः-
यसपटक झापाको चुनावी माहोल कस्तो छ?
निर्वाचनको माहोल निर्वाचनको माहोल अरु बेलाको जस्तो छैन। अहिले पनि मतदाताहरुमा उत्साह छैन। सबभन्दा मुख्य त त्यही हो, त्यो नै कमजोर छ।
एउटा कन्टेक्स्ट थियो त्योबाट ठ्याक्कै चुनावमा गयौं।
तपाईले सुरुमै भन्नुभयो मतदातामा खासै उत्साह छैन भनेर। किन उत्साह नभएको होला?
एउटा त पाँच वर्षको लागि हुने निर्वाचन तीन वर्षमै हुनुपर्दा खेरि यो नै अस्वभाविक भयो। राजनीतिक दलहरुले अब गर्छु भनेका कामहरु अथवा राजनीतिक दलहरुले दिने कुराहरु दिएनन् भन्नेमा अर्को रह्यो। अर्को कुरा भनेको जुन प्रक्रियाबाट चुनावमा जानु पर्यो यो प्रक्रिया सँगै जनताको ठुलो असन्तोष रह्यो। के कारणले यो घटनाहरु घट्न पुग्यो? अनि किन फेरी हामी चुनावमा जाने भन्ने बाट अन्योलता अलि बढी मात्रामा रह्यो।
कुशासनको विरुद्धमा विरोध भयो। परिणामस्वरुप सरकार र संसद भंग भयो। संसद भंग भो र त्यो परिवर्तनको लागि भन्ने आए पनि त्यो जनताले त्यस ढंगबाट बुझेको र स्वीकार गरेको स्थिति पनि छैन। अलफ सडन यो कुराहरु कल्ले गर्दा भो किन भो के गर्या हो भन्ने कुरा अन्योल छ।
अब परिवर्तनकामी शक्ति हो भन्नेहरुको पनि यहाँ के कारणबाट परिवर्तन हुन्छ कसले परिवर्तन गर्छ कुन बाटोबाट परिवर्तन हुन्छ भन्ने कुराका कुनै आधार पनि देखिदैन।

एमालेले प्रतिनिधि सभाको निर्वाचन भन्दा पुनस्थापनाको एजेन्डामा जोड दिन्छौ भनेको थियो तर अब निर्वाचन नै हुँदै छ केहि दिनमा। सभामुखबाट राजीनामा गरेर एकाएक उम्मेदवार बन्न सजिलो अप्ठेरो कतिको छ?
व्यक्तिगत रुपबाट खास अप्ठ्यारो छैन तथापि मानसिक रुपबाट म चाहिँ अब गएको माघ ५ गते रातिसम्म पनि सभामुखै हैसियतमा थिएँ।
अब मलाई व्यक्तिगत रुपबाट खासै फरक परेन। चुनाव लड्नु पर्ने पनि हुन सक्छ अन्तिम समय सम्ममा यदि पुनर्स्थापना भएन भने भन्ने थियो। तर अन्य परिस्थितिले त्यस्तो देखिएन।
पूर्व उपसभामुखसँग चुनाव लडनु पर्दा कतिको असहज भइरहेको छ? सँगसँगै काम गरिरहेको व्यक्तिसँग एकाएक प्रतिस्पर्धामा उत्रनुपर्दा अरुबेलाको भन्दा अलि फरक होला नि?
त्यस्तो मलाई कुनै खासै फरक परेको छैन। पहिलो कुरो त पहिलाको निर्वाचन उहाँसँग प्रतिस्पर्धामा आको होइन उहाँ यहाँ उम्मेद्वार हुनु हुन्नथ्यो। दोस्रो कुरा अब उहाँको उपसभामुखको हैसियतले सभामुखसँग यसकारणले मेरो विमति छ भन्ने गरि उहाँका पर्सनल अभिव्यक्ति र विरोध मसँग छैन। उहाँका एजेन्डाहरु मसँग सम्बन्धित छैनन्।

अब त्यस्तैगरी मेरो पनि के भने व्यक्तिगत ढंगको टिप्पणीको कुनै पनि विषय छैन। जहाँ सम्म राजनीतिक कुरा हो हिजो पनि उहाँहरुको दल पनि उठेकै थियो यो क्षेत्रमा। र अब दलिय हिसाबले जाँदाखेरि मेरो पनि नेकपा एमाले आफ्नो पार्टी हो। त्यो पार्टीको हिसाबले अगाडी सारेका नीति कार्यक्रमका आधारमा म जाने कुरामा अब एउटा परिस्थितिले पात्रहरु हामी दुई जना भयौ। तर अवस्थाको हिसाबले त आफ्ना आफ्ना दृष्टिकोण आफ्ना आफ्ना कार्यक्रम आफ्ना आफ्ना लक्ष्य राखेर जाँदाखेरि अप्ठ्यारो छैन।
अवरोधकाबीच पनि संसद चलाउनुपर्ने स्थिति बनेको थियो। त्यो हिसाबले कानुनहरु फटाफट बनेनन् अर्थात कानुन नबन्दा खेरि त्यसको असर सेवा प्रवाहसम्म पनि पर्यो भन्ने सुनियो। चुनाव जितेर जानुभयो भने के गर्नुहुन्छ कानुन निर्माणलाई तिव्रता दिन?
कानुनको अभावमा सरकारले काम नगरेको र कानुनको अभावमा सरकार फेल भएको अथवा राजनीतिक परिस्थिति कानुनको कारणबाट यो उत्पन्न भएको भन्ने डिबेटमा छैन। त्यो प्रमुख विषयको रुपबाट छैन। तथापि कानुन बनाउने महत्वपूर्ण कुराहरु हो। र कानुन बनाउने मात्र होइन संसद चाहिँ कानुन कार्यान्वयन गराउने पनि महत्वपूर्ण अंग हो। त्यस मानेमा संसद जति प्रभावकारी ढंगबाट लानुपर्थ्यो त्यो एउटा सभामुखको नाताले मैले त्यो ढंगको प्रयत्न गरेको छु भन्ने मेरो दाबी छ।
मेरो मात्रै प्रयत्नले काफी चाहिँ भएन। जसले गर्दा खेरि संसद जति प्रभावकारी हुनुपर्थ्यो त्यो भएन त्यसमा मध्ये एउटा प्रभावकारी फ्याक्टर त रास्वपा पनि हो। रास्वपा विधि मिलाएर बोल्नलाई तयारी नहुने अनि बोल्न दिएन भनेर बहिष्कार गर्ने र बाहिर गएर अब संसदको विरुद्ध तयारी गर्ने। तर हामी संसदवादी हौ भनेर भन्ने तर संसदका मूल्य मान्यतालाई पुरै सिध्याउने गरि उहाँहरु लाग्ने। त्यति मात्रै भएन २३ गतेको घटना पछाडी २४ गते उहाँहरुले मिडिया मार्फत संसदबाट सार्वजनिक राजीनामाको घोषणा गर्नुभयो। २५ गते त्यसका फेरी सांसदहरु जिम्मेदार नेताहरुले नै संसदीय व्यवस्था बचाउनको लागि संसद खारेज गर्न पाइँदैन भन्ने अभिव्यक्ति पनि लिएर आउनु भयो।
पछि मैले उहाँहरुलाई म सभामुख हुँदैखेरि अलि सिरियस्ली सोधे। त्यो सोध्दा खेरि यो आधिकारिक निर्णय होइन आदि इत्यादि भन्नुभयो। यसको बाबजुद पनि हामीले धेरै कामहरु गर्दै थियौ। त्यो २३ गते नै राष्ट्रिय सभाबाट धेरै महत्वपूर्ण कानुनहरु पारित हुँदै थिए जो जनताका दैनिक जीवनसँग सम्बन्धित थिए। जस्तो भूमि सम्बन्धी विधेयक पारित हुँदै थियो शिक्षा सम्बन्धी विधेयक पारित हुदै थियो।

तर यो सम्पन्न हुने अन्तिम बिन्दुमा पुगेर मात्र रोकिँदाखेरि यसले निकै असरहरू भयो। जति कानुनहरू पास भए सरकारको फेरबदल भइरहने। सरकारले कानुन समयमा लिएर नआउने ल्याएका कानुनहरु पारित गर्नलाई आवश्यक मेहेनत कम गर्ने वा नगर्ने अनि तिनीहरु फिर्ता लिने अध्यादेशबाट लिएर आउने यी खालका प्रक्रियाहरुलाई पनि मैले धेरै सामना गरे।
यो सामना गर्ने सन्दर्भमा दलहरुको बीचमा सहमति पनि जुट्यो जस्तो टिआरसी विधेयक भन्नुस्। त्यो निकै जटिल थियो र त्यसमा अलि मेहेनत गरेपछि अब त्यो समयमा पारित भयो। तर, कार्यान्वयनमा संसदलाई गम्भीर बनाउन सकिएन।
संसद भनेको दलीय आधारमा बन्छ। अब दलहरु गम्भीर नभइसकेपछि सभामुखको भूमिकाले मात्रै त्यो सम्भव हुँदैन किन संसद कस्तो हुन्छ भन्दा दलहरुका गतिविधि कस्ता हुन्छन् दृष्टिकोण कस्तो हुन्छ यसमाथि भर पर्छ भने सरकार र दल फेरी सम्बन्धित हुन्छन्। त्यसमानेमा कानुनको अभावमा आज देशमा चाहिँ यस्तो भैरहेको छ भन्ने होइन। २३ गतेको घटनालाई हेर्दा खेरि हामीले चैत्र १५ गते २०८१ साल चैत्र १५ गतेको घटनामा हेर्नुपर्छ। जो तीनकुनेमा प्रदर्शनको कार्यक्रम थियो। तर त्यहाँ सूचना हामीले के पायौ भने त्यो सोझै संसद भवन माथि हमला गर्न आइरहेको छ भन्ने। तर त्यतिबेलाको सरकारी सुरक्षा उसले चाहिँ त्यसलाई रोक्न सफल भयो।
जेनजी प्रदर्शन संसद वा संसदीय व्यवस्थासँग भन्ने गरि कुनै औपचारिक ढंगबाट केहि आएको चिजहरु थिएन। त्यो जनतहमा पनि थिएन। पार्टी तहमा पनि थिएन। अब त्यसकै निरन्तरता हो कि अर्कै कुराहरु। २३ गते पनि अब उनीहरुका सामान्य मागहरु त सरकार कार्यकारीसँग हुने हो। त्योसँग डाइलग हुन सक्थ्यो कि। त्योसँग कुरा मिल्ने नमिल्ने चरणबद्ध हुन्थ्यो।

२४ गते पनि पहिला संसद भवनलाई ध्वस्त गर्ने कामहरु गरियो। अनि बाँकी सबैतिर गर्दै जादा खेरि यो कानुनमा लक्षित भन्दा पनि व्यवस्था माथि लक्षित र व्यवस्था सिध्याएर अब यो राज्यको नेतृत्व कसैले लगेर चाहिँ यो राज्यलाई कसैको हितमा प्रयोग गर्न खोजेको छ। सभामुखको नाताले कानुन निर्माणमा भूमिका कमजोरी भो भन्ने भन्दा पनि संसदलाई प्रभावकारी बनाउनु पर्छ भन्ने प्रणाली अथवा संसद भनेकै दलीय आधारमा बन्ने हो हाम्रो दलीय आधारबाट बनेको संसद त्यो संसदलाई कसरी प्रभावकारी पार्नु भन्ने बारेमा जस्ता दलहरु चाहिँ संसदमा पुगे त्यसमा समस्याहरु रहेको हो।
मतदातालाई भेट्दा खेरि मतदाताको अपेक्षा के छ? तपाईले आफ्नो एजेन्डा के भनिराख्नु भएको छ?
मेरो मुख्य एजेन्डा त मैले पहिला निर्वाचनमा जित्ने बेलाका भौतिक संरचनाहरु सँग सम्बन्धित पूर्वाधारहरु जे हुन् ति पूर्वाधारहरु पुरा गर्न बाँकी छन्। तिनीहरुलाई पुरा गर्छु भन्ने हो। दोस्रो कुरो देशको समृद्धिको लागि सुशासन चाहिन्छ सुशासनका कदमहरु चालिरहेको थियो। प्रयत्नहरु भैरहेको थियो र त्यो सुशासन भित्र मुख्य गरी त अर्थतन्त्रलाई बलियो पार्ने भन्ने कुरा हो।
अर्थतन्त्रको अभावमा पनि हामीले धेरै कामहरु गर्न सकेनौ। दोस्रो कुरा यो हो। तेस्रो कुरा झापाको २ नम्बर निर्वाचन क्षेत्र निकै ठुलो छ। यो अव्यस्थित समस्या भएको ठाउँ हो। यसलाई हामी भूमि समस्या अथवा सुकुमबासी समस्या भन्छौ। यसको समाधान गर्नलाई कानुनको अभावमा धेरै प्रयत्नहरु गरियो लास्टमा गएर कानुनको अभावमा यो हुन सकेको थिएन। कानुन बन्ने बित्तिकै धेरै कामहरु हुन सक्थ्यो त्यसलाई पुरा गर्छु भन्ने हो।
उत्तरी भेगमा नदी कटानले गर्दा धेरै समस्याहरु उत्पन्न भएका छन्। त्यसको नियन्त्रणमा अर्को कार्यक्रम हो। यसको अतिरिक्त अब यसलाई व्यापारिक केन्द्रको रुपबाट विकास गर्न सकिने सम्भावना छ।
मतदाताहरुको चाहिँ आफ्नो अगाडिको तत्कालका समस्याहरुको बारेमा बढी आएको छ। हातीले यहाँ जनताहरुलाई त्रसित बनाउने समस्याहरु पनि छन्। तिनीहरुलाई मैले एड्रेस गर्छु भनेर गइरहेको छु।
यहाँको जुन चुनावको अंकगणित छ त्यसले तपाईंलाई चुनौती कति छ?
पार्टीगत राजनीतिबाट टाढा रहेर निष्पक्षताको भूमिकामा रहँदा पार्टीका गतिविधिसँग म संलग्न भइन। फेरि अहिले आएर पार्टीबाट टिकट लिएर लड्नु पर्दा खेरि कतिपय आन्तरिक अवस्था कतिपय इस्युहरु छ मेरो नमिल्ने कुराहरु अथवा यी कुराहरुमा परेका अलिकति असजिल्लो अप्ठ्याराहरु रहे।
अर्को कुरो अब चुनाव लड्नुपर्छ भनेर आफ्ना तयारीहरु नभैकन अघि पनि मैले भने तुरुन्त जानुपर्दा खेरि यी सबै मिलाउने कुराहरुको अभावमा पनि जानु पर्दा खेरि केहि कुराहरु नमिलेका छन्। तर यति नमिल्दा नमिल्दै पनि यो क्षेत्र एमाले पार्टीको प्रभाव भएको क्षेत्र हो। एक पल्ट बाहेक यो क्षेत्र सधै भरि एमालेले जितेको क्षेत्र हो। यी सबै हिसाबले हेर्दा खेरि अब मलाई जित्नलाई अप्ठेरो छैन।

एमालेले यसअघि नगरेको रिफर्म रातारात कसरी गर्ला त?
रातारात परिवर्तन भइहाल्छ भन्ने होइन। वस्तुगत परिस्थितिको आधारमा कसरी अगाडी जाने भन्ने कुरा हो। देशमा घटनाहरु घट्यो यसको पछाडी मुख्य कुराहरु के हो यो कुरालाई ठिक ढंगबाट बुझ्नु जरुरी छ। त्यो ठिक ढंगबाट बुझेर त्यस अनुसार त्यसलाई आत्मसाथ गरेर कार्यक्रमहरु अगाडी बढाउनु पर्छ। कार्यक्रम अगाडी बढाउने भनेको सरकार संसद यसप्रति जवाफदेही भएर अगाडी बढ्ने कुरामा परिणाममुमखी काम गर्ने गरि जानुपर्छ। त्यो जाने सम्भावना अब हुन्छ भन्नुपर्छ।
जेनजी आन्दोलनपछि अरु दलहरुको तुलनामा एमाले सच्चिन तयार भएन भन्ने ठुलो आरोप छ। आक्रोशका बीचमै निर्वाचन हुँदैछ, यसबाट एमालेलाई कतिको अप्ठेरो पर्छ?
जेनजी आन्दोलन भनेको के हो? यसैमा दृष्टिकोणहरु फरक छ। अब यसकारणले पनि अब यस्तो परिस्थिति के कारणले आएको छ यो कारणको वास्तविकता पत्ता लगाउने भन्दा पनि यसको गहिराइमा पुगेर त्यसलाई निराकरण गर्ने बाटोमा जानु पर्ने हुन्छ। मुख्य कुरा त्यो हो।