रेणु दाहाल भरतपुर महानगरको दुई कार्यकाल नेतृत्व गरेपछि चितवन क्षेत्र–३ बाट प्रतिनिधिसभा सदस्यका लागि चुनावी मैदानमा उत्रिएकी छन्। स्थानीय तहमा निरन्तर दुई कार्यकाल मेयरको जिम्मेवारी सम्हाल्दा उनले पूर्वाधार विकास, सडक विस्तार, खानेपानी, सरसफाइ, हरित क्षेत्र प्रवर्द्धन र डिजिटल सेवा विस्तारलाई प्राथमिकतामा राखिन्। महानगरको आन्तरिक राजस्व वृद्धिदेखि पारदर्शी बजेट कार्यान्वयनसम्मका सूचकमा सुधार ल्याएको दाबी गर्दै उनी सुशासन र सेवा प्रवाहमा सुधारको एजेन्डासहित राष्ट्रिय राजनीतिमा सक्रिय भएकी छन्।
२०६४ सालमा पहिलो संविधानसभामा समानुपातिक सभासद् बनेर संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनाको प्रक्रियामा सहभागी भएकी दाहाल २०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा काठमाडौं क्षेत्र नं. १ बाट उम्मेदवार बनेकी थिइन्। २०७४ र २०७९ मा लगातार भरतपुर महानगरको मेयर निर्वाचित भई उनले महिला नेतृत्वको प्रभावकारी उदाहरण प्रस्तुत गरिन्। विकास, सुशासन र संस्थागत सुधारलाई केन्द्रमा राख्दै अब चितवन–३ बाट संघीय संसदमा भूमिका खोजिरहेकी छन्।
कामबाट खारिएकी उनी बिहीबार चुनावी प्रचारकै क्रममा वडा २० स्थित बगैंचा चोकमा घरदैलोमा व्यस्त थिइन्। उनै उम्मेदवार रेणु दाहाललाई बिजमाण्डूकर्मी नेत्र तामाङले सोधे – चितवन-३ मा दुईवटा चिजको अन्तर्द्वन्द्व देखिन्छ। विकासको एउटा कुरा छ अर्को वेभको, यो अन्तरद्वन्द्वमा फसेको क्षेत्रमा तपाईंको पोजिसन के छ?
यहाँ मेरो पोजिसन एकदम राम्रो छ। किनभने आम मतदाताले रेणु दाहाललाई मेयरका रुपमा यो क्षेत्रमा दुई कार्यकाल गरेको कामप्रतिको सम्मान र गुण तिर्नुपर्छ भन्ने आम बुझाइ छ। माहोल राम्रो छ। मतदाता उत्साही छन्।
दुई कार्यकाल भरतपुर महानगर हाँक्नुभयो, महानगरलाई चाहिने आधारभूत पूर्वाधार तयार भएजस्तो देखिन्छ, तैपनि तपाईंमाथि त प्रश्न उठि नै रहेको रहेछ नि? कतै मिसिङ भएजस्तो लाग्दैन?
मलाई त त्यस्तो लाग्दैन। प्रश्न त नियोजित आउँछन्। जनताको स्वतस्फुर्त प्रश्न छैन। मेयरका रुपमा काम गर्दा कार्यसम्पादनको कुरामा, सुशासनको पक्षमा, भरतपुरको विकास र समृद्धिमा, जनताको सेवा प्रवाहमा रेणु दाहालप्रति कही गुनासो छैन। अब प्रतिस्पर्धीले आरोपका लागि आरोप, तथ्यहीन प्रश्न आउँछन्।
जनताबाट असन्तुष्टिको सामना गर्नुपरेको छैन। देशभरमा यस्ता उम्मेदवार अरु पनि होलान्। त्यसमध्येमा एकजना म पनि हुँ।
मैले धेरै काम गरेको थिएँ। तर कसैको उत्तराधिकारी भयो भन्दैमा ममाथि प्रश्न गरिररहेका छन् भन्ने लाग्दैन?

कस्तो हो उत्तराधिकारी भन्नाले?
पार्टीको सुप्रिमोकै छोरी हुनुहुन्छ तपाई?
उत्तराधिकारी त नभनौ। प्रचण्डकी छोरीको हिसाबले अलि आरोप आउँछ। बाउ माथि थिए र बजेट खन्याइदिए, विकास गरे भन्ने खालको टिकाटिप्पणी म खारेज गर्छु।
डाडुपन्यू भएकाले के गर्नुभयो त चितवनमै पनि हुनुहुन्थ्यो माथि पुगेका। प्रतिनिधिसभामा म नयाँ हुँ।
विकासको कुरा गर्दा पुँजीगत खर्च गर्दा स्थानीय अवरोधजस्ता विषयलाई पार गरेर आउनुभयो। संसदमा कतिको काम लाग्छ यहाँको अनुभव?
यहाँ काम गर्दा प्राविधिक, नीतिगत, कानुनी अड्चनहरु राम्रोसँग बुझेको छु। निकुञ्ज ऐन, वन ऐन, सार्वजनिक खरिद ऐन पुराना छन्। अहिलेको परिस्थिति एउटा छ, आवश्यकता एउटा। कानुन नियमहरु पुराना छन्। जसले गर्दा फास्ट ट्र्याकबाट काम गर्न जटिलता छ। यी चिजलाई सूक्ष्म रुपमा अध्ययन गरेको छु, बुझेको छु, महसुस गरेको छु।

जनताको पक्षमा कहाँनेर काम गर्नुपर्नेछ। बाधाअड्काउ कहाँ फुकाउ गर्नुपर्नेछ। संघीय संसदमा गएर त्यसलाई संशोधन गर्नुपर्ने विषयमा म महत्त्वपूर्ण भूमिका निभाउन सक्छु।
शिक्षा ऐनका कुरा, निकुञ्ज ऐनका कुरा, कर्मचारी प्रशासनसम्बन्धी ऐन, शिक्षासम्बन्धी ऐनका कुरा, विकास निर्माणसम्बन्धी कुरा, सार्वजनिक खरिद ऐनका कुराहरु, भूमि ऐनका कुराहरु यी धेरै चीजको समस्या मैले भोगेको छु। समयसुहाउँदो कहाँनेर संशोधन गर्नुपर्छ भनेर बुझेको छु।
भोगेको कारण पनि कसरी गर्नुपर्छ जनताको पक्षमा नीतिनिर्माणको तहमा र विकास निर्माणको प्यारालल्ली अगाडि-अगाडि बढाएर लैजाने रेणु दाहाल सशक्त र सक्षम संसदका रुपमा उभिन सक्ने दाबी मेरो छ।
हावाको झोक्काले राम्रो नराम्रो भन्दैन। यो झोक्कामा आफूलाई अड्याइराख्ने शक्ति कसरी तयार पार्नुभएको छ?
रेणु दाहाल चुनाव हार्नुपर्ने कुनै कारण छैन। जनताको पक्षमा काम गरेको छु। विकास निर्माणमा मोडल दिएको छु। कार्यसम्पादनदेखि वित्तीय आयोगको मूल्यांकनले पनि हामी उत्कृष्ट छ। आत्मविश्वास छ। आगोको लप्काले हावाको झोक्काले दायाँबायाँ हल्लायो भने ठिकै छ। जनताले काम खोजेको हैन रहेछ गफ चुट्ने मान्छेको खाँचो रहेछ भन्ने बुझ्छु।

किनभने रेणु दाहाललाई यहाँका सबैले चिनेका छन्। १०० प्रतिशत काम गरेको छु। अब पनि हार्छु भने जनतालाई काम हैन कुरामात्र चाहिने रहेछ भनेर चित्त बुझाउँला।
सोसल मिडियामा तपाईंले आफूलाई ब्रान्डिङ गर्न सकिनँजस्तो लाग्दैन?
हामी हल्लाको पछि लाग्दैनौ। कामबाट तस्बिर देखिरहेको छ। सबै प्रमाण यही हो जस्तो लाग्छ। अलिकति प्रचार चाहिन्छ भन्ने कुरामा म विश्वास गर्छु। यसमा म अलि पछाडि नै छु। कामलाई रङरोगन गरेर प्रस्तुत गरी सस्तो लोकप्रियतामा मैले महत्त्व दिएको छैन।
तपाईंको खास प्रतिस्पर्धी को हो?
पुरानादेखि नयाँ सबै जना, जो उम्मेदवार बन्नुभएको छ। अनुभवी उम्मेदवारदेखि नयाँ चुनावी मैदानमा हुनुहुन्छ।
२०६४ मा देशैभर प्रत्यक्षमै १२० सिट आउँछ भनेर अनुमान गरेको थिइनँ। परिणाम देखियो। २०७० मा चुनावी प्रचार अत्यधिक थियो। तर ठिक विपरीत प्रत्यक्षमा २६ सिटमात्र भयो। सोचेरमात्र शक्ति प्रदर्शन र भिडले मात्र पनि हुँदो रहेनछ।
सबै जना प्रतिस्पर्धी हुनुहुन्छ।

महानगरमा आफ्नो कौशलता प्रदर्शन गर्नुभएको तपाईं केन्द्रीय नेतृत्वमा पुग्ने देखेर पार्टीभित्रैबाट आन्तरिक टार्गेटमा पनि पर्नुभएको छ, प्रतिस्पर्धी दलबाट पनि उत्तिकै टार्गेटमा पर्नुभएको भन्ने छ नि। यो घेराबन्दी कसरी तोड्नुहुन्छ?
चितवनमा कुनै पनि घेराबन्दी छैन। एकताबद्ध भएर लागेका छौँ। केन्द्रीय स्तरमा मप्रति प्रहार गरिहाल्नुपर्ने अवस्था छैन। म यो पोजिसनमा जान्छु भनेर महात्त्वाकांक्षी भएर हिँडेको पनि छैन। म काममा विश्वास गर्छु। काम गर्दै जाँदा कुन भूमिकामा आउने भन्ने होला। तर म ठेलमठेल गरेर जाने पात्र पनि हैन।