BIZMANDU
www.bizmandu.com

हामीले चाहेर चुनाव हुन लागेको होइन, परिस्थितिको सामना गर्छौं: सुनिल शर्मा

२०८२ फागुन १०

हामीले चाहेर चुनाव हुन लागेको होइन, परिस्थितिको सामना गर्छौं: सुनिल शर्मा
हामीले चाहेर चुनाव हुन लागेको होइन, परिस्थितिको सामना गर्छौं: सुनिल शर्मा

मोरङ-३ का उम्मेदवार सुनिल शर्मा जनजीविकाका सवालमा खरो रूपमा प्रस्तुत हुने नेता मध्येमा पर्छन्। चुनाव प्रचारका क्रममा पनि उनले विकास निर्माणको फेहरिस्त सुनाइरहेका छन्। मेडिकल व्यवसायी समेत रहेका शर्मा बेला बखत विवादमा समेत परिरहन्छन्। कांग्रेसभित्रको आन्तरिक समीकरणमा समेत आफ्नो कित्ता फेरबदल गरिरहने शर्मा आफूले यस पटक सहज जित निकाल्ने दाबी गरिरहेका छन्। स्वास्थ्य समस्याको समाधानका लागि आफू नीतिगत पहल गर्ने वाचा गरिरहेका शर्मालाई चुनाव प्रचारमा हिँडिरहेका बेला हामीले अन्तर्वार्ता गरेका छौं।

Tata
GBIME
Nepal Life

तेस्रो पटक प्रतिस्पर्धामा हुनुहुन्छ के छन् एजेन्डा?

जनताका जनजीविकाका सवालहरू जो कमन नै छन्। रोजगारीको कुरा भयो, शिक्षाको कुरा भयो, स्वास्थ्यको कुरा भयो, विकास निर्माणका कुराहरू भए, तटबन्धका कुराहरू भए। यसैलाई नै हो हामीले मूलतः एड्रेस गर्ने।

यहाँ धेरैतिर जग्गाको दोहोरो स्वामित्व छ। नम्बरी जग्गामा चाहिँ सुकुम्वासी बसेका/बसाइएकालाई व्यवस्थापन गर्ने समस्या रहेछ। कसरी हुन्छ व्यवस्थापन? चुनावको बेलामा वचन दिने तपाईँहरूको समस्या समाधान गर्छु भन्ने फेरि समस्या उस्तै भइरहेको छ नि।

यसलाई सुल्टोबाट बुझ्नुपर्‍यो। भूमि आयोग गठन सँग-सँगै यो क्षेत्रको सबै सुकुम्वासीको नापी सकेर निस्सा प्रदान गर्ने कार्यक्रम सकिएको छ। अब यो क्षेत्रमा नापी र निस्साको कार्यक्रम बाँकी छैन। केही धनीपूर्जा वितरण भएका छन् केही बाँकी छन्। पुर्जा वितरण गर्ने क्रम अहिले जेन्जी सरकार आएपछि रोकिएको छ। हामी गएपछि पुनः एक्टिभेट हुन्छ।

विशेष महाधिवेशनमा तपाईँ एकाएक पुग्नुभयो। तपाईँ शेखर कोइरालासँग हुनुहुन्थ्यो हैन। फेरि त्यहाँबाट किन हराउनुभयो?

हामी सुरुदेखि नै विशेष महाधिवेशनको पक्षधर हौं। अन्तिम सम्म पनि हो। जसरी बाहिर कुरा आए ती असत्य हुन्। त्यो कार्यक्रममा गएर स्टेजमा बोल्ने मान्छे पनि मै हुँ। सभापति चयन भएको दिन बिहान प्रेस मिटमा बस्ने मान्छे पनि मै नै हुँ। सुरुदेखि अन्तिमसम्म विशेष महाधिवेशन पक्षधर हुँ।

विशेष महाधिवेशन सन्देश भनेको परिवर्तन हो। हैन? हिजोको ट्रेडिसनल हिसाबले चाहिँ न पार्टी चल्छ, न मुलुक चल्छ, न केही चल्ने वाला छ। अब हामीले नेतृत्वलाई परिवर्तन गरेका छौं। अब नयाँ भिजन, नयाँ मिसनसहित अब मुलुक लानुपर्छ। कांग्रेस जिम्मेवार पार्टी हो। अब सिंहदरबार जल्ने, सर्वोच्च जल्ने, हत्या-हिंसा हुने, विध्वंस हुने कार्य बन्द हुनुपर्छ।

देश शान्तिपूर्ण तवरले अगाडि जानुपर्छ र म्याक्सिमम मान्छेहरूलाई रोजगारी दिएर देशभित्र स्थिर बनाउन पर्छ। बेसिक रूपमा जनताका आधारभूत समस्यालाई हल गर्न सक्नुपर्छ भन्ने नै हो।

बितेको तीन वर्षमा संसदमा यहाँले लोकल र नेशनल एजेन्डा पनि निकै उठाउनु भयो। विषय उठाउनु भए अनुसार कति समाधान भयो? कति भएन?

जनताको स्वास्थ्य बिमा सवालमा हामीले उठाएको सार्वजनिक महत्वको प्रस्ताव पास भएर बसेको छ।

अब नयाँ संसद् आएपछि त्यसलाई हामी फेरि कानुन लाने कुरामा ट्राई गर्छौं। अरू विषय त हामीले आवाज उठाउने हो। त्यसलाई बिस्तारै कार्यान्वयन वातावरण बनाउने हो। ३० महिनामा एउटा मान्छेले के गर्न सक्छ? हामीले जति सक्यौं त्यति गर्‍यौँ।

तपाईंका विपक्षीले आरोप लगाउँछन् कि तपाईँ यहाँका जनताको ट्रिटमेन्ट चाहिँ भरपुर गर्दिनुहुन्छ। त्यसपछि अरू कुनै समस्या समाधानमा ध्यान दिनुहुन्न।

यो उभिएको छ नि यो पिच हो हैन? विकास हो कि होइन? तपाईँ आउनुभयो नि हाइवेमा, हाइवेका मुखका बाटा सबै पिच देख्नुभयो होइन? सबै पुग्यो तपाईँ पथरीबाट डाइनिया जानुहुन्छ नि हैन ४० वर्षदेखि नबनेको बाटो अहिले बन्दैछ। त्यो विकास हो कि होइन? तपाईंको हरेक खोलामा हेर्न जानुस्। अहिले बहुवर्षीय आयोजना अन्तर्गत त्यहाँ तटबन्धन भइरहेको छ। यी विकास हुन् कि होइनन्? त्यहाँ झोलुङ्गो पुल बनिरहेको छ त्यो विकास हो कि होइन? पछि तिन वटा वार्डमा तिन वटा पुल बनिरहेका छन् त्यो विकास हो कि होइन?

२५ वर्षदेखि रोकिएको मेडिकल कलेज यहाँ आयो। त्यो विकास हो कि होइन? यस्ता काम यहाँ अनगिन्ती गरेका छौं।

निर्वाचन क्षेत्र जोड्ने पुल चाहिँ अझै बनेको छैन नि।

३० महिना ३२ महिना भनेको कति नै टाइम हुन्छ। पाँच वटा खानेपानीको प्रोजेक्ट डीपीआर भइरहेका छन्। किसानहरूको निम्ति ठाउँ-ठाउँमा हामीले बोरिङ गरिदिएका छौँ।

चुनावमा मतदाताको मनोभाव कस्तो पाउनुभएको छ?

नेपाली जनता सबै असल हुनुहुन्छ। उदार दिलको हुनुहुन्छ। अब परिस्थितिलाई सामना गर्ने कुरा हो। अब यो हामीले चाहेर भएको होइन। हामीले नचाहेर भएको विषय हो र उत्पीडनको पराकाष्ठा सडकमा पोखिएको पनि हो। एउटा मान्छेलाई ६/६ पल्ट प्रधानमन्त्री चाहिने। हामीले नै कांग्रेसभित्र विद्रोह गर्‍यौं। माघ १ गते नयाँ कांग्रेस बनाएर आएको होइन।