काठमाडौं । नेपालगंज भन्सार कार्यालयले चालु आर्थिक वर्षको ७ महिनामा लक्ष्यको ४५ प्रतिशत राजस्व संकलन गरेको छ।
चालु आर्थिक वर्ष २०८२/८३ का लागि वार्षिक लक्ष्य २४ अर्ब ५४ करोड ५७ लाख ८२ हजार निर्धारण भएकामा माघ मसान्तसम्ममा मात्र ११ अर्ब ४ करोड ६५ लाख ८५ हजार रुपैयाँ अर्थात् लक्ष्यको ४५.०१ प्रतिशत असुली भएको भन्सार कार्यालयका प्रमुख जनार्दन पौडेलले बताए। उनका अनुसार लक्ष्य पूरा गर्न बाँकी रहेका ५ महिनामा ५५ प्रतिशत राजस्व संकलन गर्नुपर्ने चुनौती छ।
भन्सार कार्यालयको मासिक लक्ष्यअुनसार हालसम्म कुनै पनि महिनामा राजस्व संकलन हुनसकेको छैन। चालु आर्थिक वर्षको साउन, भदौ, असोज, कात्तिक, मंसिर, पुस र माघमा क्रमशः लक्ष्यको ७४, ६९, ८७, ७२, ८३, ८३ र ८८ प्रतिशतमात्र राजस्व असुली भएको छ।
आर्थिक वर्ष २०८१/८२ मा नेपालगंज भन्सारले लक्ष्यको ७४.६४ प्रतिशत राजस्व संकलन गरेको थियो भने आर्थिक वर्ष २०८०/८१ मा ६३.३५ प्रतिशत राजस्व संकलन गरेको थियो।
नेपाल–भारत सीमाको जमुनाहनाकामा एकीकृत जाँचचौकी संचालनमा आएपछि आयात–निर्यात वृद्धि भई भन्सार राजस्व वृद्धि हुने अपेक्षा गरिए पनि केही वर्षयता लक्ष्य पूरा हुन नसकेको भन्सार प्रमुख पौडेको भनाइ छ। उनले चालु आर्थिक वर्षको ७ महिनामा गत आर्थिक वर्षको ७ महिनाको तुलनामा ९ करोड २४ लाख रुपैयाँभन्दा बढी राजस्व संकलन भएको उल्लेख गर्दै लक्ष्य पूरा हुन नसके पनि राजस्व संकलन वृद्धि हुने क्रममा रहेको बताए। गत आर्थिक वर्षको ७ महिनामा नेपालगंज नाकाबाट १० अर्ब ९५ करोड ४१ लाख ८४ हजार रुपैयाँ राजस्व संकलन भएको थियो ।
नेपालगंज भन्सारमा चालु आर्थिक वर्षको साउनमा एक अर्ब ८६ करोड ६५ लाख ४६ हजार लक्ष्य रहेकामा ७४.१४ प्रतिशत अर्थात एक अर्ब ३८ करोड ३७ लाख ८४ हजार, भदौमा एक अर्ब ९३ लाख ६४ हजार ५४ लक्ष्य रहेकामा ६९.७७ प्रतिशत अर्थात एक अर्ब ३५ करोड १० लाख ९ हजार रुपैयाँ राजस्व संकलन भएको छ।
त्यसैगरी, असोजमा एक अर्ब ९८ करोड ३१ लाख ३० लक्ष्य रहेकामा एक अर्ब ७४ करोड १६ लाख पाँच हजार, कात्तिकमा दुई अर्ब १२ करोड ६१ लाख ३० हजार लक्ष्य रहेकामा एक अर्ब ५३ करोड ७० लाख ८२ हजार, मंसिरमा एक अर्ब ९६ करोड ३६ लाख १४ हजार लक्ष्य रहेकामा एक अर्ब ६३ करोड ८५ लाख १० हजार, पुसमा दुई अर्ब तीन करोड ४५ लाख २१ हजार लक्ष्य रहेकामा एक अर्ब ६९ करोड ४४ लाख १३ हजार र माघमा एक अर्ब करोड ६९ लाख ४० हजार लक्ष्य रहेकामा एक अर्ब ७० करोड एक लाख ८२ हजार रुपैयाँ राजस्व संकलन भएको छ।
नेपालगंज भन्सार कार्यालयको तथ्यांकअनुसार अघिल्लो आर्थिक वर्ष २०८१/८२ को साउनमा लक्ष्यको ७३.६७ प्रतिशत, भदौमा लक्ष्यको ६६.६२ प्रतिशत, असोजमा ६६.९१ प्रतिशत, कात्तिकमा ७६.४४ प्रतिशत, मङ्सिरमा ७६.२७, पुसमा ७१.१५ प्रतिशत र माघमा ७५.१३ प्रतिशत राजस्व संकलन भएको थियो। रासस