BIZMANDU
www.bizmandu.com

माघमा चाँदी आयात ५८ प्रतिशतले बढ्यो, फागुन लागेपछि बजारमा घट्यो किनबेच

२०८२ फागुन ९

माघमा चाँदी आयात ५८ प्रतिशतले बढ्यो, फागुन लागेपछि बजारमा घट्यो किनबेच
माघमा चाँदी आयात ५८ प्रतिशतले बढ्यो, फागुन लागेपछि बजारमा घट्यो किनबेच

काठमाडौं। गत महिना बजारमा चाँदीको माग उच्च भयो। अन्तर्राष्ट्रिय बजारमा भाउ महँगो भएपछि सुरक्षित सम्पत्तिको रुपमा लगानी गर्ने क्रम बढ्दा माग उच्च हुन पुग्यो।

Tata
GBIME
Nepal Life

सुनको मूल्य तोलाकै ३ लाख ३९ हजार पुगेपछि लगानीकर्ता चाँदीतिर आकर्षित भए। चाँदी बिक्री गर्ने कम्पनीमा ग्राहकको लामो लाइन नै लाग्यो। लाइन लाग्दा पनि कतिपय ग्राहकले माग अनुसार चाँदी खरिद गर्न पाएनन्।

लगानी गर्नेहरु बढेपछि व्यवसायीले चाँदीको आयात बढाए। एक महिनामै चाँदीको आयात ५८ प्रतिशतले बढेको छ।

सामान्य समयमा बजारमा दैनिक ४ सय केजीसम्म चाँदी खपत हुने गरेकामा दुई महिनायता १२ सयदेखि १५ सय केजीसम्म बिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

महासंघका उपाध्यक्ष धर्मसुन्दर बज्राचार्यले चाँदीको भाउ अझै बढ्ने अनुमान गरेर व्यवसायीले आयात बढाएको हुन सक्ने बताए।

‘अंग्रेजी नयाँ वर्षका बेला चाँदीको माग बढेपछि अन्तर्राष्ट्रिय बजारमै अभाव भएको थियो। जसले गर्दा भाउ अझै बढ्ने बुझाइमा लगानीकर्ता चाँदी किन्न झुम्मिए। व्यवसायीले पनि आयात बढाए,’ उनले भने, ‘एक महिनामा ३ अर्बभन्दा बढीको चाँदी आयात हुनु भनेको बजारको मागभन्दा धेरै हो।’

तर दुई सातायता बजारमा चाँदीको माग घटेको छ। त्यही कारण व्यवसायीले आयात गरेको चाँदी स्टक बसेको छ।

‘अहिले अन्तर्राष्टिय बजारमा नै भाउ बढेको छैन। जसले गर्दा लगानी होल्ड हुन्छ भनेर बजारमा ग्राहक निकै कम छन्। व्यवसायीले आयात गरेको चाँदी पनि बिक्री नभएर स्टक बसेको छ,’ उपाध्यक्ष बज्राचार्यले भने, ‘ग्राहकहरु पर्ख र हेरको अवस्थामा छन्।’

फागुन सुरु भएपछि बजारमा सुनचाँदीको माग कम छ।

एक सुनचाँदी व्यवसायीका अनुसार भाउ तोलाको १० हजार पुग्ने अनुमानसहित व्यवसायीले चाँदी आयात गरेका थिए। तर चाँदीको भाउ साढे सात हजारबाट माथि जान सकेन। अहिले साढे ५ हजारभन्दा तल छ। ‘हौसिएर आयात गरेकाहरु स्टक बसेकाले तनावमा छन्। फागुनमा आयात घट्छ,’ ती व्यवसायीले भने।

चालु आर्थिक वर्ष पुसको तुलनामा माघमा चाँदीको आयात ५८.८१ र सुनको आयात १२.५६ प्रतिशतले बढेको छ।

भन्सार विभागका अनुसार यो वर्ष ७ महिनामा ८ अर्ब ४६ करोड ३९ लाख रुपैयाँको ३१ हजार ६३६ केजी चाँदी आयात भएको छ। यस्तै २१ अर्ब २० करोड रुपैयाँको एक हजार १ सय ५४ केजी सुन आयात भएको छ।

गत पुससम्म ५ अर्ब ३२ करोड ९४ लाख रुपैयाँको २३ हजार ४५१ केजी चाँदी र १८ अर्ब ८३ करोड ३६ लाख रुपैयाँको एक हजार ५३ केजी सुन आयात भएको थियो।

गत वर्ष ७ महिनामा १० अर्ब ४५ करोड रुपैयाँको ८८७ केजी सुन र २ अर्ब ७५ करोड ३५ लाख रुपैयाँको २० हजार ४८ केजी चाँदी आयात भएको थियो।